लुक्लाले चम्काएको मन्थली : पाइलटदेखि विदेशीसम्मले होटल खचाखच

 बैशाख ३, २०७६ मंगलबार १३:३:४ | अर्जुन पोख्रेल
unn.prixa.net

रामेछाप – रामेछापको सदरमुकाम मन्थलीको जीएस होटलमा पहिले आक्कलझुक्कल मात्रै विदेशी पाहुना आउँथे । विदेशी पाहुना नआउने भएपछि होटल सञ्चालक गणेश थपलियाले होटललाई त्यति धेरै उच्च सुविधायुक्त बनाउनुभएन ।

तर यसपटक भने उहाँ अचम्ममा पर्ने गरी विदेशी पाहुना, ट्राभल्स कम्पनी र विमान कम्पनीका व्यक्ति उहाँको होटलमा आएका छन् । अहिले उहाँका दुईवटा होटल भरिभराउ छन् । होटलमा ग्राहक आएनन् भनेर चिन्तै गर्नु पर्दैन ।

‘पहिले स्वदेशी पाहुनले भरिने होटलमा हिजोआज विदेशी पनि थपिएका छन्, हामीलाई स्तरीय कोठाको व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ’ जीएस होटलका सञ्चालक थपलियाले उज्यालो अनलाइनसँग भन्नुभयो ।

काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गको कालोपत्र परिवर्तन गर्न राती १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्नुपर्छ । यसका कारण लुक्ला जाने विमान प्रभावित भएपछि रामेछाप विमानस्थलबाट आउजाउ गर्छन । लुक्लाको लागि आउजाउको केन्द्रबिन्दु भएपछि रामेछापका होटल यतिबेला भरिभराउ भएका हुन् ।

मन्थलीमा पाइलटदेखि विदेशीसम्म

बिहान १० बजेपछि लुक्लाको मौसम फेरबदल हुने भएकाले बिहान पौने ६ बजेदेखि नै रामेछाप विमानस्थलबाट लुक्लाको लागि उडान सुरु हुन्छ । केही पर्यटक राती २/३ बजे नै काठमाण्डौबाट गाडी चढेर बिहान सबेरै मन्थली पुग्छन् भने केही चाहिँ अघिल्लो बेलुकी नै मन्थली पुगेर बास बस्छन् । यस्तै लुक्लाको मौसम परिवर्तन हुँदा उडान नभएमा सयौं पर्यटक मन्थलीमै बस्नुपर्ने भएकाले होटलदेखि क्याफेसम्मको ब्यापार बढेको छ । 

‘पाइलटदेखि विदेशीसम्म मन्थलीका होटलमा बसिरहेका छन्, अहिले हामीलाई पाहुना पुगेनन् भन्दा पनि स्तरीय सेवा कसरी दिने भन्ने चटारो परेको छ’ होटल संघ रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले भन्नुभयो, ‘एकपटक छवि बिग्रियो भने पर्यटक बिच्किन्छन्, त्यही भएर हामीलाई सेवा बृद्धि र स्वागतको लागि चिन्ता पनि परेको छ ।’

रामेछापदेखि लुक्लासम्म दैनिक ४६ वटासम्म उडान भएको रेकर्ड छ । एकजना पाइलटले एक दिनमा पाँचवटा भन्दा धेरै उडान गर्न नपाउने नागरिक उडड्यन प्राधिकरणको नियम  भएकाले रामेछापमा पाइटल पनि धेरै छन् । उनीहरु पनि मन्थलीकै होटलमा बस्ने गर्छन् ।

‘हामीले सोच्दा रामेछापमा त्यति राम्रा होटल छैनन् होला भन्ने लागेको थियो, आधारभुत सुविधा पनि नहोला भन्ने डर थियो, तर हामी यहाँ आएर बस्दा फरक रहेछ, होटलहरुमा नराम्रो सेवा छैन’ समिट एअरका पाइलट मणि शेरचनले भन्नुभयो । 

खुर्कोट धुलिखेलसम्मका होटललाई फाइदा

मन्थलीमा एक सय हाराहारीमा होटल छन् । त्यसमा ५० वटा कोठा एसी भएका, दुई सय वटा कोठाभित्रै शौचालय भएका अर्थात एट्याच्ट र अरु सामान्य कोठा छन् । सबै होटलले एसी भएका प्रतिकोठा २५ सय रुपैयाँ भाडा तोकेका छन् । केही होटल त ट्राभल र विमान कम्पनीले महँगो भाडा तिरेर तीन महिनासम्मको लागि बुकिङ गरेका छन् ।

लुक्लामा मौसम बदली हुनेबित्तिकै मन्थलीका होटलले विदेशी पाहुना धान्न मुश्किल पर्छ । त्यसैले सिन्धुलीको खुर्कोट, मुल्कोट लगायत ठाउँका होटल पनि भरिभराउ हुन्छन् ।

‘पाहुनाहरु खुर्कोट र मुल्कोट पनि बस्नुहुन्छ, अप्ठ्यारो पर्दा होटलहरुबीच समन्वय गरे मिलेर पाहुनालाई सेवा दिइरहेका छौं’ होटल संघका अध्यक्ष तथा  एसएस एभरग्रीन होटलका सञ्चालक शेखरमान श्रेष्ठले भन्नुभयो, ‘यो खचाखच तीन महिनाको लागि मात्रै हो भन्ने सुनेका छौं, त्यसैले झट्ट संरचना थप्न पनि धेरैले आँट गरेका छैनन ।’

केही होटलले ‘मौकामा चौका’ हानेको गुनासो

धेरै पर्यटक आएको मौका छोपेर केही होटलले धेरै शुल्क लिएको गुनासो पनि आउन थालेको छ । 

पर्यटकको चहलपहल बढेसँगै विमानस्थल नजिकैका खेतबारी भाडामा लिएर धेरैजनाले टहरा ठड्याएर क्याफे, पार्किङ र कफी पसल खोलेका छन् । एक बोत्तल पानीकै सय रुपैयाँ तिर्नुपरेको विदेशीको गुनासो छ ।
 
‘यहाँ त सहर नजिक छ, तर पनि हामीले एक बोत्तल पानीको सय रुपैयाँ तिर्नुपर्‍यो, यो हामीलाई निको लागको छैन’ लुक्लाबाट फर्किएका स्वीडेनका नागरिक कार्लोस जेलनले भन्नुभयो ।

तर होटलवाला भने बढी शुल्क लिएको स्वीकार गर्दैनन् । माउन्ट एभरेष्ट वे क्याफेका सञ्चालक चन्द्रमान आलेमगर भन्नुहुन्छ,‘ बजारको साधारण पानीलाई नै ३० रुपैयाँ पर्छ, हामीले त विदेशीलाई बेच्ने भनेर महँगोमा किनेर उच्च गुणस्तरीय पानी ल्याएर बेचेका छौं, मौकामा चौका हाने भन्ने कुरा सत्य होइन ।’
गुनासो आउन थालेपछि होटल संघ र जिल्ला प्रशासन कार्यालयले मुल्यको अनुगमनको तयारी गरिरहेका छन् ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया