अब नेपालमै अन्तरिक्ष अनुसन्धानको ढोका खुल्यो !

 बैशाख ५, २०७६ बिहिबार ९:३७:३१ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो स्याटेलाइट अर्थात भूउपग्रह प्रक्षेपण भएसँगै नेपाली वैज्ञानिक, अनुसन्धानकर्तादेखि सबै उत्साहित भएका छन् । अमेरिकाको भर्जिनियाबाट नेपाली समयअनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नानो स्याटेलाइट’ प्रक्षेपण भएको हो ।

प्रक्षेपणपछि अन्तरिक्षतर्फ गएको स्याटेलाइट एक महिनापछि ‘इन्टरनेश्नल स्पेश स्टेशन’मा पुग्नेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्र ढकालले स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण भएको पुष्टि गर्नुभयो ।

‘हामीले पनि नासाको टेलिभिजनमार्फत लाइभ हेरेका थियौं’ उहाँले भन्नुभयो, ‘नेपालको झण्डा र नास्टको लोगो अंकित स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण भएको छ ।’

जापानको क्युटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले नेपाली स्याटेलाइट निर्माण गरेका हुन् । नेपाली वैज्ञानिक मास्केको नेतृत्वमा विश्वविद्यालयको ‘बर्ड ३’ परियोजना अन्तर्गत नेपाल, श्रीलंका र जापानको गरी तीन वटा स्याटेलाइट निर्माण गरेर प्रक्षेपण गरिएको हो ।

यसको संयोजन जापानको अनुसन्धान केन्द्र ‘ज्याक्सा’ले गरेको थियो भने नासाले पनि स्याटेलाइट उडाउन अनुमति दिएको थियो । सानो क्षमताका तीन वटा स्याटेलाइट बनाउने परियोजनाको नेतृत्व क्युटेक विश्वविद्यालयमा पीएचडी गरिरहेका नेपाली वैज्ञानिक मास्केले गरेका नास्टका प्रवक्ता सुरेश ढुंगेलले बताउनुभयो ।

अन्तरिक्षमा पठाएको स्याटेलाइटले एक महिना लगाएर ‘इन्टरनेश्नल स्पेस स्टेशन’ पुगेपछि तस्बिर पठाउनेछ । ती तस्बिर सुरुमा क्युटेक विश्वविद्यालयमै रहेका मास्के नेतृत्वको वैज्ञानिकहरुले प्राप्त गर्नेछन् ।

जेठ पहिलो हप्तासम्म ललितपुरको खुमलटारमा ‘ग्राउण्ड स्टेशन’ निर्माण भएपछि नास्टकै वैज्ञानिकले पनि नेपाली स्याटेलाइटले पठाएका तस्बिर प्रत्यक्ष हेरेर अनुसन्धान गर्न सक्नेछन् ।

एउटा नेपालीको प्रयासले राष्ट्रको गौरव !  

नास्टका विज्ञान संकायका प्रमुख तथा प्रवक्ता ढुंगेलका अनुसार पीएचडीका लागि क्युटेक विश्वविद्यालय पुगेका आभाष मास्केको व्यक्तिगत प्रयासमा नेपालले आज गौरव गर्ने सफलता हात पारेको छ ।

पीएचडीका लागि जापान पुगेका मास्केले नानो स्याटेलाइट बनाउने परियोजना सुरु गर्नुभएको थियो । जसलाई सहयोग गर्न नास्टकै अर्का वैज्ञानिक हरिराम श्रेष्ठ झण्डै एक वर्षअघि मात्रै जापान पुग्नु भएको हो । यसका लागि नास्टले आर्थिक सहयोग गरेको छ ।

मास्केले सुरु गरेको ‘बर्ड ३’ परियोजनामा पहिलोपटक श्रीलंका र नेपालले स्याटेलाइट प्रक्षेपण गर्न सफल भए भने जापानले पनि आफ्नो अर्को स्याटेलाइट प्रक्षेपण गर्‍यो ।

‘एउटा व्यक्तिले गरेको कामले राष्ट्रकै गौरव हुन्छ भन्ने कुरा आज प्रमाणित भएको छ’ नास्टका प्रवक्ता ढुंगेलले बताउनुभयो, ‘मास्केबिना नेपालले पहिलो स्याटेलाइट प्रक्षेपण गर्न असम्भव थियो ।’

अन्तरिक्ष अनुसन्धानको ढोका खुल्यो 

पहिलो स्याटेलाइट प्रक्षेपण भएपछि अब नेपालमै अनुसन्धानको ढोका खुलेको छ । अहिलेसम्म विदेशीकै स्याटेलाइटले अध्ययन, अनुसन्धान र सूचना प्रविधिका काम गरेको नेपालका लागि अब आफ्नै स्याटेलाइटले पठाएका तस्बिर र सूचनाको सहायतामा अनुसन्धान गर्न सकिने नास्टले जनाएको छ ।

यद्यपी यसका लागि ग्राउण्ड स्टेशन निर्माण, उपकरण, एन्टेना, दक्ष प्राविधिक, वैज्ञानिक र ठूलो लगानी आवश्यक पर्नेछ । सरकारले आउँदो वर्षमा विज्ञान र प्रविधिका क्षेत्रमा कति बजेट छुट्याउँछ भन्ने कुरामा पनि यो निर्भर हुनेछ ।

तर नेपालको पहिलो आफ्नै स्याटेलाइट भएका कारण नासा, ज्याक्साले पनि प्रत्यक्ष सहयोग गर्ने नास्टको आशा छ । जमिनपछि आकाश अर्थात अन्तरिक्ष अनुसन्धानमा लागेको नासाले पनि अब नेपालको अनुसन्धान क्षेत्रमा प्रत्यक्ष सहयोग गर्ने विश्वासिलो उदाहरण पाएको छ ।

नेपाली वैज्ञानिक फर्काउने बाटो 

नेपालमा विज्ञान विषय पढेर विदेश हानिएका सयौँ नेपाली वैज्ञानिक अहिले अन्तर्राष्ट्रिय अनुसन्धानका क्षेत्रमा सक्रिय छन् । केही वैज्ञानिक जापानमा छन् भने केहीले अमेरिकाकै नासामा बसेर पनि अनुसन्धान गरिरहेका छन् । कतिपय नेपाली वैज्ञानिक भारत र चीनमै पनि छन् ।

मंग्रल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिक लुजेन्द्र ओझादेखि पहिलो नेपाली स्याटेलाइट निर्माण गर्ने वैज्ञानिक आभाष मास्के लगायत वैज्ञानिकलाई नेपाल फर्किने बाटो पनि अब खुलेको छ ।

स्याटेलाइटमार्फत उनीहरुले नेपालमै बसेर पनि अध्ययन अनुसन्धान गर्न सक्नेछन् । तर यसका लागि सरकारले अहिलेको तुलनामा बजेट बृद्धि गर्नुपर्ने नास्टका वैज्ञानिक ढकालको भनाइ छ ।

‘नेपाली स्याटेलाइट लञ्च गर्ने कुरा सानो होइन । त्यो पनि नेपाली वैज्ञानिकले नै बनाएको स्याटेलाइट हामीले प्रक्षेपण गर्न पाउनु झन् ठूलो कुरा हो । तर अब उनीहरुलाई नेपालमै बसेर अनुसन्धान गर्ने वातावरण हामीले बनाउन सक्नुपर्छ’ उहाँले भन्नुभयो, ‘यसका लागि पहिला त बजेट नै आवश्यक पर्छ । अहिलेको बजेट पर्याप्त छैन ।

नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा अहिले कूल बजेटको शून्य दशमलव ३ प्रतिशत मात्रै बजेट छुट्याइएको छ । स्याटेलाइट प्रक्षेपणपछि अब कम्तीमा कूल बजेटको १ प्रतिशत बृद्धि हुने नास्टका वैज्ञानिकको अपेच्छा छ ।

यसअघि नास्टले ‘वैज्ञानिक नेपाल फर्क’ अभियान चलाएपनि जम्मा ५ जनाले मात्रै आवेदन दिएका थिए । तर अब नेपाली स्याटेलाइट प्रक्षेपणपछि यसकै सहायताले स्वदेशमै बसेर पनि अन्तरिक्षको अनुसन्धान गर्न सकिने भएकाले यो अभियान प्रभावकारी हुने वैज्ञानिकहरुको विश्वास छ ।

यो पनि पढ्नुहोस् । 

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण

अन्तिम अपडेट: फागुन ३०, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया