रामेछाप विमानस्थलले यसरी धान्दैछ काठमाण्डौको चाप

 बैशाख १, २०७६ आइतबार ११:५८:४४ | अर्जुन पोख्रेल
unn.prixa.net

रामेछाप – हिजोआज बिहान पौने ६ बज्न पाएको हुन्न, तामाकोशी किनारमा रहेको रामेछाप विमानस्थलबाट जहाज उडान र अवतरण सुरु भैसक्छ । कुनै जहाज उड्ने चटारोमा त कुनै अवतरणको चटारोमा हुन्छन् । काठमाण्डौबाट लुक्ला जान हिँडेका यात्रुलाई विमान चढ्ने हतारो अनि लुक्लाबाट रामेछाप झरेका यात्रुलाई काठमाण्डौ जाने गाडी चढ्ने हतारो । 

बिहान ८ बजेसम्म त रामेछाप विमानस्थलमा सानोतिनो मेला नै लागेको हुन्छ । यात्रा गर्ने, ब्यापार गर्ने, उडान गर्ने, व्यवस्थापन गर्ने कसैलाई पनि एकछिन फुर्सद हुँदैन ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्न चैतको १८ गतेदेखि विमानस्थल १० घन्टा बन्द हुँदै आएको छ । राति १० बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द हुँदा उडान प्रभावित भएका छन् । तर काठमाण्डौबाट लुक्ला जाने विमानलाई रामेछापको मन्थलीबाट पठाउने व्यवस्था गरिएको छ । यसले गर्दा काठमाण्डौमा बिहानको चाप कम भएको छ भने मन्थली विमानस्थल निकै व्यस्त भएको छ ।


 
दैनिक ९२ वटा उडान र अवतरण, चारवटा पार्किङमा ६ वटासम्म जहाज

२०३५ सालमा स्थापना भएको रामेछाप विमानस्थलमा २०४० सालदेखि नेपाल वायुसेवा निगमको विमानले दैनिकजसो उडान गर्थ्यो । तर २०६४ सालदेखि उडान नियमित हुन छोड्यो । रामेछापबाट लुक्लाको लागि दैनिक २÷४ वटा कार्गो उडान हुन्थे । काठमाण्डौको नियमित उडान बन्द जस्तै थियो । 

२०७३ सालमा विमानस्थल कालोपत्रे गरियो । त्यसपछि त रामेछाप विमानस्थलमा चहलपहल बढ्ला भन्ने आशा थियो । तर २०७१ सालमै खुर्कोटमा सुनकोशी नदीमाथि पूल बनेकाले काठमाण्डौ–रामेछापको दूरी छोटियो । सडकमार्ग राम्रो र छोटो भएपछि विमानस्थलमा नियमित उडान भएनन् ।

तर अहिले रामेछाप विमानस्थलका दिन फिरेका छन् । काठमाण्डौको विमानस्थल १० घन्टा बन्द हुँदा लुक्ला उडान निकै प्रभावित हुने भएपछि लुक्ला उडान रामेछापबाट भैरहेका छन् ।

रामेछाप विमानस्थलमा यति धेरै उडान भएका छन् कि गएको २५ गते सोमबार त ९२ पटक जहाज आउजाउ गरे । ‘आइतबार लुक्लाको मौसम बिग्रिएकाले धेरै उडान भएका थिएनन्, त्यसको प्रभाव सोमबार पर्‍यो, सोमबार ४६ वटा उडान भए, मुभमेन्ट गन्दा ९२ पटक विमान आउजाउ गरे’ रामेछाप विमानस्थल कार्यालयका प्रमुख अमितकुमार चौरासियाले उज्यालो अनलाइनसँग भन्नुभयो । 

रामेछाप विमानस्थल यति धेरै व्यस्त होला भनेर कसैले नसोचेको पनि उहाँले बताउनुभयो । अहिले रामेछापबाट सीता, तारा र समिट एअरले लुक्ला उडान गर्दै आएका छन् । विमानस्थलमा ३ वटा साना विमान पार्किङको क्षमता भए पनि बेलुका भने ६ वटासम्म विमान राख्ने गरिएको विमानस्थल कार्यालयले जनाएको छ । 

सबै हिसाबले उपयुक्त रामेछाप विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ८ बजेसम्म बन्द हुन्छ । बिहान ८ बजेपछि उडान गर्दा लुक्लाको मौसम अदलबदल भैसक्ने भएकाले अहिले रामेछापको मन्थली विमानस्थलबाट लुक्ला उडान भैरहेको छ । बिहान १० बजेपछि सोलुखुम्बुको लुक्लामा उडान र अवतरण गर्न कठिनाइ हुने भएकाले १० बजेअघि नै धेरैजसो जहाजले यात्रु ओसारपसार गरिसक्छन् ।

लुक्लाको मौसम अदलबदल भैरहे पनि रामेछापको मौसम भने झट्ट अदलबदल हुँदैन । पाइटल र विमानस्थलका एअर ट्राफिक कन्ट्रोलर रामेछाप विमानस्थल भौगोलिक र मौसमको हिसावले अफ्ठेरो नभएको बताउँछन् ।

‘रामेछाप विमानस्थल मौसमको हिसावले नराम्रो छैन, मौसम छिनछिनमा अदलबदल हुन्न, त्यस्तै भौगोलिक हिसाबले पहाडको बीचमा भए पनि त्यस्तो चुनौतीपूर्ण भने होइन’ विमानस्थलका एअर ट्राफिक कन्ट्रोलर प्रह्लाद निरौलाले उज्यालोसँग भन्नुभयो । 

हामीलाई ठूलो राहत भएको छ : महानिर्देशक 

नेपाल नागरिक उडड्न प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम रामेछाप विमानस्थलले अहिले काठमाण्डौको चाप कम गरिरहेको बताउनुभयो । रामेछाप विमानस्थल नभएको भए अहिले ठूलो समस्या हुने उहाँको भनाइ छ ।

‘मुख्य पर्यटकीय सिजनमा काठमाण्डौको विमानस्थल बिहान ८ बजेसम्म बन्द हुँदा सगरमाथा क्षेत्रको पर्यटनमा ठूलो असर पर्न सक्थ्यो, तर रामेछापबाट दैनिक उडान हुँदा सहज भएको छ ।’ गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो ।


 

अन्तिम अपडेट: चैत २८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया