हेलो, हावाविदज्यू ! हावाले त उडाएको छैन नि ?

 चैत २३, २०७५ शनिबार ९:८:९ | मिलन तिमिल्सिना
unn.prixa.net

यो पालि आएको बितण्डावादी हावाहुरीपछि पानीको कुरा गरेर हावाको पनि गफ दिँदै आएका हावाविदको आफ्नै हावा खुस्कियो ।

हावाले आफैलाई उडाउन थालेपछि हावाविद सचेत भए । सचेत हुनु के थियो, ईन्द्रीयले तिललाई पहाड देख्न थाल्यो । त्यसैले रुखको पात हल्लेको देख्नासाथ ल है हावाहुरी आउन सक्छ भनेर भविष्यवाणी ठोक्न थाले । 

हावा आउँछ कि आउँदैन भनेर झ्यालबाट रुखतिर हेर्दै गरेका बेला उनलाई कम्पनविदको फोन आयो ।

– हेलो, हावाविदज्यू हावाले त उडाएको छैन नि ?

–म बाराको मान्छे हो र हावाले उडाउन ! बरु हावा आउँछ भन्ने कुरा भनिनस् भनेर पो धेरैले उडाउन थाले । त्यसैले हावाले पात हल्लाउने मात्रै हो कि धुलोमैलो पनि उडाउने हो भनेर झ्यालबाट बाहिर हेर्दैछु ।

–त्यही त मैले सोधेको नि । जाबो त्यति हावा आउने कुरा पनि भन्न सक्नुभएन त । तपाईंहरु त पुरै हावा तालमा भविष्यवाणी गर्नुहुँदो रहेछ भन्ने कुरा बल्ल थाहा भयो नि !

–तपाईँहरुले भुईँचालो आउँछ भन्न सक्नुभएको थियो र हामीले हावा आउँछ भनेर पहिल्यै भन्नलाई !

–भुईँचालो आउँदैछ भनेर पहिल्यै भन्न त संसारमा कसैले पनि सकेको छैन । तर हावा त भरे आउँछ कि भोलि आउँछ भनेर पहिल्यै भविष्यवाणी गर्न सकिन्छ नि !

–हावा त सधैं आउँछ । हावा नै नआए कसरी सास फेर्ने ? कहिले थोरै आउँछ, कहिले धेरै । धेरैथोरै कुनबेला चल्छ भनेर त सबैले थाहा पाउनुपर्यो । अब सधैं चलिरहने हावालाई आज पनि चल्छ, भोलि पनि चल्छ भनेर साध्ये लाग्छ त ? पानी आउँछ, हिउँ पर्छ भन्ने कुरा त मिलाइरहेका छौं नि !

–खै अस्तिताकासम्म त पत्यार लाग्थ्यो । अब त पानीको भविष्यवाणी पनि मिल्छ जस्तो लाग्न छोड्यो । हावाहुरीपछि त तपाईँहरुको अनुमान पुरै हावा पारामा पो हुँदो रैछ भन्ने लागिरहेको छ ।

–नामै त अनुमान, कहिले मिल्छ कहिले मिल्दैन नि । ज्योतिष हो र सबै मिलाउनलाई । कहिले ठ्याक्कै मिल्छ पनि । कहिले मिल्दैन पनि । बादल लाग्यो भने पानी आउँछ भन्ने थाहा हुन्छ र गरेको अनुमान पनि मिल्छ । अब ठूलो हावाहुरी आउँदैछ भन्ने त कसरी थाहा पाउनु ! झ्याल खोलेर बाहिर हेर्दा आफैंलाई उडाउला भन्ने डर । अनि हावा आउनेबित्तिकै हावा आउँदैछ भनेर लेख्न खोज्दा बिजुली झ्याप्पै ! कम्प्युटरमा लेख्न पनि नमिल्ने ! त्यसैले, हावाहुरीको भविष्यवाणी गर्न गाह्रो छ, भुईँचालोको जस्तै ।

–खै अरु देशले त गरिरहेका छन् हावाहुरीको भविष्यवाणी । अस्ति ठूलो हावाहुरी आउँदैछ भनेर भारतका मौसमविदले भनेका रहेछन् । त्यसैलाई आधार मानेर भनेको भए पनि हुन्थ्यो नि ।

– कसले हेर्यो र अरुको अनुमान । आफैंले गरेको अनुमान त धेरैपटक फेल खाएर रुझेको बिरालोजस्तो हुनुपर्छ । अब अरुले गरेको अनुमान हेरेर यसै हुन्छ भन्न कहाँ सकिन्छ ? त्यसैले अरुको भर परिएन । अब त रुख हल्लेको देख्नेबित्तिकै हावाहुरी चल्छ भन्न हामी आफैं पनि सक्षम भैसक्यौँ । फेरि अरु देशकाे माैसम पूर्वानुमान संयन्त्रजस्ताे बनाउन सरकारले हामीलाई कहाँ सहयाेग गरेकाे छ र ? हामी पनि तीन दिनकाे माैसम त लगभग मिलाइरहेकै छाैँ त !

–यस्तो हावा अनुमान नगर्नोस है, हावाहुरीले तपाईँहरुलाई नै उडाउला । कमसेकम एक दुई भविष्यवाणी त मिलाउन सक्नुपर्छ ।

–त्यसो त तीन वर्षअघि वैशाखमा भुईँचालो आउँदैछ भनेर तपाईँहरुले पहिल्यै भनेको भए कत्तिको ज्यान जोगिन्थ्यो ? उस्तै हो हेर्नुहोस् भुईँचालो र हावाहुरी । भुईँचालो पनि आँखाले देखिंदैन, हावाहुरी पनि आँखाले देखिंदैन । आँखाले देख्दै नदेख्ने कुरा आउँदैछ भनेर कसरी भन्ने ।

–कुरा त त्यो पनि हो । आँखाले देख्नै नसक्ने कुरा आउँदैछ भनेर कसरी भन्ने ? आइसकेपछि त देखिँदैन । कुनबेला आउँछ, गैहाल्छ । तर जे भए पनि हावाहुरी र भुईँचालो आउँदैछ भन्ने कुरा पहिल्यै नभन्दा फाइदा पनि भएकै छ ।

–कसरी पुग्यो फाइदा ? त्यतिका मान्छे मरे, घाइते भए ...

–मान्छे मर्नु र घाइते हुनु मात्र नराम्रो हो । अरु सबै हिसाबले राम्रो छ हेर्नुस् । सबैभन्दा पहिलो कुरा त हावाहुरी र भुईँचालोपछि प्रधानमन्त्री, मन्त्री र अरु ठूलाबडा पीडितलाई भेट्न पुग्छन् । उनीहरु हेलिकोप्टर चढेर र गाडीको लावालस्करसहित पुग्दा हावाहुरी आएजस्तै धुलो उड्छ । यसैगरी हो हावा आएको भनेर भन्न पाइन्छ । हावाहुरी नभोग्नेलाई पनि ए यसरी पो हावा चलेको रहेछ भनेर प्रष्ट थाहा हुन्छ । अनि कहिल्यै नदेखेका मान्छेको अनुहार देख्न पाइन्छ । आश्वासन सुन्न पाइन्छ । 

–त्यति मात्र हो र । राहतको खोलो बग्छ । चाउचाउ खाने कि बिस्कुट खाने कि चिउरा खाने कि ? रोजीरोजी खान पाइन्छ । कहिले एउटै त्रिपाल पाईंदैन । कहिले चार, पाँचवटा त्रिपाल खापेर रात कटाउन पाइन्छ । नयाँ झुल, नयाँ कपडा, नयाँ भाँडा, धेरै कुरा नयाँ पाइन्छ ।

– राहत पाउनेलाई त अलिअलि फाइदै हुन्छ । राहत बटुल्ने र बाँड्न जानेलाई त झन् कति फाइदा कति । पीडितहरुको अघिल्तिर पुगेर रमिता हेर्न पाइन्छ, सेल्फी खिच्न पाइन्छ । 

–अनि फेसबुकमा राखेर लाइक बढाउन पाइन्छ । उठेको राहत अलिअलि खल्ती र पेटमा पनि राख्न पाइन्छ । कति फाइदा, कति !

– पीडितलाई पनि फाइदै हुन्छ । घर पनि नयाँ बन्छ नि । हेर्नुभयो होला नि भुईँचालोपछि बनेका घर कति राम्रा र चिटिक्कका छन् ।

–तर तपाइँहरुले बनाएको घर हावाप्रतिरोधी छैन है । तपाईंहरु सानो र हल्का घर बनाउनुपर्छ भन्नुहुन्छ । त्यस्तो घर त हावाहुरीले उडाइहाल्छ नि !

–भुईँचालोबाट बच्न त त्यस्तै हल्का घर बनाउनुपर्छ । हल्का हुँदा भुईँचालो आउँदा ढलेर चेप्यो भने पनि केही हुँदैन ।

–अनि यस्तो घर त हावाले उडाइहाल्छ नि !

–हावाले उडाउँछ भने अर्को घर बनाउनुपर्यो । भुईँचालोबाट बच्न एउटा घर, हावाबाट बच्न अर्को घर । कि कसो ?
त्यति नै बेला हावा चल्न थाल्यो । अनि हावाविदले फोन राख्दै भने –ल ल फोन राख ! मैले हावा चल्दैछ भनेर पूर्वानुमान गर्नुपर्यो । अहिलेलाई बिदा है त ।

–लौ भूकम्प र परकम्प आए हाम्रो पनि अलिअलि काम देखिन्थ्यो । रुख त हल्लिएको छ, हावा हो कि परकम्प हो म पनि नि बुझ्नुपर्यो ।
 

अन्तिम अपडेट: साउन २३, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया