खै लोकल भाले ? ब्रोइलरले खायो

 बैशाख १, २०७६ आइतबार ८:४६:१३ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा नगरपालिका ६ शक्तिचोकका विष्णु रानामगरलाई आइतबारे पूजाका लागि कुखुराको लोकलभाले चाहियो । तर गाउँभरी चहार्दा पनि उहाँलाई लोकल भाले मिलेन । त्यसपछि उहाँ नारेश्वर, घलाङ, स्वाँरा, पस्लाङ र आसपासका बुंकोट, ताक्लुङलगायतका ठाउँमा भालेको खोजीमागाउँ पस्नुभयो । 

‘ताङ्लीचोकमा बल्लतल्ल पाइयो’ आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखाका अध्यक्ष समेत रहनुभएका रानाले भन्नुभयो, ‘मझौला आकारको लोकल भाले २ हजार रुपैयाँमा किनेर आइतबारे पूजा गरियो ।’ उहाँका अनुसार आदिवासी जनजातिले वर्षभरी गर्ने विभिन्न पूजामा कुखुराको लोकल भाले चाहिन्छ । 

देशैभरका जनजातिले गर्ने गौरीपूजादेखि विभिन्न कूलपूजा, वायु पूजा, शनिश्चरे, चण्डी पूजालगायतका पूजाकार्यमा लोकल भालेको खोजी हुन्छ । तर भाले पाउनै मुश्किल पर्न थालेको रानाको अनुभव छ । ‘एकातिर भाले पाउनै मुश्किल, पाइहाले पनि असाध्यै महंगो’ उहाँ भन्नुहुन्छ, ‘न्यून आयस्तर भएकाहरुले त  लोकल भाले खोजेर परम्परागत पूजा गर्नै नसकिने अवस्था आयो ।’

लोकल भाले अभावकै कारण पूजाआजाको विधि पनि फेर्नु पर्ने अवस्था आएको हो की भन्ने उहाँले गुनासो पोख्नुभयो । 

गाउँगाउँमा ब्रोइलरको रहर

अहिले गाउँतिर पनि जताततै ब्रोइलर कुखुरा मात्रै देख्न पाइन्छ । स्वादे जिब्रोका लागि लोकल भालेको माग बढे पनि लोकल कुखुरा पाल्ने संस्कृति भने हराउँदै गइरहेको देखिन्छ ।

गोर्खाको धार्चेगाउँपालीका ६ काशिगाउँका ८१ वर्षीय लाटा घलेलाई पनिगाउँमा लोकल भाले मासिँदै गएकोमा चिन्ता लागेको छ। लाटा घले जवानीका बेलागाउँबाट भालेको भारी बोकेर आरुघाट हुँदै काठमाण्डौ सम्म पुर्‍याएर बेच्ने गर्नुहुन्थ्यो ।

‘निगालोको चोयाबाट ठूला पेरुङ्गो बुन्थ्यौं, एउटै पेरुङ्गोमा २५ वटासम्म भाले राखेर बेच्न हिँडिन्थ्यो । ५ देखि ७ रुपैयाँसम्ममा एउटा भाले बेच्थ्याैँ ।’ घले दुखेसो पोख्नुहुन्छ, ‘अहिले त बेच्नु परको कुरा, आफैंलाई खान मन लागेको बेला पाउन पनि मुश्किल छ ।’ 

व्यावसायिक सोचका साथ ब्रोइलर कुखुरा पाल्नु नराम्रो पटक्कै होइन तर बजारमा उच्च माग भएको र मूल्य पनि राम्रै पाउने लोकल कुखुरा पालन हराउँदै जानु भने सोचनीय विषय भएको बताउनुहुन्छ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुर । 

सडक सञ्जाल नपुगेको गोरखाको धार्चे र चुमनुब्रीका दुर्गमगाउँमा समेत व्यवसायीहरुले बोकेरै ब्रोइलरका चल्ला पुर्‍याउन थालेका छन् । व्यवसायिक रुपमा नपाले पनि लोकल कुखुराको सट्टा दुईचारवटा ब्रोइलरका चल्ला हुर्काउने गरेको पाइन्छ ।

के हो लोकल कुखुरा ?

गाउँघरमा पाइने घाँटी खुइले, प्वाँख उल्टे, कालो कडकनाथ, साकिनीलगायत जातका कुखुरालाई लोकल कुखुराका रुपमा चिनिने डाक्टर ठाकुरको भनाइ छ । ‘परिभाषित नै गर्नुपर्दा ग्रामिण स्तरमा उपलब्ध खानेकुरा अर्थात बढी भएको भात, तरकारी, घाँसपात खाएर हुर्कने माथिका ४ जातलाई लोकल कुखुरा भन्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘सामाजिक, आर्थिक र धार्मिक हिसाबले पनि लोकल कुखुराको महत्व छ ।’ 

बढी औषधि र हर्मोन प्रयोग गरी हुर्काएकाले विकासे कुखुराहरु स्वाद र पौष्टिक दुवै दृष्टिकोणले राम्रो नहुने हुँदा कुखुराका पारखीहरुले लोकल कुखुरा नै खोज्ने गरेको उहाँले बताउनुभयो ।

व्यवसायिक सोचका साथ ब्रोइलर कुखुरा पाल्नु नराम्रो नभएको तर बजारमा उच्च माग भएको र मूल्य पनि राम्रै पाउने लोकल कुखुरा पालन हराउँदै जानु भने गम्भीर विषय भएको जानकारहरु बताउनुहुन्छ । 

विकासे जातको तुलनामा लोकल कुखुरामा रोग पनि कम लाग्छ । स्थानीय जातका कुखुरा लोप हुन लागेपछि अहिले संरक्षणका कार्यक्रमहरु सुरु हुन थालेका छन् । ‘स्थानीय कुखुरालाई कसरी संरक्षण गर्ने भनेर गण्डकी प्रदेशले केही कार्यक्रम सुरु गरेको छ’ ठाकुरले  भन्नुभयो, ‘उत्पादन वृद्धि कसरी बढीभन्दा बढी गर्ने भनेर प्रदेश सरकारले कार्यक्रम सुरु गर्न लागेको छ ।’  

प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लोकल कुखुरा संरक्षणका लागि प्याकेज कार्यक्रम ल्याएको मन्त्री लेखबहादुर थापाले बताउनुभयो । त्यसका लागि किसानहरुलाई अनुदान समेत उपलब्ध गराउने उहाँको भनाइ छ । 

‘पहिलो चरणमा हामीले किसानहरुबाट प्रस्ताव माग गरेका छौँ’ मन्त्री थापाले भन्नुभयोे, ‘गाउँमा भएका लोकल कुखुराका जातहरु अध्ययन गरेर चरणबद्ध रुपमा कार्यक्रम अघि बढाउँछौं ।’ 

लोकल जातका कुखुराबाट अण्डा उत्पादन गरी चल्ला निकाल्ने र बाँड्ने प्रदेश सरकारको तयारी छ । अहिले पूजा कार्यमा र पाहुनालाई खुवाउनका लागि भनेर पालिएका लोकल कुखुराबाटै पनि व्यावसायिक उत्पादन सुरु गर्न सकिने मन्त्री थापामगरको विश्वास छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया