खुम्बु क्षेत्र सडक सञ्जालले जोडिँदै, लुक्लाभन्दा माथि सडक नलैजान सुझाव

 चैत ७, २०७५ बिहिबार १०:३५:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – चालु आर्थिक वर्षभित्र सोलुखुम्बुको खुम्बु क्षेत्रमा सडक पुग्ने भएको छ । माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा माप्यदुधकोशी गाउँपालिका २ अधेरीदेखि सुरु भएको सडक ट्रयाक ओपनको कार्य यस वर्ष भित्रै खुम्बुपासाङल्हामु गाउँपालिका पुग्ने भएको हो ।

खुम्बुमा सडक पुगेसँगै जिल्लाको सबै स्थानिय तह सडक सञ्जालमा जोडिने भएको छ । सडक सञ्जाल भन्दा बाहिर रहेका सोलुखुम्बुको एक मात्र स्थानिय तह खुम्बुपासाङल्हामु गाउँपालिकामा चालु आर्थिक वर्ष भित्र सडक पुग्ने भएपछि जिल्लाको सबै स्थानिय तह सडकमा जोडिने भएको हो । गाउँपालिकाको वडा नम्बर १ बुक्सासम्म सडक पुर्या‍उन काम भैरहेको गाउँपालिकाले जनाएको छ ।

अबको केही दिनमै खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले माप्यदुधकोशी गाउँपालिका १ जुभिङको बुम्बुरीसम्म सडक पुगीसकेको छ भने खरिखोला पुग्न करिब ४ किलोमिटर बाँकी छ

माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्रायाक खोल्ने काम भैरहेको छ । ट्रयाक खोल्नका लागि दुई गाउँपालिकाले ३९/३९ लाख लगानी गर्ने सहमतिपत्र नै तयार गरेर काम अघि बढाइएको छ । तर रकम अपुग भए पुनः खर्च विवरण अनुसार दुवै गाउँपालिकाले बाराबारी लगानी गर्ने सहमति रहेको माप्यदुधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले बताउनुभयो । विकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडि बढ्ने सहमति भएको उहाँको भनाई छ ।

सरदमुकाम सल्लेरीदेखि ३० किलोमिटरमा रहेको माप्यदुधकोशीको वडा नम्बर २ अँधेरीसम्म यसअघि नै सडक पुगिसेको थियो भने वडा नम्बर १ हुँदै खुम्बुपासाङल्हामुको वडा नम्बर १ को बुक्सासम्म ४० किलोमिटर सडक यो वर्ष निर्माण गरिने छ । लुक्ला सम्मको बाँकी करिब ३० किलोमिटर सडक आगामी आर्थिक वर्षमा निर्माण गरिने गाउँपालिका प्रवक्ता लाक्पाछिरीङ शेर्पाले जानकारी दिनुभयो । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा खुम्बुपासाङल्हामु गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुमा यस अघि नै सडक पुगिसेको छ ।

लुक्लाभन्दा माथि सडक नलैजान सुझाव

पर्यटकीय हिसाबले देशमै चर्चित एभरेष्ट रिजनमा घुम्ने पर्यटकलाई थप आकर्षित गर्नको लागि खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्रसहित लुक्ला भन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन् । सडक मार्गलाई लुक्लाभन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाई स्प्रीट ट्रेक्स एण्ड एक्सपिडिसन नेपाल प्रा.लिका सञ्चालक शिवबहादुर बस्नेतले बताउनुभयो ।

हावाहापानी, वातावरण, भ्यूप्वाइन्टलाई मध्यनजर राख्दा लुक्लाबाट पैदल यात्रा नै उपयुक्त हुने व्यवसायीको भनाई छ । सगरमाथा क्षेत्रको साख जोगाउनका लागि राज्यले ध्यान दिनुपर्ने पदप्रदर्शक किताबसिं तामाङले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया