विप्लव समूहका चार नेता पक्राउ

 चैत ६, २०७५ बुधबार ११:३२:४४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – प्रहरीले नेकपा माओवादी विप्लव समूहको अपराधिक क्रियाकलापमा संलग्न चारजनालाई पक्राउ गरेको छ । 

काभ्रे जिल्लाको साविक शिखरआम्बोटे गाविस ८ हालको रोशी गाउँपालिका २ काफलेडाँडाबाट मंगलबार साँझ विप्लव समूहका झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा अपराध अनुसन्धान महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । 

महाभारत लेकमा पर्ने काफलेडाँडा दूर्गममा पर्छ । खानिखोलाको डाँडागाउँ, बेथान्चोकको भुग्देउ महांकाल, रोशीको शिखरआम्बोटे र महाभारतको महादेवटार  गरी चारवटा गाउँपालिकाको संगम रहेको त्यस क्षेत्रमा मोबाइल लोकेसनका आधारमा अपराध अनुसन्धान महाशाखाको टोली पुगेको थियो । 

जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्कालाईसमेत जानकारी नदिई महाशाखाको टोली विप्लव समूहलाई पक्राउ गर्न पुगेको थियो । महाशाखाको टोली राति ११ बजे फर्किएको थियो । महाशाखाका अनुसार विप्लव समूहको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डीएसपी रुगम कुँवर नेतृत्वको टोली काभ्रे पुगेको थियो । 

देशमा हिंसात्मक गतिविधि बढाएको भन्दै गएको फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । निर्णयको पालना गर्दै प्रहरी त्यस ठाउँमा पुगेको प्रहरी स्रोतको भनाई छ । जिल्लामा घटना पछि सुरक्षा निकाय उच्च सतर्कता अपनाईएको सुरक्षा निकायले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले घटनाबारे जिल्लामा केही थाहा नभएको जानकारी दिनुभयो । घटनाबारे जानकारी नभए पनि जिल्लामा सुरक्षा योजना बनाएर अगाडि जाने उहाँले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत ३, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया