एकपछि अर्काे विवादमा फस्दै माथिल्लो चाकु आयोजना, कहाँ पुग्यो विस्फोटको अनुसन्धान ?

 बैशाख ६, २०७६ शुक्रबार २०:५८:४२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक –     माथिल्लो चाकु जलविद्युत आयोजना एकपछि अर्काे विवादमा फस्दै आएको  छ । 

चार जनाको  ज्यान जाने गरी विस्फोट भएको घटनापछि आयोजना थप विवादमा फसेको हो । यसअघि आयोजनाले विवादास्पद गतिविधि गर्दै आएपछि आयोजनाविरुद्ध उजुरीसमेत परेको थियो  ।

स्थानीय नागरिक भन्छन्, ‘निर्माणको पहिलो चरणदेखि नै माथिल्लो  चाकु विवादमा तानिएको छ ।’ कहिले स्थानीयसँगको सम्झौतालाइैलत्याउने त कहिले विद्युत चोरी गर्ने, आयोजनाले नै यस्तो काम गरेपछि स्थानीयले बाध्य भएर उजुरी हालेर आयोजनाको  विरोध गर्न परेको  फुर्पा शेर्पाकाे भनाइ छ । 

आयोजनामा काम गर्दै आएका चार जनाको  चैत ११ गते ज्यान गएपछि विवादमा परेको यस  आयोजनाले  विस्फोटको  घटना दबाउन पैसाको  चलखेल गरेको स्थानीयको आरोप छ । ग्यास पड्केको  भन्दै आएको  त्यस घटनालाई स्थानीयले जिलेटिन विस्फोट भएको  दाबी गरिरहेका छन् । विस्फोट भएलगत्तै घटनास्थलमा पुगेको सुरक्षा निकायले समेत त्यस  घटनालाई अहिलेसम्म पहिचान गर्न सकेको छैन् ।

घटनालगत्तै प्रहरी प्रशासनले ग्यास पड्केको भन्दै आए पनि स्थानीयले जिलेटिन विस्फोट भएको  दाबी गरेपछि अनुसन्धानको  पाटोले  फरक मोड लिएको  हो । निर्माणाधीन  माथिल्लो चाकु आयोजनाको  लापर्वाहीका कारण आयोजना निर्माण गर्दा चट्टान फुटाउन प्रयोग गरिने जिलेटिन विस्फोट भएको फुल्पिङकट्टी र मार्मिङका स्थानीयको भनाइ छ ।

घटनालाई आयोजना र सुरक्षा निकायले  फरक मोडमा लैजान थालेपछि स्थानीयहरुले  खुलेर नै  जिलेटिन पड्केको दाबी गर्न थालेका हुन् । ‘हामीलाई घाँस दाउरा गर्न जानसमेत डर लाग्ने अवस्था छ । सुरक्षा निकायले  त्यो ठाउँ सुरक्षित रहे नरहेको खोजबिन गर्नुपर्छ’, स्थानीय गोरे  शेर्पाले बताउनुभयो । 

‘खाना पकाउने  ग्यासको  सिलिण्डर पड्केको  भए ग्यासको  गन्ध आउँथ्यो । पुरै टहरो  कालो  हुन्थ्यो । वरपर त्यसको  असर पर्न जान्छ । तर त्यस ठाँउमा त्यस्तो  कुनै आधार छैन । ग्यास पड्केको कुनै  प्रमाण  र पुष्टि हुने  अवस्था रहेको  छैन । यहाँ पहिले आर्मी बसेको  थियो  । उनीहरुले  विस्फोटन हुने  बस्तुहरु छाडेर गएको  हुनसक्छ’, स्थानीय नागरिक फुर्पा शेर्पाले भन्नुभयो । 

आयाेजनामा भएकाे विस्फाेटका कारण आफ्नाे जमिनमा बस्न खतरा भएकाे भन्दै फुर्पा शेर्पाले लेखेकाे पत्र

स्थानीयले जिलेटिन विस्फोट भएको दाबी गरे पनि आयोजनाले भने स्टोरमा भएको  ग्यासको  सिलिण्डर पड्केको  बताउँदै आएको  छ ।  तर स्थानीयले भने आयोजनाले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । ‘हाम्रो  जिल्लाको  कोही परेन, कसैलाई क्षति भएन भनेर चुप लागेर बस्न हुँदैन ।  गलत काम विरुद्ध आवाज उठाउनु हाम्रो  दायित्व हो’, कामी शेर्पाले  भन्नुभयो  । स्थानीय नागरिकले लगानीकर्ताहरु घटना दबाउन प्रशासनलाई गुहार्न थालेको आरोप लगाउँछन् ।
ग्यास पड्केको  भन्दै पन्छिएको  प्रहरी प्रशासनले अहिले फरक तरिकाले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी भन्नुहुन्छ, ‘हामीले यसलाई अनुसन्धानको गम्भीर पाटोमा राखेका छौँ, ठोस रिजल्ट निकाल्नु प्रहरी प्रशासनको  दायित्व हो, त्यसैले ढिलोचाँडो यसको  रिजल्ट आउँछ ।’ उहाँले भन्नुभयो, ‘ग्यास वा जिलेटिन के पड्केको हो  अनुसन्धान जारी राखेका छौँ ।’  

‘घटनामा त्यहाँ रहेका सबैको  मृत्यु भयो । त्यसमा के कसरी भएको  हो  भन्ने बुझ्न कोही घाइते थिए भने  भन्न सकिने  अवस्था आउँथ्यो ।  तर अहिले यसै भन्न सकिने अवस्था छैन् । अनुसन्धानको  पाटो भने सुस्ताएको  छैन्’, प्रहरी उपरीक्षक मरासिनीले भन्नुभयो, ‘हामीले पनि सबै स्थलगत अनुगमन र घटनाको  प्रकृति हेरेर मात्रै सबै प्रक्रिया अघि बढाउन पर्ने हुन्छ । डीएसपीको  नेतृत्वमा टोली खटाएको  छु यसले  पक्कै निचोड निस्कन्छ’, मरासिनीले भन्नुभयो । 

विवादमा फसेको फस्यै छ आयोजना

आयोजनाले ८४ लाख रुपैयाँभन्दा बढी विद्युत चोरी गरेको रकम तिर्न पर्ने पाइएको  छ । विद्युत चोरी प्रकरणमा नेपाल विद्युत प्राधिकरणले  कारबाहीको पत्र थमाउँदै  ८४ लाख रकम तिर्न पत्र पठाएको  स्रोतले  बताएको  छ । प्राधिकरण भन्छ, ‘हामीले त्यस  आयोजनाको  लगानीकर्ता तथा जिम्मेवार व्यक्तिहरुलाई पत्र पठाएको दुई हप्ता बित्यो ।  लिखितपत्रसहित इमेलमार्फत पनि दिएका छौँ । तर अहिलेसम्म पनि चोरी गरेर उपभोग गरेको रकम तिर्न आएको  छैन ।’ प्रधिकरणका  एक कर्मचारी भन्छन्, ‘आजै मात्र त्यसैको छलफलका  लागि  काठमाण्डौ आएका छौँ । उनीहरुसँग छलफल भइरहेको छ ।’ 

प्राधिकरणको पत्रलाई समेत आयोजनाले  बेवास्ता गर्दै आएको  स्रोतको  दाबी छ  । एकपछि अर्को विवादमा पर्दै आएको माथिल्लो चाकु जलविद्युत आयोजनाका लगानीकर्ता विवादास्पद घटनालाई दबाउन मोटो रकमको  चलखेल गर्न लागि परेको स्थानीयाको आरोप छ ।

गएको वर्ष स्थानीयसगँको  सम्झौतालाई कार्यान्वयन नगरी पेलेर गएको  भन्दै स्थानीयहरुले  संर्घष समिति बनाएरजिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए । न त उनीहरुले  अहिलेसम्म स्थानीयको  माग र सम्झौताअनुसार काम गरेका छन्, न त प्राधिकरणको बक्यौता रकम तिरेका छन्  । 

दुई विवादास्पद विषय सेलाउन नपाउँदै यो घटनाले आयोजनालाई विवादमा तानिरहेको छ । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको  अनुगमन टोलीले प्रतिवेदन बनाएपछि त्यसमाथि छलफल हुन सकेको  छैन । शिवश्री हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको  आयोजना २२ मेगावाटको  हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया