लमजुङका किसानलाई चैते धान रोप्ने चटारो (फोटो फिचर)

 चैत ७, २०७५ बिहिबार १३:५७:२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार–६, ऐंसेलुचौरका धनबहादुर विकले गँगटे फाँटमा चैते धान रोपिसक्नुभएको छ । अँधियामा चार रोपनी जग्गामा उहाँले चैते धान रोप्नुभएको हो ।    

‘बीउ रोप्नका लागि तयार भयो । अनि खेतमा पानी पनि भयो । त्यसैले चार रोपनी खेतमा चैते धान रोपिसकेँ,’ उहाँले भन्नुभयो । खेती गर्दा तुलनात्मक रुपमा फाईदा नभए पनि उत्पादनले दुःख पर्दा गर्जो टार्न सहन हुने उहाँ बताउनुहुन्छ ।  

उहाँजस्तै सिंचाइ सुविधा भएका लमजुङका केही ठाउँका किसानले अहिले चैते धान रोपिसकेका छन् । कतिपय किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ छ ।

सुन्दरबजार नगरपालिका–६, फेदीकुनामा बस्दै आउनुभएकी सन्तुमाया तामाङलाई पनि अहिले चैत धान रोप्ने हतारो छ । मूले खेतमा अहिले उहाँ चैते धान रोप्न व्यस्त हुनुहुन्छ । पछिल्लो समय खेतीपाती गर्दा खेताला पाउनै मुश्किल पर्ने गरेको उहाँ बताउनुहुन्छ । 

खेतला पाउनै गाह्रो, खर्च महँगो    

‘बलपाखुरा भा’का सबै विदेश भासिए । काम गर्ने मान्छे पाउनै गाह्रो । पाइएका खेतालाको ज्याला खर्च पनि महँगो । खेती लाउनै गाह्रो,’ मूले खेतमा कान्ला ताछ्दै उहाँले तीतो यथार्थ पोख्नुभयो ।      

उहाँले बर्सेनि चैते धान लगाउँदै आउनुभएको छ । उहाँका अनुसार गोरुहलीले दिनकै दुई हजार रुपैयाँ ज्याला लिन्छन् । रोपाहारले एकदिनकै ६ सय रुपैयाँ र बाउसेले एक हजार रुपैयाँ ज्याला लिन्छन् ।      

खेती लगाउने समयमा विशेषगरी पहाडी जिल्लामा हल गोरु भएका, हातमा सीप भएका, मनमा जोस जाँगर भएका किसानलाई काम गर्न भ्याइनभ्याइ हुन्छ ।

उनीहरुको व्यस्तासँगै आम्दानी पनि लोभलाग्दो छ ।

‘हलगोरु पालेको छु । जोत्न गइयो भने एकदिनमै दुई हजार कमाइ हुन्छ । कामका लागि भ्याइनभ्याइ छ,’ सन्तुमायाको रोपाइँमा हलगोरु लिएर आउनुभएका खुशीराम परियारले पसिना पुछ्दै खुशीसाथ भन्नुभयो, ‘मैले यसै कमाइबाट परिवार पालेको छु । छोराछोरी पढाएको छु ।’         

गर्नसके कृषि कर्मबाटै राम्रो कमाउन सकिने मेले खेतमा धान रोप्दै गर्नुभएकी सरस्वती परियारले बताउनुभयो । ‘भएका खेतबारी बाँझो राख्नुहुँदैन । सकेको खेती गर्नुपर्छ । मैले पनि खेती गर्दैे आएको छु,’ उहाँले भन्नुभयो ।

अहिले राेपेको धान असारमा पाक्छ । पाकेको खेती थन्क्याएपछि यहाँका किसानहरु फेरी असारे धान रोप्न जुट्छन् ।          

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया