भीमसेन दाहालको रगतले तताएपछिको लोकतन्त्र

 बैशाख ११, २०७६ बुधबार १२:४१:६ | सुमन गुरुङ
unn.prixa.net

कास्की – १३ वर्षअघिको त्यो जनआन्दोलन । राजतन्त्रको हटाउनुपर्छ भन्दै सडकमा नाराबाजी । 

राजधानी काठमाण्डौपछिको दोस्रो शहरको रुपमा चिनिने पोखरामा पनि आन्दोलन चर्किएको थियो । तत्कालीन सात दलले जनआन्दोलनको घोषणा गर्नु पहिले नै पोखरामा राजतन्त्रको विरुद्धमा आन्दोलन सुरु भैसकेको थियो ।

‘२४ गतेदेखि सशक्त रुपमा आन्दोलनमा लागेका थियौँ’, जनआन्दोलनका घाइते गंगाधर बरालले भन्नुभयो, ‘हामीले राजतन्त्रविरुद्धको आन्दोलनलाई दिनदिनै आक्रामक बनाउँदै लगेका थियौं ।’

२६ गते विभिन्न ठाउँबाट निस्केको जुलुस महेन्द्रपुल पुगेको थियो । महेन्द्रपुलको अहिलेको नेपाल टेलिकमको कार्यालय रहेको माथिल्लो तलामा सेना तैनाथ थिए । त्यहीबेला टेलिकम कार्यालयको झ्यालमा कसैले ढुंगा प्रहार गर्‍यो । अघिल्तिर आन्दोलनकारी र प्रहरीबीच पनि ढुंगा हानाहान भैरहेको थियो ।

‘माथिबाट सेनाले गोली प्रहार गरेछ । हामीले गोली पड्काएको आवाज पनि सुनेनौँ । किनभने हामी आन्दोलनको चर्को नाराबाजीमा थियौँ’, बरालले सम्झनुभयो, ‘एकैपटक महेन्द्रपुलको पसलको सटरतिर ड्याङ्ग हान्यो भनेर हेरेको त मेरै अगाडि पो रहेछ । यस्तो लाग्यो फर्सी लडेझैं भिमसेन दाहाजजी लड्नुभयो । उहाँको लडेको शरीर देखेर म पनि बेहोस भएछु ।’

पोखरा बस्ने काभ्रे उग्रचण्डीका भीमसेन दाहालको घटनास्थलमै ज्यान गयो । ‘त्यो सम्झिँदा अहिले पनि एकदमै नरमाइलो लाग्छ’, उहाँले भन्नुभयो । चैत २६ गते सेनाको गोली लागेर ज्यान गुमाएका भीमसेन दाहाल जनआन्दोलन ०६२/६३ का पहिलो शहीद हुनुभयो ।

पोखरामा दाहालको गोली लागेर ज्यान गएपछि उहाँको रगतले जनआन्दोलन सशक्त भएको जनआन्दोलन शहीद परिवार तथा समन्वयन समितीका पूर्व अध्यक्ष ढाकाराम पौडेलले बताउनुभयो ।  ‘आन्दोलनलाई चरमबिन्दुमा पुर्‍याउनको लागि उहाँको ठूलो योगदान छ’ उहाँले भन्नुभयो, ‘उहाँलाई गोली लाग्नुभन्दा पहिला पोखरा त्यति तातेको थिएन, अन्दोलनलाई उत्सर्गमा पुर्‍याउन उहाँको रगतले सबैलाई ततायो ।’

दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति भीमसेन दाहाल काभ्रेबाट पोखरा आउनुभएको थियो । उहाँ पोखराको सभागृहचोक होटल आनन्दको भवनमा साइबर चलाएर बस्नुहुन्थ्यो । 

पोखरा महेन्द्रपुल चोक छेउमै भीमसेन दाहालको शालिक छ । पोखरामा शहीद भिमसेन दाहाल स्मृति प्रतिष्ठान पनि गठन भएको छ । प्रतिष्ठानको अध्यक्षमा दाहालका पत्नी सविता दाहाल हुनुहुन्छ । उहाँले हरेक वर्ष चैतको २६ गते स्मृति दिवस बनाउने गरेको बताउनुभयो । ‘यो वर्ष पनि स्मृति दिवसलाई निरन्तरता दियौं’ सविताले भन्नुभयो ।

भीमसेन दाहालजस्ता शहीदको रगतले जनआन्दोलन सफल भयो । देशमा लोकतन्त्र आयो । जनआन्दोलन हुँदै लोकतन्त्र, गणतन्त्र, संविधान र संघीय सरकारसम्म आइपुग्दा देशमा धेरै परिवर्तन भएका छन् । तर जनआन्दोलनमा ज्यान गुमाएकाहरुको उचित सम्मान र सम्झना हुन नसकेको जनआन्दोलन शहीद परिवार तथा समन्वयन समितिकी सचिव विजया सुवेदीले बताउनुभयो । ‘सरकारले वैशाख ११ गते लोकतन्त्र दिवस मनाइरहँदा आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको सम्मान र सम्झनामा गरिने कार्यक्रम उदेक र उराठलाग्दो औपचारिकतामा मात्रै सीमित भएको छ’, उहाँले भन्नुभयो ।

जसको बलिदान र त्यागले राजतन्त्र हटेर लोकतन्त्र आयो, तिनै व्यक्तिहरुलाई अवमूल्यन गर्न नहुने जनआन्दोलन शहीद परिवार तथा समन्वयन समितिका पूर्व अध्यक्ष ढाकाराम पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया