के विप्लव समूह मूलधारको राजनीतिमा आउँदैछ ?

 चैत २४, २०७५ आइतबार १८:८:९ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले गएको फागुन २४ गते राष्ट्रियसभागृहमा मधेसमा पृथकतावादी अभियान चलाएका सीके राउतलाई मूलधारको राजनीतिमा ल्याएको घोषणा गर्दै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई भने लुटेरा समूहको संज्ञा दिनुभएको थियो । 

त्यसलगत्तै फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकले ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय नै गर्‍यो । विप्लव समूहमा आबद्ध भएकालाई जहाँ भेट्यो त्यहीँ पक्रने, हतियारसहित देखा परे घुँडाभन्दा मुनि गोली हान्ने र विप्लव समूहलाई सहयोग गर्नेलाई समेत कारबाही गर्ने लगायतका घोषणा सरकारले गर्‍यो । साथै अवैध रुपमा राखिएका हतियार बुझाउन ३५ दिने सूचना पनि जारी गर्‍यो । 

त्यसलगत्तै ‘विप्लव’ समूहमा आवद्ध नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थाल्यो । प्रतिबन्ध घोषणा गरेको चारदिन नबित्दै प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई ललितपुरबाट पक्राउ गर्‍यो । त्यसको केही दिनपछि पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना काभ्रेबाट पक्राउ परे ।

‘विप्लव’ समूहका नेता कार्यकर्ता पक्राउलाई प्रहरीले तिब्रता दिएसँगै पछिल्लो समयसम्म झण्डै डेढ सय नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।  

गएको चैत ११ गते बसेको नेकपाको संसदीय दलको बैठकमा पनि संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा नआए ‘विप्लव’लाई पनि यही चैतभित्र नियन्त्रणमा लिने बताउनुभएको थियो । 

एक हप्ताअघि पनि प्रधानमन्त्रीले प्रदेश एकमा आयोजित एक कार्यक्रममा ‘विप्लव’ लाई हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा नफर्किए नियन्त्रण गर्ने चेतावनी दिनुभएको थियो ।  

गगन थापा लगायतका उम्मेद्वार लक्षित बम हमला पनि भएको थियो । तर त्यतिबेला सरकारले ‘विप्लव’ समूहलाई खासै ठूलो समस्या देखेन ।

गएको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अघि १ जनाको ज्यान जाने गरी बम विस्फोट गराएपछि सरकार ‘विप्लव’ समूहप्रति कडा बनेको हो । विस्फोटमा सिंहप्रसाद गुरुङको ज्यान गएको थियो भने भने आरुषा मानन्धर र प्रतीक्षा खड्का घाइते भएका थिए ।  

यसअघि २०७४ को मंसिरमा भएको चुनावका बेला पनि ‘विप्लव’ समूहले देशभरका विभिन्न स्थानमा चुनाव बहिष्कार भन्दै बम विस्फोट गराएको थियो । त्योबेला भएको बम विस्फोटमा एकजना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए । गगन थापा लगायतका उम्मेद्वार लक्षित बम हमला पनि भएको थियो । तर त्यतिबेला सरकारले ‘विप्लव’ समूहलाई खासै ठूलो समस्या देखेको थिएन । 

पछिल्लो  पटक एनसेल कार्यालय अगाडि भएको विस्फोटपछि ‘विप्लव’ समूहले झनै त्यसलाई तिब्रता दियो । विभिन्न ठाउँमा रहेका एनसेल टावरहरुमा बम विस्फोट गराउनुका साथै बसुन्धारामा वैदेशिक रोजगार व्यवसायीको घरमा विस्फोट गराउने क्रमले निरन्तरता पायो । 

दैनिकजसो बम विस्फोटका खबरहरु आउन थालेपछि भने सरकारले ‘विप्लव’ समूह शान्ति, सुरक्षा र विकास निर्माणका लागि बाधक रहेको निष्कर्ष निकाल्दै उसका गतिविधि प्रतिबन्ध लगाउने निर्णयमा पुग्यो ।  

विप्लवसँगको वार्तामा सहभागी एक नेताका अनुसार अबको केही दिनभित्रैमा उपलब्धि हात पर्ने गरी वार्ता भइरहेको छ ।

प्रधानमन्त्री ओली त्यसपछिका हरेक कार्यक्रममा ‘विप्लव’ समूहलाई नियन्त्रणमा लिएरै छाड्ने भन्दै उसप्रति निकै आक्रामक अभिव्यक्ति दिँदै आउनुभयो । 

पार्टी अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्डले त आफूलाई मार्न विप्लव समूहले माइन्युट गरेको फेला परेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारले चालेको कदम उचित रहेको बताउनुभएको थियो ।

‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ पर्दा फेला परेको दस्तावेजले उसको गतिविधि राजनीतिक नभएर अपराधिक रहेको देखिएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि विप्लव समूहदेखि रुष्ट बन्नुभएको थियो । 

‘केही दिनमा नै विप्लवहरु मूलधारमा आउँछन्’

हरेक दिन जसो ‘विप्लव’ समूहका गतिविधिका बारेमा आक्रामक अभिव्यक्ति दिने प्रधानमन्त्री ओली केहीदिन यता भने नरम देखिनुहुन्छ । विप्लव समूहका गतिविधि पनि अहिले शून्य जस्तै छ ।

पछिल्लो समय सरकार र विप्लव समूहबीच आन्तरिक रुपमा वार्ताको प्रकृया चलिरहेकाले दुवै पक्षले कारवाहीको प्रकृया रोकेको स्रोतको दावी छ । 

विस्फोटका घटना तथा बम फेला परेका घटनाहरु सुन्न छाडिएको छ । धमाधम विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्न थालेको प्रहरीले पनि अहिले उसका कार्यकर्ता पक्राउ गर्न छाडेको छ ।  

पछिल्लो समय सरकार र विप्लव समूहबीच आन्तरिक रुपमा वार्ताको प्रकृया चलिरहेकाले दुवै पक्षले कारवाहीको प्रकृया रोकेको स्रोतको दावी छ । त्यसैले ‘विप्लव’ विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको सरकार र सरकारको प्रतिकार गर्छौँ भन्ने विप्लव समूह दुवै पक्ष अहिले शान्त जस्तै देखिएको हो ।  

‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने भन्दै उसलाई वार्ता र संवादमार्फत नै सहमतिमा ल्याउनु पर्ने र त्यसको जिम्मेवारी आफूलाई दिए वार्ताको वातावरण बनाउने भनेर सत्तारुढ दल नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले गएको चैत १२ गते अभिव्यक्ति नै दिनुभएको थियो । 

सरकारले पनि ‘विप्लव’ समूहलाई वार्तामार्फत नै सहमतिमा ल्याउन माधवकुमार नेपाललाई जिम्मेवारी दिएको एक नेताले उज्यालोलाई जानकारी दिए । उनका अनुसार अहिले बरिष्ठ नेता नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’बीच एक दुई पटक गोप्य रुपमा अनौपचारिक वार्तासमेत भइसकेको छ । 

विप्लवसँगको वार्तामा सहभागी ती नेताका अनुसार अबको केही दिनभित्रैमा उपलब्धि हात पर्ने गरी वार्ता भइरहेको छ । ‘दुई चार दिनमा हामीले प्रगति हासिल गर्ने गरी काम गरिरहेका छौँ, ती नेताले भने, ‘सम्भवतः केही दिनमा नै उहाँहरुसँग एक किसिमको सहमतिको टुंगो लाग्छ ।’  

गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका लागि पोखरा पुग्नुभएका गृहमन्त्री रामबहादुर थापा बादलले पनि ‘विप्लव’ समूहलाई राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताउनुले सरकार र ‘विप्लव’बीच वार्ता चलिरहेको संकेत गरेको हो । 

विप्लवहरु पनि वार्ता र संवादमार्फत नै शान्तिपूर्ण राजनीतिको बाटोमा आउनुपर्छ, यो भन्दा अर्को विकल्प छैन । 

सरकारले यसअघि संविधानभन्दा बाहिर भएका समूहहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भन्दै नेकपाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा राजनीतिक वार्ता टोली नै गठन गरेको थियो । पाण्डे नेतृत्वको वार्ता टोलीले विभिन्न २३ वटा समूहलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो भने सीके राउत र विप्लव समूह बाँकी थियो । 

फागुन २४ गते सीके राउतलाई पनि मूलधारमा ल्याएको सरकारले त्यसपछि विप्लव समूहलाई प्रतिवन्ध लगाएको थियो । सरकारले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर नेपाल शान्ति सुरक्षाको दृष्टिकोणले शान्त देश रहेको सन्देश दिन विभिन्न माध्यमबाट वार्ताको प्रकृया अघि बढेको तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे पनि बताउनुहुन्छ ।

‘अब बन्दुक बोकेर जंगलबाट अर्को राज्य व्यवस्थाको परिकल्पना गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले विप्लवहरु पनि वार्ता र संवादमार्फत नै शान्तिपूर्ण राजनीतिको बाटोमा आउनुपर्छ, यो भन्दा अर्को विकल्प छैन । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया