हिमाल आरोहणका लागि ६१६ लाई अनुमति, ४० करोड राजश्व संकलन

 चैत २८, २०७५ बिहिबार १७:३५:४८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् ।

सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३ सय जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् ।

आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ पुरुष र ४९ महिला रहेका छन् । तीमध्ये नेपाली महिला ६ र पुरुष ६ जना छन् । सगरमाथाको अनुमति लिनेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र नौ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार अमेरिकाका ५९ पुरुष र ४ महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन् । नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिला सहित छ, हङकङ र अर्जेन्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् ।

विभिन्न कीर्तिमान कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ ।

यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, छ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ ।

यस्तै आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका नायब सुब्बा निरौलाले जानकारी दिनुभयो ।

करिब ४० करोड राजश्व संकलन 

सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधबारसम्म  ३९ करोड १५ लाख ४४ हजार १४५ राजश्व सङ्कलन गरिएको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट ३४ करोड ८३ लाख ७२ हजार २१२ सलामी दस्तुर सङ्कलन भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहण गर्न अनुमति लिएका विदेशी आरोहीबाट प्रतिआरोही ११ हजार डलरका दरले ३४ करोड ७४ लाख ७२ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यस्तै नेपाली आरोहीबाट ७५ हजारका दरले रु नौ लाख राजश्व संकलन भएको पर्यटन विभागका नायब सुब्बा निरौलाले जानकारी दिनुभयो ।

बोर्डको तथ्याङ्कअनुसार देशका विभिन्न हिमाल आरोहरणका लागि अनुमति लिएका आरोहीबाट जम्मा ३९ करोड १५ लाख ४४ हजार १४५ रोयल्टी जम्मा भएको छ । नेपालका विभिन्न क्षेत्रमा रहेका २० हिमाल आरोण गर्ने ७० समूहका ६१६ आरोहीबाट उक्त राजश्व सङ्कलन भएको हो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया