सडक छेउका ऐना फुटाइए, सार्वजनिक सम्पत्तिको संरक्षण खोइ ?

 चैत १९, २०७५ मंगलबार १८:२:५८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - डुम्रे-बेसीशहर सडकखण्ड अन्तर्गत पर्ने लमजुङका सडकमा राखिएका ‘कन्भेक्स मिरर’ फुटाइएका छन् । सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यका साथ लमजुङको पाउँदी–बेसीशहर सडकखण्डमा पर्ने तीखो मोड (घुम्ती)मा राखिएका 'कन्भेक्स मिरर’ काे संरक्षण हुन सकेकाे छैन ।              

यस क्षेत्रमा राखिएका ६ वटा मिररमध्ये ३ वटा मिरर कामै नलाग्ने गरी टुटफुट भएका छन् भने बाँकी ३ वटा मिररले मात्र काम गरिरहेका छन् । सडक डिभिजन कार्यालय दमौलीले लमजुङअन्तर्गत पर्ने सडकमा ६ वटा ‘कन्भेक्स मिरर’ राखेकाे हाे ।        

                       

सडकखण्डअन्तर्गत सुन्दरबजार नगरपालिका वडा नमब्र ८ मा पर्ने अकलाको डुँड्कुलास्थित सडक घुम्तीमा राखिएको मिररको सबै भाग फुटेर स्ट्याण्डमात्रै बाँकी छ । सडकखण्डको सिउँडीबार, रामादी र दलालस्थित सडक घुम्तीमा राखिएका मिररले मात्र काम गरिरहेको छ । त्यसैगरी, यसै वडाभित्र पर्ने भुत्याहा खोला नजिकैको सडक घुम्तीमा रहेको मिरर पनि क्षतिग्रस्त छ ।    

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेका अनुसार सडक घुम्तीमा राखिएका ‘कन्भेक्स मिरर’बाट सवारी चालकलाई परैबाट सवारी आए–नआएको थाहा पाउन सहज हुन्छ ।        

यसले गर्दा घुम्तीमा सवारी एक्कासी ठोक्किने सम्भावना रहँदैन । सम्भावित सवारी दूर्घटना न्यूनिकरणमा सडक घुम्तीमा राखिएका ‘कन्भेक्स मिरर’ले सघाउ पुर्‍याउँछ । तर यी मिरर फुटेपछि सवारी दुर्घटना हुन सक्ने उहाँले बताउनुभयाे ।

सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै नागरिक जुट्नुपर्ने सुन्दरबजार नगरपालिका–८, का वडाअध्यक्ष कृष्णकान्त अधिकारीले बताउनुभयो । ‘आफ्नो वडाअन्तर्गत पर्ने विभिन्न सडक घुम्तीमा राखिएका ३ वटा मिरर मध्ये २ वटा मिरर काम नलाग्ने गरी टुटफुट भएको छ । एउटा ऐनाले भने काम गरिरहेको छ,’

उहाँले भन्नुभयो, ‘सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयले पनि चासो देखाउनु आवश्यक छ । हामी यसकाे मर्मत गर्नेबारे छलफल गर्ने छाैँ ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया