बलिउड अभिनेता अजय देवगनकाे आज पचासाैं जन्मदिन: यस्ताे छ उनकाे विवाहअघिकाे प्रेम-प्रसँग

 चैत १९, २०७५ मंगलबार १६:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता अजय देवगन आज ५०औं जन्मदिन मनाइरहेका छन् । अजयको जन्म सन् १९६९ अप्रिल २ मा भारतको नयाँ दिल्लीमा भएको थियो । 

एक्शन हिरोदेखि कमेडी किङ्गका रुपमा दर्शकको मन जित्न सफल अजयले हालसम्म कैयौं सुपरहिट फिल्म दिइसकेका छन् । अजयले अभिनेत्री काजोलसँग विवाह गरेको दुई दशक भइसकेको छ । उनी आफ्नो परिवारसँग निकै खुशी छन् । 

बलिउडमा अजय र काजोलको जोडीलाई स्टाइलिस जोडीको रुपमा हेर्ने गरिन्छ । तर कुनै बेला यस्तो पनि समय थियो जुन बेला अजय अभिनयका साथै उनका अफेयरका कारण मिडियामा चर्चा बटुल्ने गर्थे ।

अजयको नाम  काजोलसँग जोडिनु अघि बलिउडका अन्य अभिनेत्री हरुका साथ जोडिने गरेको थियो ।  

९० को दशकमा धेरै अभिनेत्रीहरुसँग अजयको नाम जोडिए पनि रवीना टण्डन र करिश्मा कपूरसँगकाे अफेयरको चर्चा निकै नै हुने गर्थ्याे । अजय देवगन र रवीना टण्डनको निकटता फिल्म ‘दिलवाले’ को छायांकनको समयमा बढेको थियो । रवीना त्यस समयकी बलीउडकी चर्चित अभिनेतृ थिइन् । अजय र रवीनाले फिल्म ‘दिलवाले’ र ‘एक ही रास्ता’ लगायतका फिल्ममा एकसाथ काम गरेका थिए । 

रवीना त्यस समयमा अजयको प्रेममा पागल नै थिइन् । यी दुवैको प्रेम सम्बन्धको खबर विभिन्न पत्र पत्रिका र म्यागजिनमा छापिने गर्दथे ।  रवीनापछि अजयसँग अभिनेत्री करिश्मा कपूरको नाम पनि जोडियो । त्यस समयमा अजय करिश्मा कपूरसँग फिल्म ‘जिगर’ को छायांकन गरिरहेका थिए । खबरहरुका अनुसार रविनालाई अजय र करिश्माको निकटता सह्य नभएपछि आत्म हत्याको कोशिश पनि गरेकी थिइन् भनिन्छ । 

सन् १९९३ मा फिल्मफेयर म्यागजिनसँगको अन्तरवार्तामा अजयले रवीना टण्डनलाई मनोचिकित्सकको आवश्यकता रहेको बताएका थिए । साथै उनले रवीनाले पब्लिसिटीका लागि आफ्नो नाम जोडिरहेको बताएका थिए । रवीना टण्डनले एउटा अन्तरवार्तामा अजय र करिश्माका बच्चा जन्मिए भने जेब्रा जस्तै देखिनेछन् भन्दै मजाक उडाएकी थिइन् । त्यस कुराले अजय निकै रिसाएका थिए । 


त्यसपछि अजयको भेट अभिनेतृ काजोलसँग भयो । यी दुवैको भेट फिल्म छाया‌ंकनको सेटमा भएको थियो । एउटा कार्यक्रममा अजयलाई उनको र काजोलको प्रेम कहिले देखि सुरु भएको थियो भनेर सोध्दा अजयले त्यो कुरा आफूलाई पनि थाहा नभएको बताएका थिए । साथै उनले काजोललाई प्रेम प्रस्ताव पनि कहिल्यै नराखेको बताएका थिए ।

काजोल र आफूबीचको भेटघाटले नै आफूहरुको सम्बन्धलाई अगाडि बढाएको उनले बताएका थिए । सन् १९९९ मा अजय र काजोलको विवाह भएको थियो । यि दुवैको विवाह भएको २० वर्ष पूरा भइसकेको छ । अजय र काजोलका छोरी निसा र छोरा युग गरी दुई सन्तान छन् । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया