परदेशीको पर्खाइ !

 चैत १६, २०७५ शनिबार ११:१८:३० | श्यामशितल परियार
unn.prixa.net

हिउँदको समय । रातको बेला । रात उजेलिएको छ, आकाशमा लागेको टहटह जुनले । घरको माथिल्लो तलाको बीचको झ्याल । झ्यालबाट बाहिर एकतमासले हेरिरहेकी छिन् । टोलाइरहेकी छिन्, उनी ।

सिउँदोमा सिन्दुर छ । दुवै हातका नाडीमा राता चुरा । लामा, काला कपाल । ओठमा लाली । आँखामा काला गाजल । सुर्लुत्त परेका नाकमा तीन ढिके फुली । उज्यालो चेहेरा । झट्ट हेर्दा आकाशमा झुल्किरहेको जूनलाई नै पाखा लगाउने खालको छ, उनको रुपरंग अनि ऋङ्गार । 

आकाशको जूनले धरतीसमेत उजेलिएको छ । जूनको उज्यालोले टाढा–टाढासम्मको रुखपात, डाँडाकाँडा छर्लङ्गै देखिएका छन् । 

वैशाखको महिना । आकाशको जून । सुस्तरी बहेका शीतल पवनले रात वैँशालु बन्दै छ । वातावरण मनमोहक बन्दै छ । तर उनी भने निराश निराश निराश छिन् ।

मुहार पुर्नेको जूनजस्तो भए तापनि ओठमा हाँसो छैन । 

झ्यालको दायाँभित्तामा अडेस लगाएर बसिरहेकी छिन्, उनी । उनी अर्थात् गीता । उनलाई उनकी हजुरआमाले राखिदिएको प्यारो नाम । 

उनी प्राय : हररात यसैगरी यही झ्यालसम्म आइ टोलाइरहन्छिन् । यसरी नै उनले एक्लै आफूभित्रै सुस्ताउँदै, सुसाउँदै रात कटाएको पनि वर्षाैँ भैसक्यो । 

गीतालाई असाध्यै सताउँछ, उसको यादले । उ अर्थात् श्रीमान् प्रेमनाथ । तर गीता आफ्नो प्यारा, दिलको टुक्रा प्रेमनाथलाई उसको नामसँगै जोडिएको नाथ हटाइ मात्र प्रेम भनेर प्रेमभावका साथ बोलाउन, सम्झन जाती मान्छिन् । 

त्यसो त गीतालाई पनि प्रेम, गीत बनेर बोलाउन जाती मान्थ्यो । र त उ गीतालाई गीत भनेरै बोलाउँथ्यो । 

आफैमा रुपमा जति सुन्दर छिन् गीता । उनको आनाबानी, बोलीवचन उस्तै राम्रो । 

बुढापाकाले त उनलाई देख्नेबित्तिक्कै प्रशंसा गर्न भ्याइहाल्थे, ‘कति जाती बालखा छे यो गीता, आँखैमा राखेपनि नबिझाउने । कति शीतल बोली ।’

आफूले माया गरेको मान्छेको सबै कुरा राम्रो लाग्ने । त्यसैले त होला गीताको बोली उसलाई अमृतझैँ लाग्छ ।

सँगै हुँदा गीतालाई मक्ख पार्दै प्रेम मुख खोल्थ्यो, ‘गीता तिम्रो बोली मलाई मिठो गीत सुनेझैँ लाग्छ । तिमी बोलिरहूँ । म एकनाशले सुनिरहन्छु ल !’ 

साँच्चै गीताको मिठो बोलीमा उ ‘फिदा’ नै भएको थियो । र त प्रेमनाथबाट प्रेम भएको प्रेमले गीतालाई उनीसँग नजिकिएदेखि गीत भनी बोलाउँथ्यो ।  
............................
उनलाई आकाशको जून, केश फररर बनाउँदै बहेको पवनले झनै उस्को याद दिलाएको छ । बल्झाएको छ । 

झ्यालबाट जून चिहाउँदै गरेकी उनको कानसम्म ठोक्किन आइपुग्छ, ‘ए गीत । अहिलेसम्म नसुतेर के गरी बसिरहेकी हँ !’

चिसो बताससँगै उनको कानमा यो वाक्य ठोक्किन आइपुग्दा, उनलाई आभाष हुन्छ, साँच्चै प्रेम नै नजिकै आई हात समाउँदै मायालु भावमा सुटुक्क कानमा यसो भनिरहेछ ।

झसङ्ग हुन्छिन् उनी । 
‘क्या सारो यादमा डुबेछु नि !’

यतिबेला उनको नजर झ्यालबाट बाहिर देखिने जूनमा होइन, आफू बस्दै गरेको झ्याल रहेको कोठाको भित्तामा टाँसिएको तस्बिरमा पुग्छ । 

यो तस्बिर आजभन्दा ठिक ५ वर्षअघिको हो । 

तस्विरमा शिरमा ढाका टोपी, शरीरमा कालो कोट, पाइन्ट, घाँटीमा दुबोको माला, आँखामा कालो चश्मा लगाएको पातलो–पातलो उही प्रेम छ । घुम्टो ओडी लजाउँदै थोरै प्रेमसँग टाँसिएर बसेकी गीत छे ।

यो उनीहरुको बिहेको बेला खिचेको तस्बिर हो । 

मनले चाहेको, मनमा सजिएको, मनैदेखि माया गरेको मान्छेसंँग सँगै जीवन बिताउने भाग्य सायद कमै प्रेमीले पाउँछन् । 
यस मानेमा प्रेम र गीत दुवै भाग्यमानी हुन् । 

जस्ले आफूले माया गरेको मान्छेसँग सँगै जीवन बिताउने शौभाग्य पाए । 

मनमा सजिएको प्रेमको हातले आफ्नो पवित्र सिउँदो रंगिएको पल गीतलाई आजसम्मकै मिठो पल लाग्छ । 

आजभन्दा ५ लर्षअघि, देउराली डाँडामा रहेको मनकामना मन्दिरमा आफ्नो सिउँदो रंगिँदै गर्दा सुस्तरी प्रेमलाई भनेकी उनले थिइन्, ‘यसअघि मन र माया सुम्पेको थेँ । आजबाट हजुरलाई यो ज्यानै सुम्पेको छु । सदा साथ दिनु है ।’

त्यसपल, गीतलाई अँगालोमा टाँस्दै उनको निधारमा आइपुगेको एकसरो कपालको लुर्कोलाई हटाउँदै प्रेमले भनेका थिए, ‘मेरी गीत । दुःखीको साथ रोज्यौ क्यारे । सारा खुशी त दिन नसकुँला । तर मेरै कारणले कैले नि रुन दिने छैन तिम्लाई । माया र विश्वासमा कैले कमी हुन दिन्नँ । यति नै भन्नलाई मसँग माया जोख्ने तुलो त छैन । तर म तिम्लाई हृदयमा अटाएसम्मको माया दिनेछु ।’

बेहुलीको भेषमा धपधप बलेकी गीत प्रेमको कुरा सुनेर झनै उजेलिएकी थिई । भित्रभित्रै खुशी थिई उ । 

प्रेमले आफूलाई चोखो, निर्मल, निश्चल माया गरेकै कारण त हो, उनले सारा सुखशयल छोडी प्रेमसँगै जीवन जिउने निधो गरिन् । 
उनको खुशीमा परिवार पनि खुशी भए । 

‘जीवन जिउने मनले खाएको मान्छेसँग त हो नि ! लाग्छ, तिम्रो रोजाइ पक्कै राम्रो छ । तिम्ले रोजेको खुशीले पक्कै तिमी खुशी हुनेछौँ । तिम्रो खुशीले पक्कै तिम्लाई खुशी दिनेछ । तिम्रो खुशी खोसेर हाम्लाई हाँस्नु छैन’ भनी आफ्नो बा–आमाले आफ्नो खुशीमा राजी जनाएको पल पनि ताजै छ, गीतको मन, मस्तिष्कमा । 

प्रेमको आनीबानी, असल व्यवहारले गीतको बा–आमाकोे पनि मन जितेको थियो । 
...................................
सँगै कलेज पढ्दादेखिको चिनजान । पढ्दापढ्दै बसेको प्रेम । अनि विवाह गर्ने दुवैको निधो । बिहे गर्दा गीत २१ वर्षकी थिइन् भने प्रेम २३ वर्षका । 

उनीहरुबीचमा धेरै कुरामा भिन्नता भए तापनि दुवै बीचमा समानता थियो, एकले अर्कोलाई गर्ने चोखो माया, एक–अर्कामा गर्ने विचारको सम्मान र एकले अर्कोलाई गर्ने विश्वासमा । 

सम्पन्न परिवारमा पुलपुलिएर हुर्केकी गीत । उनलाई चाहने, पछ्याउनेको कुनै कमी थिएन । 

तर उनको मनमा गडे, प्रेम । प्रेमको असल आनीबानी, बोलीचालीले उनको मन जितेको थियो पहिले देखी नै । 

प्रेम गरिब परिवारमा हुर्किएको, परिवारको जिम्मेवारी बोकेको छोरो । जसलाई बिहान बेलुकीको गर्जो टार्नै धौधौ छ । 

घरमा वृद्ध बा–आमा । 

गीतसँग विवाह बन्धनमा बाँधिएपछि झनै उनको काँधमा जिम्मेवारीको भारी थपियो । बिहे गर्दाको ऋण । बिरामी बा–आमाको उपचार । घरको खरको छानोमा टिन लाउने रहर । 

अनि सारा सुखशयल छोडी ‘मायाकै भरमा जीवन बाँच्न पाए पनि ठिक’ भनेर जीन्दगीको गोरेटोमा सँगै यात्रा गर्न आएकी गीतको मुहारमा नि खुशी छर्नु छदैँथ्यो । 

र त विदेशिने निर्णय गरे, प्रेमले । चाहना त कहाँ थ्यो र उनमा बुढा बा–आमा, गाउँघर अनि जीवन संगिनीको न्यानो काख छोडेर उ प....रको सात समुद्रपारी कता हो कताको पराइ देशमा जान । 

छाना, माना र नानाका खोजी गर्दै विदेशिनुपर्ने आम नेपाली युवाको बाध्यता । यस्तै बाध्यताबाट प्रेम पनि अछुतो रहन सकेनन् । र त बिहे भएको महिना दिन नपुग्दै उनी परदेश भासिने भए । 

आफू विदेशिने कुरा गर्दा गीतले आँखा रसिलो पार्दै प्रेमको छातीभरि भएर भनेकी थिइन्, ‘मेरा प्यारा । मेरो राजा । मेरो प्रेम । मलाई हजुरको माया नै काफी छ । भाग्यमा लेखिएका हर सुख–दुःख स्वीकार छ । म हजुरबाट अलग्गिएर बाँच्न, हाँस्न सक्दिन प्लिज, प्लिज, प्लिज । मलाई छोडेर नजानु न है !’

प्रेम भन्छन्, ‘मेरी गीत । तिमीबाट अलग्गिएर खुशी हुन म नि कहाँ सकुँला र । तिमी सुखखुशीमा हुर्केकी छोरी । मसँग आएर सारै दुःख पायौ है !’ 

प्रेमको मुखबाट यी वाक्य भुइँमा खस्न नपाउँदै गीतको कोमल हात प्रेमको मुखसम्म पुग्छन् । 

आँखाले ‘नाइँ’ भन्ने इशारा गर्छिन् । ताकी यस्ता निराशाका भाव प्रेमको मुखबाट ननिस्कियोस् ।

आफ्नो ओठसम्म आएका गीतको कोमल हात समाउँदै प्रेम मनको कुरा पोख्छन्, ‘गीत, चुहिने घरको खरको छानो छाउनुछ । लागेको ऋण पनि तिर्नुछ । रोगी बा–आमाको उपचार गराउनु छ । अनि तिम्रो लागि पनि त खुशी किन्नु छ ।’

‘मलाई हजुरको मिठो साथ, न्यानो काख भए पुग्छ प्रेम । बस् यति भए पुग्छ,’ मनले मात्रै भन्यो तर यो वाक्य उनको मुखबाट निस्केन, यसपल ।
.............................
अँधेरी रात । साउनको महिना । बाहिर एकतमासले साउने झरी बर्सिएको छ । खोपी (कोठा)मा छन्, प्रेम अनि गीत । यसपल उनीहरुलाई नियालिरहेको छ, खोपीमा बल्दै गरेको धिपधिपे टुकीले । 

छातीमा टाँसिएकी गीतको कपाल चलाउँदै प्रेम भन्छन्, ‘सधैँको लागि मुग्लान भासिन ला’को कहाँ हो र । केही वर्षको कुरा त हो । जाबो तीन/चार वर्ष आँखा झिमिक्क गर्न नपाउँदै बित्छ । केही वर्षमै म हाम्रो लागि खुशी किनेर ल्याउनेछु । तर...।’

तर....मा गएर प्रेमको गला अबरुद्ध हुन्छ । 

प्रेमको छातीमा सुस्ताउँदै गरेकी गीत टाउको उठाउँदै भन्छे, ‘तर, तर के प्रेम ? भन्नु न !’

‘संसारमा सबैभन्दा ठूलो श्वास, त्यसपछको विश्वास भन्छन् । यो संसारमा सबैभन्दा धेरै विश्वास म तिम्लाई गर्छु । र चोखो प्रेम पनि,’ भूमिका कस्दै प्रेम कुरोको चुरो खोल्छन्, ‘मान्छेको मन बदलिन बेरै लाग्दैन भन्छन् । टाढा हुँदा म बसेको तिम्रो त्यो मन नबदले है गीत । मेरो लागि धड्कने त्यो दिल सदा मेरै लागि धड्कियोस् है ।’

प्रेमको कुरा सकिन नपाउँदै गीत एकैसासमा भन्छिन्, ‘त्यस्तो कुरा नगर्नु प्लिज । मेरो आफ्नो भन्नु नै हजुर हो । हजुर बाहेक कोही अरु म कल्पना पनि गर्न सक्दिन । हजुरलाई गर्ने माया र विश्वासमा कैले कमी आउन दिने छैन । यो मेरो वाचा हो, प्रेम ।’

गीतलाई ‘क्लाेज्ली हग’ गर्न पुग्छन्, प्रेम । 

थोरै शंकाको भाव घोल्छिन् गीत, ‘बरु हजुर पो बदलिने हो कि । केटा मान्छेको जात । के भर !’
चेपारो घस्दै मायालु भावमा गीतको मुहारमा हेर्दै प्रेम यत्ति भन्छन्, ‘गीत तिमी पनि ।’
...................
त्यो पल सम्झदैँ गर्दा गीतको आँखामा आँशुको भेल बगिसकेको हुन्छ । 

तस्बिरले उनलाई त्यसपलको याद दिलायो । 

प्रेमको यादमा डुब्दाडुब्दै घडीले रातको ११ बजाइसकेछ । 

‘दुलही नानी सुत, सुत अब । अनिदो बस्नु हुन्न बा । सुत,’ सासुआमाले तल्लो कोठाबाट खोक्दै भन्छिन् ।

‘कत्ति तड्पिन सक्या होला । विदेशाँ जाती नै छ छोरालाई । अब बेलाबेलाँ फुन अरेकै छ । अब केही ट्यामपछि त आउँछु भनेकै छ,’ प्रेमका बुवा गीतको सुसुरा–बुबा प्रेमको आमालाई भन्छन्, ‘छोराको यादाँ सारै तड्पेकी छिन् बरा, दुलही नानी । हाम्लाई नि ‘घरले जाजा, वनले आइजा आइजा’ भन्ने बेला भइसक्यो । हाम्लाई नै सारै न्यास्रो ला’छ त्यसको है बुढीमाउ । अब त विदेशटी फर्केर आए नि हुने नि ।’

‘उम् नि !,’ प्रेमकी आमा भन्छिन् ।

‘चिसो स्याँट् चलेको छ । झ्याल ला’र सुत है दुलही नानी !,’ सासू–आमा अर्ती दिन्छिन् । 

‘हुन्छ आमा’ भन्दै बाहिरको जूनलाई एकचोटी आँखाले नियाल्छिन् । झ्याल ‘ढ्याम्म’ लगाउँछिन् । अनि बिछौनासम्म पुग्छिन् । शिरानमा राखिएको प्रेमको तस्बिर निकाली छातीमा टाँस्छिन् । अनि आँखा चिम्लेर चुम्छिन् प्रेमको तस्बिर । 

अनि निद्रादेवीको काखमा पल्टिन्छन्, प्रेमकी गीत । 
.......................
बेलाबेलामा फोन चलिरहेकै छ, प्रेम र गीतबीचमा । फोनमा उही माया र टाढा हुनुपर्दाको पीडा, गुनासा पोखिएका हुन्छन् । 

घरको जिम्मा गीतलाई सुम्पेर खाडीभासिएको थ्यो, प्रेम । 

गीत आफ्ना सासू–ससुरालाई आफ्ना बा–आमालाईझैँ माया गर्छिन् । 

उनीहरुको स्याहार–सुसार गर्छिन् । 

त्यसैले त गीत यस घरकी बुहारी होइनन्, छोरी बनेकी छिन् । 

प्रेमका बा–आमाले पनि गीतलाई औधी माया गर्छन् । गीतलाई बुहारीको रुपमा पाउँदा उनीहरु खुशी छन् ।      
आफ्नै छोरीसरह व्यवहार गर्छन्, सासू–ससुराले पनि गीतलाई । 

‘कति जाती बुहारी पाएका छौँ । लक्ष्मी जस्ती छिन् हाम्री घरकी बुहारी’, सासू–ससुराका मुखबाट यस्तै कुरा सुनिरहन्छिन् गीत । 

जन्म दिने बा–आमाकोझैँ सासू–ससुराको माया । परदेशमा भए तापनि श्रीमानको चोखो माया अनि विश्वास पाउँदा उनलाई केही कुनै कुराको गुनासो छैन । 

हाँसीखुशी बसेकी छिन्, केही दुःख, केही अभाव भए तापनि । 

साँच्चै मान्छे खुशी हुनलाई धन होइन । मनको खुशी मात्रै भए पनि खुशी हुने रै’छ । सुखी हुने रै’छ ।  
उनको मनले यसै भन्छ ।
.................................
भोलिपल्ट भालेको डाँकसंगै ब्युझिँन्छिन्, उनी ।

उठ्नेबित्तिक्कै शिरानमुनि रहेको प्रेमको तस्बिर प्रेमपूर्वक हेर्छिन् । 

मुसुक्क मुस्कुराउँदै गरेको प्रेमको तस्बिर हेर्दामात्रै पनि आफूमा ऊर्जा भरिएको महसुस गर्छिन् । 

यसरी नै तस्बिर हेरेरै, दिनको घाम अनि रातको जून अनि आकाशको तारा गनेर, प्रेम आउने बाटो कुरी बसेरै वर्षौ बिताएकी छिन्, गीतले ।

आफ्नो प्यारो मान्छेबाट दूर भएर ‘अत्यास’ लाग्दो जिन्दगी बाँचेकी छिन्, गीतले । 

साँच्चै, चोखो मायाले सकारात्मक सोचका साथ आशावादी भएर जिउन सिकाउँछ । र त एकदिन, अवश्य आफ्नो प्रेमसँग भेटिने आशामा बाँचिरहेकी छिन्, गीत ।
भौतिक रुपमा ‘एक शरीर घरदेश, अर्को शरीर परदेश’ भए तापनि भावनात्मक रुपमा प्रेम अनि गीतको मन एक छ । 

उनीहरुले एक–अर्कालाई गर्ने माया अनि विश्वासमा कमी आएको छैन । र त एकदिन भेटिने आशामा एउटा मन घरदेशमा, अर्को मन परदेशमा हुँदा पनि रमेकै छ । 

उठ्नेबित्तिक्कै अँगेनोमा आगो बाल्छिन् । दैलो–कसेर गर्छिन् । 

तातोपानी तताएर सासू–ससुरालाई दिन्छिन् । अनि खोरबाट बाख्रा बाहिर सार्छिन् ।कुँडोपानी गर्छिन् ।

यत्तिक्कैमा उनको मोबाइल बज्छ । चोलीको खल्तीबाट मोबाइल निकाली बोल्छिन् ।

‘हजुर, प्रेम । आराम हुनुहुन्छ ?’

‘उम् आराम छु । अनि तिम्लाई, बा–आमालाई कस्तो छ ?’

‘उम्, बा–आमा आरामै हुनुहुन्छ । म नि ठिकै छु ।’

‘आफ्नोसँगै बा–आमाको ख्याल राखे है !’

‘हस् ।’

‘परदेशमा यता मलाई जाती नै छ । कमाइधमाइ राम्रै छ ।’ 

‘प्रेम छिट्टै आउने वाचा गरी हजुर मुग्लान भासिएको नि वर्षौं भइसक्यो । मलाई हजुरबाट टाढा रहेर बिताएका यी केही वर्ष पनि युगौझैँ लागेको छ । मन आत्तिएको छ । ’

‘भयो अब त परदेश । बा–आमा, साथीभाइ, गाउँघर, डाँडाकाँडा, वनपाखाले नि उत्तिक्कै सम्झेका छन् हजुरलाई ।’ 

‘अनि हजुरकै यादमा तड्पी बसेकी छे यो घरदेशी, अब त छिट्टै फर्की आउ है परदेशी !’

‘मलाई नि रहर कहाँ थ्यो र जन्मदिने बा–आमा, जन्मिएको माटो अनि दिलकी प्यारी तिमीबाट अलग भएर बाँच्न । बाध्यताले यस्तै गरायो । आखिर म यहाँ दिनरात नभनी घोटिएको पनि हाम्रै खुशीका लागि त हो नि । कति तिम्लाई दुःखमा राख्ने । सारै दुःख झेल्यौ है तिमीले ।

बल्लतल्ल अब त घरको खरको छानो टिनले टल्काउने, बाबाको शिरको टोपी अनि आमाको चोली फेर्न सक्ने भा’को छु । अनि धेरथोर तिम्रा लागि खुशी ।’

‘मलाई हजुरको मायाभन्दा ठूलो खुशी अरु कुन हुन सक्ला र ! हजुरलाई आँखै अगाडि सधैँ देख्न पाएँ पुग्छ हजुर । अब छिट्टै घर फर्की आउनू ।

यतै आफ्नै देशमै केही गरुँला । दुवै मिली श्रम–पसिना गाउँघरकै माटोमा पोखौँला । ‘मकैको आँटो, कर्कलाको गाँठो’, ढिडोफाँडो जे छ त्यही खाउँला । अभावमै बाँचौला । दुःख–सुख आपसमा बाँडौला । अब म हजुरको साथ, मायाबाट अल्लिगएर बाँच्न सक्दिन प्रेम ।

अब छिट्टै फर्की आउनु है !’ 

परेली डिल रसिलो पार्दै उनी अनुनय विनय गर्छिन् ।

‘कति बुझकी छ्यौ तिमी । अब म केही महिनामै घर आउनेछु । गाउँघरकै माटोमा केही उद्यम गर्नेछु । मेरो मायाको अभाव अब हुन दिने छैन कैल्यै । मेरो यादमा धेरै आँशु बगायौ । अब आँखाबाट आँशुसँगै गाजल बगाउन दिने छैन कैल्यै गीत ।’

‘हस् ।’

छिट्टै परदेशबाट घर आउने प्रेमको वचन सुनेसँगै उनको मनमा केही राहत पुग्छ । 

ल बा–आमालाई मिठो सम्झना सुनाइदिनू । ‘ड्यूटी’ जानु छ । अहिले फोन राखेँ है ।

‘हस्’, उनी भन्छिन् ।

फोन काटिन्छ । 

‘यत्तिका वर्षसम्म त कुरेँ । अब केही महिनाको कुरा त हो नि । प्रेम परदेशबाट घर आईहाल्नु हुन्छ नि । अनि सँगै भइहालिन्छ’, चित्त बुझाउँदै उनी सरासर कोठामा जान्छिन् । 

भित्तामा टाँसिएको उही प्रेमसँगै बसेर खिचेको तस्बिर हेर्छिन् । अनि मुसुक्क मुस्कुराउँछिन् । 

तर उनको भित्री मनले प्रेमलाई बारबार भनिरहेको हुन्छ, ‘तन, मन जलाइ तिम्रै यादमा बसेकी छे यो घरदेशी, अब त छिट्टै घर फर्की आउ है परदेशी !’  

अन्तिम अपडेट: बैशाख ८, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया