नेपाली चलचित्र क्षेत्रमा सिक्वेलकाे ओइराे

 चैत १३, २०७५ बुधबार १६:५३:४९ | मनोज दाहाल
unn.prixa.net

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सिक्वेल बनाउने क्रम बढिरहेको छ । सफल चलचित्रहरुको सिक्वेल त बनेका छन् नै, ती सँगै अपेक्षाकृत प्रदर्शन गर्न नसेकेका चलचित्रहरुले पनि धमाधम सिक्वेलको घोषणा गर्ने गरेका छन् ।

हुन त एउटा असफल भयो भन्दैमा सबै असफल हुन्छ भन्ने छैन, तर असफल चलचित्रको सिक्वेल हेर्नलाई दर्शक कसरी प्रेरित होलान्?

नाईं नभन्नु ल

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै सिक्वेल बनेको चलचित्र हो नाईं नभन्नु ल । विकासराज आचार्यको चलचित्र नाईं नभन्नु ल को ४ सिक्वेल निर्माण भइसकेको छ । हरेक सिक्वेललाई दर्शकले रुचाउने गरेका छन् ।

धेरैले निर्देशक विकासराज आचार्यलाई अन्य नाम राखे असफल हुन्छु भन्ने डरले त्यही नाम राखेको आरोपसमेत लगाएका थिए । त्यसैले पनि होला यतिबेला निर्देशक आचार्य नाईं नभन्नु ल को सिरिजलाई केही पर सार्दै हजार जुनीसम्म नामक चलचित्र निर्माणमा होमिएका छन् ।

याे चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । अहिले नाईं नभन्नु ल को सिरिजलाई केही पर सारे पनि अझै केही सिक्वेल निर्माण भने गर्ने निर्देशक आचार्यको योजना छ । उनले बाल कलाकार अनुभव रेग्मीलाई अभिनेताका रुपमा प्रस्तुत गरेपछि बल्ल सिरिजको अन्त्य गर्ने प्रतिकृया समेत दिइसकेका छन् ।

छक्का पञ्जा

यस्तै दोस्रो धेरै सिक्वेल निर्माण भएको चलचित्रहो छक्का पञ्जा । हाल सम्ममा छक्का पञ्जाका २ वटा सिक्वेल निर्माण भएका छन् । दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको सहकार्यमा निर्माण हुने गरेको यस चलचित्रको हरेक सिक्वेलले एक पछि अर्को रेकर्ड राख्न सफल भएका छन् ।

नेपाली चलचित्रको इतिहासमा २० करोडमाथिको व्यापार गर्न सम्भव छ भन्ने उदाहरण पनि छक्का पञ्जाले प्रस्तुत गरिसकेको छ । यो चलचित्र निर्माण युनिट पनि अब केही समय छक्का पञ्जाबाट भने विश्राम लिने तयारीमा छ ।

दिपक - दीपा यतिबेला अर्को चलचित्र निर्माणको गृहकार्यमा छन् । अब बन्ने चलचित्रलाई भने दिपेन्द्र लामाले निर्देशन गर्ने सहमति भइसेको छ ।

ए मेरो हजुर

यतिबेला चलचित्रको कथामा काम भइरहेको छ । चलचित्रको नाम के रहन्छ भन्ने कुराको टुङ्गो भने अहिले नै भएको छैन । चलचित्र ए मेरो हजुर पनि सिक्वेल निर्माणमा भाग्यमानी साबित हुँदै आएको छ । यसकाे पहिलाे सिक्वेललाई दर्शकले रुचाएका छन् भने दाेस्रो सिक्वेल पनि निर्माण भइसकेको छ ।तर, तेस्रो सिक्वेलको प्रदर्शन भने भएको छैन । यो चलचित्र आउने चैत्र २९ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ए मेरो हजुर ३ लाई पनि यस वर्षको अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्रलाई अभिनेतृ झरना थापाले निर्देशन गरेकी हुन् । 

प्रेमगीत

यस्तै सिक्वेलमा सफल मानिएको चलचित्र हो प्रेमगीत । चलचित्र प्रेमगीतमा अभिनेता प्रदिप खड्का र अभिनेतृ पूजा शर्माको जोडीलाई दर्शकले रुचाएका थिए ।

चलचित्रको प्रदर्शनसँगै प्रदिप र पूजाबिच मनमुटाव भयो । अन्तत उनीहरु एउटै चलचित्रमा काम नगर्ने भए ।निर्माता सन्तोष सेनले प्रदिप खड्कालाई लिएर चलचित्रको सिक्वेल निर्माण गरे । चलचित्रकाे सिक्वेललाई पनि दर्शकले रुचाए । अब यो यूनिट पुन चलचित्रको दाेस्रो सिक्वेलको तयारीमा जुटेको छ । चलचित्रको दाेस्रो सिक्वेलमा पनि अभिनेता प्रदिप खड्का नै रहने बताइएको छ ।

कबड्डी

चलचित्र कबड्डीको दाेस्रो सिक्वेल निर्माण हुने पक्का भइसकेको छ । यस चलचित्रमा पनि प्रदिप खड्काको नाम जोडिएको छ । चलचित्र कबड्डीको दाेस्रो सिक्वेललाई पनि अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । यस अघिका दुई वटै भागलाई दर्शकले रुचाएका छन् । 

दर्शकलाई अघिल्लो चलचित्र स्मरण गराउन र त्यही टिमले  निर्माण गरेको चलचित्र हो भनेर थाहा दिनका लागि पनि सिक्वेलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । चलचित्र कुस्सुमे रुमाल, पापी मान्छे, होस्टल, सायद, लुटलगायत अन्य धेरै चलचित्र छन्, जस्का सिक्वेल निर्माण भएका छन् ।

यस्तै चलचित्र बिर बिक्रम,जात्रा, बब्बीलगायतका चलचित्रको सिक्वेल यतिबेला धमाधम निर्माण भइरहेका छन् । पछिल्लो समय पुरानो चलचित्रको सिक्वेल घोषणा पनि धमाधम भइरहेका छन् । चलचित्र मेरो एउटा साथी छ, भैरव, भैरे, लप्पन छप्पनलगायतका चलचित्रहरुको सिक्वेल निर्माणको घोषणा भइसकेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया