भारत–चीन जोड्ने मोटरेबल पुल : डिजाइन फेल हुँदा झण्डै आठ वर्ष अलपत्र

 चैत ११, २०७५ सोमबार १०:४९:२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – कालिगण्डकी नदीका २ मोटरेबल पुल डिजाइन फेल हुँदा अलपत्र परेका छन् । तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेर काम थालिएका पुल झण्डै आठ वर्षसम्म पनि अलपत्र परेका हुन् । 

स्याङजाको चापाकोट नगरपालिका—८ र पाल्पाको रामपुरनगरपालिका—६ जोड्ने दामाचौर पुल तथा चापाकोट ९ र रामपुर ६ जोड्ने निर्दिमघाट पुल अझै बन्न सकेका छैनन् ।

सडक विभागको पुल महाशाखाले तयार पारेको डिजाइन फेल हुँदा निर्माण प्रक्रिया अलपत्र परेको हो । सडक विभागको पुल महाशाखाले दुवै पुलको स्वाइल टेस्ट (माटो परीक्षण) र डिजाइन गर्ने जिम्मा बीडीए नेपाल प्रालिलाई दिएको थियो । 

२०६८ को असार २६ गते एम.एस.इलाइट एस.बीए. जेबी कपन काठमाण्डौले दामाचौर पुल र निर्दिमघाट पुल कन्काई/मिलिनियम/नेपाल प्रगति जेभीले ३ वर्षमा काम सक्ने गरी सम्झौता गरेको थियो ।

वेल फाउण्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएका दुवै पुलको निर्माण कम्पनीले पहिलो चरणमा दुई छेउका पिलर बनाएपछि नदीको मध्य भागमा पिलर बनाउने क्रममा डिजाइन अनुसार निर्माणको काम अगाडि नबढेपछि पुल बन्ने प्रक्रिया नै अन्योलमा परेको हो । 
दामाचौर पुलको छेउ छेउका दुई पिल्लर बनेको छ भने निर्दिमघाट पुलका छेउका २ र नदीको बीचको एक पिल्लर बनेको छ । 

डिजाइन अनुसार पिल्लर १५/१५ मिटर जमिनमुनी दब्नुपर्नेमा ५ मिटर भन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिनापछि काम गर्ने प्रक्रिया रोकिएको दामाचौर पुल निर्माण कम्पनी एम.एस.इलाइटका श्याम केसीले बताउनु भयो । पहिलो चरणमा काम गरेर १० प्रतिशत काम सकेको बताउँदै केसीले नदीको बीचको जमिनमा चट्टान भेटिएपछि काम अगाडि बढाउन नसकेको बताउनुभयो ।

यसअघि नै सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा काम नसकिँदा आफू चिन्तित भएको बताउँदै केसीले पुल निर्माण भन्दा पनि उम्किएर जान पाए राम्रो हुने सुनाउनुभयो । रड, सिमेन्ट, गिटी, बालुवा जस्ता धेरै सामाग्री बिग्रेर गएको बताउँदै केसीले पुल निर्माणपछि केही मुनाफा गर्ने सोचको अन्त्य भएको पनि बताउनुभयो । 

दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैयाँमा निर्माण सक्ने गरी इलाईटले जिम्मालिएको हो । इलाईटले ६०/६० मिटरका तिन स्पाममा १ सय ८१ दशमलब ६९ मिटर लम्बाई रहेको पुलमा ४ पिल्लर राख्ने गरि एकै पटक काम थालेको थियो । 

यस्तै १ सय ५० मिटर लामो, तीन स्पाममा ४ पिलरको डिजाइन भएको निर्दिमघाट पुल १२ करोड ४८ लाख रुपैयाँमा पाल्पा सडकसँग कन्काई/मिलिनियम/नेपाल प्रगति जेभीले सम्झौता गरेर कामलाई अगाडि बढाएको थियो । दुई छेउका पिलर र बीचको एक पिलर निर्माणपछि रोकिएको निर्दिमघाटको समस्या पनि दामाचौरको जस्तै हालतमा छ । 

चौथो पिलर बनाउने क्रममा चट्टान भेटिएपछि निर्माण थालेको एक वर्षपछि काम गर्न नसकेको निर्माण कम्पनीका यामबहादुर श्रेष्ठले बताउनुभयो । निर्माणको जिम्मा पाएपछि सबै सामग्री जुटाएर काम थालेको बताउँदै श्रेष्ठले पुल निर्माणका लागि ल्याएका रड, सिमेन्ट लगायतका सामग्री बिग्रेको बताउनुभयो ।

निर्माणका लागि ल्याएका सामग्री बिग्रँदा लाखौ क्षति भएको उहाँको गुनासो छ । माटो परीक्षणको जिम्मा पाएको कन्सल्टेन्सी र इञ्जिनियरले राम्रोसँग काम नगर्दा आफूहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको पनि उहाँले बताउनुभयो । सडकले चाँडै नयाँ डिजाइन उपलब्ध गराएमा पुल एक वर्षमा निर्माण गरेर सरकारलाई बुझाउन सकिने श्रेष्ठले दावी गर्नुभयो । 

पुलको डिजाइनका क्रममा समस्या हुँदा साढे ७ वर्ष ढिलाई भएको बताउँदै सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले पुलको पाइल फाउण्डेसनमा नयाँ डिजाइन तयार भएको जानकारी दिनुभयो । नयाँ डिजाइनमा काम गर्न १५ देखि २० प्रतिशत रकम थप्नुपर्ने बताउँदै नेपालले विभागले थप गर्ने रकमको टुङगो नलगाएसम्म पुल निर्माणको थालनी नहुने बताउनुभयो ।

कालिगण्डकीका दुवै पुल भारतको सिमाना नवलपरासी सुस्ता र चीन जोड्ने सबैभन्दा छोटो दुरीको हुनेछ । पुल बनेपछि भारततर्फ स्याङ्जाको चापाकोट हुँदै पाल्पाको रामपुर, मित्तेल, झिरुवास, नयाँ बेलनी हँुदै नवलपुरको अरुणखोला, सुस्ता जोडिनेछ  भने ज्याग्दी खोला करिडोर हुँदै आँधीखोला करिडोर, पर्वत, मुक्तिनाथ हुँदै चीन पनि जोडिनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया