प्लाष्टिकजन्य फूल काठमाण्डौ महानगरको प्रहरी बलबाट जफत
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ– नेपालले पहिलो पटक आफैले आधिकारिक रुपमा सगरमाथाको उचाइ मापन गर्न लागेको छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका चारजना कर्मचारीको टोली एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजनाका साथ त्यसतर्फ लागेका हुन् ।
सगरमाथाको उचाइ नाप्न जाने टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ ।
नेपाल सरकारको तर्फबाट पहिलो पटक आधिकारिक रुपमा सरगमाथाको उचाइ मापन हुने भएको हुँदा पनि यसलाई विशेष महत्व र उत्साहका साथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीले टाेलीलाई बिदाइ गर्ने क्रममा ती टोलीले मापन गरेर ल्याएको उचाइलाई नै आधिकारिक मानिने बताउनुभएको छ । ‘इञ्च/इञ्चको ख्याल गरेर मापन गर्नुहोस् र स्वास्थ्यलाई पनि ख्याल राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
विश्वको सर्वाेच्च शिखर सगरमाथा मापनको काम ७०/८० प्रतिशत काम सकिएको नापी विभागका प्रवक्ता दामोदर ढकालले उज्यालो अनलाइनलाई बताउनुभयो ।
‘सिरहाको मडारदेखि सोलुखुम्बुको पतालेसम्मको मापन कार्य सकिएको छ, अब को १० /१५ दिनमा टोलीले सगरमाथाको आधार शिविरबाट उचाइ नाप्न सुरु गर्नेछ’ , उहाँले भन्नुभयो ।
‘प्रिसाइस लेभलिङ, ट्रिगोनोमेट्रिक लेभलिङ, ग्र्याभिटी सर्भे र जीएनएसएस (ग्लाेबल नेभिगेसन स्याटेलाइट सिस्टम सर्भे) यी चार प्रविधिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरिनेछ । यसका लागि १२ छुट्टै सर्वेक्षण स्टेशनमा २ सय ८५ प्वाइन्ट तोकिएको छ’ , प्रवक्ता ढकालले भन्नुभयो । जसमध्ये १५३ प्वाइन्टको मापन सकिएको छ । उहाँका अनुसार, ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभरको माध्यमबाट यी मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरु संकलन गर्नेछ ।
‘यो आर्थिक वर्षमा सगरमाथाको उचाइ मापन गरिसक्ने लक्ष्य राखेका छौं । केही अवरोध नभएमा आगामी कार्तिक–मङ्सिरसम्ममा फिल्डको सबै काम सकिनेछ । केही अवरोध भएमा ३/४ महिना लम्बिन सक्छ’, उहाँले भन्नुभयो । फिल्डको काम सकिएपछि संकलन गरिएको तथ्यांकलाई काँटछाँट र विश्लेषण गर्ने विभागको योजना रहेको छ । यो विधि सकिएपछि विशेष कार्यक्रम गरेर सगरमाथाको नयाँ उचाइको बारेमा जानकारी गराइने प्रवक्ता ढकालले बताउनुभयो ।
प्रवक्ता ढकाल भन्नुहुन्छ, ‘भौगोलिक विकटता र उचाइका कारण त्रिकोणमितीय समतुलन नापी विधिले सगरमाथाको चुचुरोमा पुग्न असम्भव हुने हुँदा जीएनएसएस रिसिभरको सहायता लिन्छौं ।’ रिसिभरको माध्यमद्वारा डाटा संकलनका साथै सगरमाथाको तापक्रम, आद्रता र गुरुत्वाकर्षणजस्ता मौसमजन्य तथ्यांक संकलन गरिनेछ ।
पहिलाे पटक नेपाल आफैले सगरमाथाकाे उचाइ नाप्दै
२०७२ सालको भूकम्प गएसँगै आमनागरिकमा सगरमाथाको उचाइमा के भयो भनेर एउटा चासो उब्जिएको थियो । आधिकारिक रुपमा सगरमाथाको उचाइ समुद्र सतहदेखि २९ हजार २९ फिट (८ हजार ८ सय ४८) भए पनि जमिनमुनि रहेको टेक्टोनिक प्लेटमा हलचलका कारण १ इञ्च (२.५४) खुम्चिएको आशंका गरिएको छ । त्यसपछि सरकारले आधिकारिकरुपमा नै सगरमाथाको उचाइ नाप्ने योजना बनाएको थियो ।
यसअघि पनि अमेरिका र चीनले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुद्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर रहेको बताएको थियो ।
फेरि सन् १९९९ मा अमेरिकी टोलीले मापन गर्दा सगरमाथाको उचाइ बढेर ८ हजार ८ सय ५० मिटर भएको देखाएको थियो । ‘सर्वेक्षक तथा भूगोलका ज्ञाता सर जर्ज एभरेष्टले सन् १८४० को दशकमा पटक पटक गरेर सगरमाथाको उचाइ मापन गरेका थिए । उनको मापनमा सगरमाथाको उचाइ २९ हजार फिट (८ हजार ८ सय ३९ मिटर) देखिएको थियो’, लाइभ साइन्सले लेखेको छ ।
यसपटक भने नेपाल सरकारले आफै सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापन गर्न लागेको हो । यसलाई विश्वले नै चासाेका साथ हेरिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।