मेरी माया : मलाई छोडी गयौ कहाँ !

 चैत ९, २०७५ शनिबार १५:३८:५४ | श्यामशितल परियार
unn.prixa.net

सलल बगेको छ, नदी । आडैमा मन्दिर । परेवी जोडी आफ्नै सुरमा चारो टिप्दै छन्, मन्दिर आँगनीमा । मन्दिरको दायाँपट्टी छ, एउटा लाकुरीको बोट । मन्दिर र लाकुरी बीचको दूरी खासै दूर छैन । 

लाकुरीको फेँदमा बस्न मिल्ने गरी सर्लक्क बिच्छ्याइएको छ, ढुंगा । हिउँदको समय छ । तर आज खासै मौसम खुलेको छैन । रमेको छैन । जसरी उसको मन खुलेको छैन । रमाएको छैन । 

मध्यान्ह समय । लाकुरीको फेँदमा बिच्छ्याईएको छेउको ढुंगा फूफू ...गरेर टुसुक्क बस्छ उ । 

गोलो अनुहारको उ खासै गोरो पनि छैन । खासै कालो पनि होईन । गहुगोरो वर्णको छ । ठीक्कको कद । झट्ट हेर्दा ‘खाउँखाउँ लाउँलाउँ’ भन्ने उमेरको देखिन्छ उ । 
उ अर्थात् रोज । लाकुरी फेँदमा बस्न नपाउँदै लामो सुस्केरा हाल्न थाल्छ रोज । 

मौसम खुलेको छैन । तर शिरशिर बतास भने चलिहरेको छ, एकतमासले । जसरी रोजको मनमा उसकोप्रियसीको यादको हुरी चलेको छ । 

रोजको नजर भने कैले लाकुरी फेदबाटै तल आफ्नै सुरमा बगेको नदीतर्फ छ त कैले मन्दिरतिर । 

* * * * *

कलकल बगेको यो नदी । यो मन्दिर । आफू बसिरहेको यो लाकुरीको चौतारीसँग उसको निकट सम्बन्ध छ । उसका लागि यी चिजहरु निकै निकै प्यारा छन्, भावनात्मक रुपमा । 

यी ची भन्दा कयौँ गुना प्यारी छिन् । निकट छिन् उनी । उनी अर्थात् रोजी ।

मनले चाहेको, मनैले माया गरेको प्रिय मान्छेलाई मुटुभित्र लुकाउँछन् । सजाउँछन् ।

उसैगरी रोजले पनि निकै जतन गरी सजाएको थियो रोजीलाई, दिलको कुनामा ।

अझै पनि रोजको दिलको सिंहासनमा विराजमान भई बसेकी छे रोजी । 

* * * * *

त्यसो त उसले रोजीलाई नदेखेको, उसँग नभटेको, नबोलेको पनि वर्षाैँ बितिसक्यो । वर्षौदेखि रोजी रोजदेखि निकै टाढा छे ।

तर अझै रोजको मुटुको सबैभन्दा नजिक रोजी नै रोजी भेटिन्छे । अझै उसको दिलमा रोजी नै धड्कन्छे ।

बाध्यताले आफूबाट आफूलाई असाध्यै माया गर्ने रोजी पराइ भएको पनि उसलाई राम्रोसँग थाहा छ । र त रोज आज पनि रोजीलाई उही र उस्तै चोखो, मिठो माया गरिरहन्छ । हिजो रोजीसँग बिताएका पल, उसँग गरेका प्रितका बात उसलाई जाती लाग्छ । मिठो लाग्छ । निको लाग्छ । 

उसैगरी यो नदी, मन्दिर अनि चौतारी । किनकि उसको चोखो मनको प्रितका साक्षी हुन्, यो चौतारी, यो मन्दिर अनि यो नदी । 

* * * * *

मलिन चेहेरामा सोचमग्न भएर बसेको रोज । दाहिने हात आफ्नो पाइन्टको पछाडिपट्टिको खल्तीमा लैजान्छ । कालो रंगको पर्स निकाल्छ । पर्सको भित्री कोठामा रहेको एउटा सानो साइजको फोटो निकाल्छ । 

पिपलपाते ओठ । ओठमाथि लाली । लाली ओठमाथि एउटा सानो कालो कोठी । काला ठूला आँखा । गाजलले सजिएका लामा काला परेला । लरक्क परेका कालै केश । अनि गिज्जै देखिनेगरी मुस्कुराएको सुन्दर उही रोजीको फोटो । एकोहोरिएर हेरिरहन्छ उ । 

फोटो हेर्दै गर्दा, हात समाउँदै, किनारा लाग्दै बगेका चिसो पानीमा पाउ चोपल्दै खुशीले रमाएकी । लजाउँदै, मुस्कुराउँदै आफूतिर हेर्दै गरेकी रोजीलाई खुबै ‘मिस’ गर्छ, रोज यसपल । हुन त रोजले रोजीलाई नसम्झेको पल नै कहाँ छ र !  

त्यसैपल रोज विगतमा फर्कन्छ ।

बगेको खोली देखाउँदै मायालु पारामा रोजी भन्छे, ‘हामी पनि सँगसँगै खोलाको पानीझैँ सलल बग्न पाए । उ हेर न । उ त्यो आकाशमा उडेको जोडी पंक्षीझैँ भुरुरु उड्न पाए । कति रमाइलो हुन्थ्यो होला है !’ 

‘उम्...,’ रोज भन्छ । 

लगत्तै, हात समाउँदै मन्दिरमा आई दुई हात जोड्दै, आँखा चिम्लदैँ भगवानसँग एक–अर्कालाई माग्छन् । एकले अर्कोलाई कैल्यै नछोड्ने वाचा गर्छन् । अनि एकैछिनमा उनीहरु लाकुरी चौतारीमा आउँछन् । 

प्यारप्यार बोलिरहने रोजी यसपल केही बोलेकी छैन । आफूले साइडमा भिरेको खैरो रंगको ब्यागभित्रबाट एउटा रातो रुमाल निकाल्छे । 

‘रोज, अब एउटा गेम खेलुम है ?’ उ आग्रह गर्छे ।

केही बोल्दैन रोज ।

रोज बोल्नमा हैन रोजीलाई एकोहोरो हेर्नमै व्यस्त छ । 

आफ्नो आग्रहको बेवास्ता गरेझैँ ‘फिल’ गर्छे रोजी ।

अनि अलि कड्केर भन्छे, ‘ए रोज के हेरेको यसरी ! कैले’नि नदेखेको जसरी । एउटा गेम खेलुम् न है प्लिज, प्लिज, प्लिज ।’

‘ओके हुन्छ !’, रोजीको जिद्धीपनलाई मिठो मान्दै मुस्कुराउँदै रोजीको आग्रह स्वीकार्छ रोज ।

‘मलाई हेरेर पुग्यो ल अब उता फर्क त !,’ माया मिसाउँदै रोजी भन्छे ।

मायालु भावमा थोरै शंकाको रंग घोल्दै रोज भन्न पुग्छ, ‘ल किन, मलाई उता फर्कन लगाएर, यताबाट भाग्ने विचार छ कि क्या हो !’

‘ह्या... तिमी नि, केके सोच्न, भन्न सक्छ के यो मान्छे पनि ! ल उता फर्क त,’ नाक खुम्च्याउँदै रोजी रिस पोख्छे । 

‘ओके बाबा म फर्केँ ल । अब त खुश् !,’रोज रोजीको अनुरोध मान्छ । अघि ब्यागबाट निकालेको रुमाल रोजको आँखा छोपिने गरी बाँध्दै खेल्न लागेको खेलबारे बताउँछे रोजी ।

‘ल रोज मैले तिम्रो आँखा छोपिदिएँ । अब म लुक्छु । तिमीले बन्द आँखाले मलाई पहिल्याउनु पर्छ है !’ ‘म आँखा खोल्दा होस् या बन्द गर्दा तिमीलाई देख्न सक्छु । यो मन, मुटु, मस्तिष्कमा छ्यौ तिमी । मेरा अंग–अंगमा सजिएकी छ्यौ । नशा–नशामा बगेकी छ्यौ,’ प्रितको भावको पोको फुकाल्छ रोज ।

अनि केही निराशा भावमा रोज थप्छ, ‘साँच्चै, एकैपल तिमीलाई आँखा अगाडि देख्न नपाउँदा छटपटी हुन्छ । नरमाइलो लाग्छ । यदि केही कुनै कारणले जीवनमा एक–अर्काबाट अलग हुनुपर्यो । छुट्टिनुपर्यो भने ! म तिमीबिनाको जीवन कल्पना गर्न सक्दिनँ ।

तिमीबिना जसोतसो बाँच्न त सकुँला । तर खुशीसाथ जिउन पक्कै सक्दिनँ रोजी । कैल्यै तिमी यो दिल, यो नजर अनि यो जीवनबाट कैल्यै टाढा नभइदेउ है !’

केही माया । केही निराशा भाव पोख्दै रोजको मुखबाट यी कुरा सुन्दै गर्दा पत्तै नपाई रोजलाई अँगाल्न पुग्छे रोजी । आफूभन्दा विपरीत दिशातर्फ फर्किएको रोजलाई आफूतर्फ तान्दै, रोजको छातीमा टाउको बिसाउँदै अँगाल्छे रोजलाई । केही बोल्दिन । 

यतिबेला उसँग बोल्नका लागि कुनै शब्द नै हुँदैन । 

छातीमा टाँसिएकी रोजीलाई अँगाल्दै रोज भन्छ, ‘साँच्चै तिम्रो औधी माया लाग्छ । तिमीलाई साथमा पाउँदा, यसरी नै तिम्रो मायामा हराउन पाउँदा सारै खुशी मिल्छ । रमाइलो लाग्छ । आफूले बाँचेको जीवन मिठोमिठो, प्यारोप्यारो लाग्छ । त्यसैले कैलै टाढा भई नजानु है ?’

अघि थप्छ रोज, ‘रोजी चोखो मनले माया लगाएका छौँ । मायाको खेलमा एउटाले जित्ने, एउटाले हार्ने, एउटा रुने, अर्को हाँस्ने दिन कैले नआओस् । हार्दा संगै हारुँला । जित्दा संगै जितुला । दुःख–सुख आपसमा बाँड्दै हाँसीखुशी जीवन जिउँला ।’

रोजीले रोजको आँखामा बाँधिएको रुमाल फुकालिदिन्छे । ‘मुटुबिना अलग्गिएर कोही बाँच्न सक्छ र रोज ! तिमीबाट छुट्टिएर बाँच्न, हाँस्न सक्ने छैन म,’ बस् यत्ति भन्छे रोजी । 

उसको कुराले आफ्नो प्रेममा ऊर्जा थपिएको महसुस गर्छ, रोज । अघिको रुमाल रोजको हातमा थमाउँदै रोजी चञ्चले पारामा भन्छे, ‘यो तिम्रो लागि । सानोसानो कुरामा नि मन दुखाउँछौँ । सानोसानो कुरामा नि रुन्छौ रुन्चे । आँशु झार्दा आँशु पुछ्न काम लाग्छ यो रुमाल तिम्लाई, म नहुँदाको बेला ।’

रोजीको कुरा सुनेर मुसुक्क मुस्कुराउँछ रोज । हाँसोमा हाँसो मिलाउँछे रोजी पनि । ‘अब घर फर्कुम् होला । ढिला भइसक्यो,’ दाहिने हातमा बाँधिएको गुलावी रंगको घडी हेर्दै रोजी भन्छे ।

सँगसँगै हाँस्दै, जिस्कँदै उनीहरु माथि डाँडासम्म आइपुग्छन् । फेरि भेटिने वाचा गर्दै उनीहरु छुटिट्न्छन् । यसरी बेलाबखतको भेटघाट । कुराकानी गर्दै उनीहरुको प्रेम अघि बढिरहन्छ । 

तर केही महिनामै आफ्नो प्रिय मान्छे रोजी पराइको सिन्दुर पहिरेर आफूबाट टाढा भएको रोजले थाहा पाउँछ । रोजीले त यसबारे उसलाई बताइन । तर साथीहरुबाट रोजी सदाका लागि आफूबाट टाढा भएको खबर उसले पाउँछ । 

माया गर्नेे मनले आफ्नो मान्छेको बैगुन पनि गुन सम्झँदो रैछ । त्यसैले, ‘बाध्यताले टाढा हुनु पर्यो होला बरा !’ भनेर चित्त बुझाउँछ रोज ।

* * * * *

रोजीको यो पुरानो फोटो हेर्दाहेर्दै, विगत सम्झदासम्झदैँ आफ्नै आँखाको आँशुले आँखाको डिल भासिएको पत्तै पाउँदैन रोज । रोजीसँग भेटेको, बालेको, संगै जिउने, मर्ने कसम खाएको, मनमुटु साँटेको आज अतित भइसक्यो । र पनि उसलाई ती याद अझै ताजा लाग्छ । प्यारो लाग्छ । उसैगरी अझै चोखो मनले माया गरिरहन्छ, रोजीलाई बिना कुनै श्वार्थ । 

रोजले ‘दिलको घाउ’ सुम्सुम्याउँदै–सुम्सुम्याउँदै बाँचेको पनि वर्षौं भइसक्यो । रोजीलाई नदेखेको, नभेटेको, उसँग नबोलेको नि वर्षौं भइसक्यो । तर मायामा एकरति पनि कमी छैन । पहिले जत्ति माया गर्दथ्यो, त्यो भन्दा कयौँ गुना धेरै माया गर्छ आज पनि रोजीलाई रोज । 

भित्रभित्रै जल्यो । दुख्यो । रोयो । तर कैल्यै गुनासो गरेन । दुःखेसो गरेन । कहिल्यै आँशु देखाएन कोही सामु रोजले । बस् ! चोखो मनले टाढैबाट माया गरिह्यो । सुखखुशी चिताइरह्यो रोजीको । 

‘पाउनु, गुमाउनु अलग कुरा, मनैदेखि नभल्नु पो त ठूलो कुरा !’ भन्दै आज पनि रोजीलाई सम्झदैँ, माया गर्दै जिउँदै छ रोज । संसारमा हरेक कुरा बदलिन्छन् । बदलिए । तर रोजीलाई माया गर्ने रोजको मन कैल्यै बदलिएन । सदा उही र उस्तै चोखो माया गरिरह्यो । न कुनै देख्ने, भेट्ने आशा । न पाउने कुनै चाह नै । 

छोडी जानेको यादमा बाँच्न पक्कै गाह्रो छ । हुन्छ । जिउनलाई कुनै न कुनै सहारा चाहिने रहेछ । उसको बाँच्ने सहारा भनेकै रोजीका यादहरु हुन् । यस मन्दिर, नदी र चौतारीमा आउँदा पराइ भई गएकी रोजीलाई पाउँछ, रोज । 

त्यसैले रोज प्राय : हर समय यो मन्दिर, यो चौतारी अनि यो नदी छेउ आउँछ । सुस्ताउँछ । 

आँखा रसिलो पार्दै, चौतारीमा सुस्केरा हाल्दै बसेको रोजको मनले आज किनकिन पराई बनी गएकी रोजीलाई सम्झँदै गुनासो गरिरहेको छ, ‘मेरी माया, मलाई छोडी गयौ कहाँ !’

अन्तिम अपडेट: चैत २७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया