दैलेख कारागारका बन्दीहरुलाई कदरपत्र

 बैशाख ६, २०७६ शुक्रबार २०:३७:३९ | अमर सुनार
unn.prixa.net

वैशाख -  दैलेखका कारागारका बन्दीहरुलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले कदरपत्र प्रदान गर्नुभएकाे छ ।

कारागार हाताभित्र बन्दीहरु आफैँले श्रमदान गरेर खेल मैदान, मन्दिर निर्माण, पुस्तकालय स्थापना र पर्खाल बनाएका कारण उनीहरुलाई प्रोत्साहनका लागि कदरपत्र प्रदान गरिएकाे हाे । 

गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजारमा कारागार प्रमुख जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाकाे एक लाख अनुदान तथा अन्य शुभेच्छुकहरुको सहयोग र बन्दीको श्रमदान समेत गरी करिब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदान निर्माणमा जुटेका सबै बन्दीलाई कदरपत्र दिइएको हाे । 

६ महिना लगाएर बनाइएकाे खेल मैदान र मन्दिरको शुक्रबार उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारीबाट पाएको यो कदरपत्रले कैद मिनाहा पाउने आशा पनि रहेकाे बन्दीहरुकाे धारणा थियाे। 

बन्दीहरुलाई पाँच वर्षअघि नयाँ भवनमा सारिएपछि बाहिर जिल्लाबाट आएका कैदीहरुका उच्छृंखलताले कारागारभित्र आपसमा पटकपटक कुटाकुट हुने, मानवअधिकारवादी वा अदालत तथा प्रशासनबाट कारागार अनुगमन जानेहरुसँग आक्रोस पोख्ने बन्दीहरु अहिले रचनात्मक काममा लागेपछि बन्दीहरुमा सुधार आएको छ । 

पुस्तकालय र नियमित योग अभ्यासले सकारात्मक सोच अभिवृद्धि गराएकाे र बन्दीहरु आफैँले गएको तिहारमा देउसीभैलो खेलेर मूर्ति ल्याएर पूज्ने बताएपछि मन्दिर र खेल मैदान बनाउनमा समेत सफलता मिलेको बन्दीका नाइके मानबहादुर नेपालीले बताउनुभयो ।

कारागारप्रमुख खत्रीले बन्दीहरुलाई शान्त र संयमित बनाउन स्थानीय प्रशिक्षकहरु झिकाएर बिहान व्यायाम गराउने, दिउँसो पुस्तक तथा पत्रपत्रिका पढ्ने व्यवस्था तथा सुधारगृह पुस्तकालयको स्थापना गरेपछि बन्दीहरुङ्गा सुधार आएको नागरिक समाजका संयोजक अधिवक्ता खड्गबहादुर सि‌ंजापतिको विश्लेषण छ ।    

बन्दीहरु योग अभ्यास गर्ने, भलिबल खेल्ने साथै मन्दिरमा पूजाअर्चनामा पनि लाग्ने गरेकाले उनीहरुकाे दैनिकी बदलिएपछि कैद भुक्तान गरिसकेपछि समाजमा पुनर्स्थापनाका लागि पनि सजिलो हुने जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलको विश्वास छ ।

सुधारगृह पुस्तकालय स्थापना भएकै बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले गत महिना प्रदेशका १० वटै जिल्लामा ‘कारागारलाई किताब’ अभियान सञ्चालन गरेपछि दैलेख कारागारमा किताबहरु थपिएर अहिले ८ सय ३४ वटा किताब संग्रहित भएका छन् । 

कारागार हातामा निर्मित सरस्वती मन्दिरको शुक्रबार उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्केले जेल जीवन रचनात्मक काममा उपयोग गर्न बन्दीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बन्दीलाई असल चालचलन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा उपस्थित व्यक्तिहरुले कारागार बन्दीलाई आयमूलक सीप विकास तालिम, तनाव कम गराउन मनोविमर्श सेवा र कानूनी सहायता कक्षको आवश्यकता औंल्याएका थिए। 

दैलेख कारागारमा अहिले १ सय ११ जना पुरुष, १७ महिला र एक बालिकासहित दुई वर्ष मुनिका तीन जना आश्रित बालबालिका छन् । कूल ८० जनाको क्षमता भनिए पनि १ सय २१ जना मिलिजुली बसिरहेका छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया