‘लाल सिंह चड्ढा’ मार्फत छोरालाई ‘लञ्च’ गर्ने आमिरको सपना अधुरै, मुख्य भूमिकामा आफैँ

 बैशाख ११, २०७६ बुधबार १५:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा स्टार कलाकारहरुका सन्तानहरुले डेब्यु गर्ने सूचीमा यस वर्ष आमिर खानका छोरा जुनैद खानको नाम पनि सामेल थियो । तर बुवा आमिर खानको मापदण्डमा खरो उत्रन नसकेपछि जुनैदले बलिउड प्रवेश गर्ने मौकाबाट वञ्चित हुनुपरेको छ ।

खबरहरुका अनुसार ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मार्फत आमिर खान आफ्ना छोरा जुनैदको ‘ग्र्याण्ड लञ्चिङ्ग’ गर्ने तयारीमा थिए । यस फिल्मका लागि जुनैदलाई केही महिना ट्रेनिङ्ग पनि गराइयो । त्यसपछि फिल्मका केही दृश्यहरु पनि छायांकन गरियो ।

तर जुनैदको कामबाट आमिर खानलाई सन्तुष्टि मिलेन । जुनैदले आफ्नो तर्फबाट गर्न सक्ने सबै कोशिश गरेका थिए । तर पनि उनले बुवा आमिरको अपेक्षालाई पूरा गर्न सकेनन् ।

आमिर खानलाई लाग्यो कि छोरा जुनैदले फिल्मका मुख्य पात्र टम ह्याङ्कसको भूमिकालाई ‘लाल सिंह चड्ढा’का नायकको रुपमा पर्दामा उतार्न सक्दैनन् । आमिरले फिल्मका मुख्य पात्रमा हुनुपर्ने परिपक्वता जुनैदमा नदेखेपछि  आफैले उक्त फिल्मको मुख्य अभिनेताको भूमिका निर्वाह गर्ने निर्णय लिए ।

अब फिल्म ‘लाल सिंह चड्ढा’ मा आमिर खानले नै मुख्य अभिनेताको रुपमा काम गर्नेछन् । यतिबेला आमिर खान यस फिल्मको प्रि प्रोडक्शनको काममा व्यस्त छन् ।

आमिर खानले यस अघि एक कार्यक्रममा आफ्ना सन्तानहरु यदि फिल्ममा आउन चाहन्छन् भने उनीहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै आउन पाउने बताएका थिए । उनीनहरुले फिल्मको अडिशन दिनुपर्ने तथा स्क्रीन टेस्ट पास गर्नुपर्ने बताएका थिए ।

उनले आफ्ना सन्तानले बिना अडिशन आफ्नो होम प्रोडक्शनमा कहिले पनि प्रवेश गर्न नसक्ने बताएका थिए । यसबाहेक करण जोहरको शोमा आफ्ना छोरा जुनैद र छोरी ईरा बलिउडमा आउन इच्छुक रहेको पनि बताएका थिए ।

साथै आमिरले यदि उनीहरुमा अभिनय गर्न सक्ने क्षमता छैन वा उनीहरु योग्य नभएमा आफूले कुनै पनि किसिमको सहयोग गर्न नसक्ने बताएका थिए । जुनैद र ईरा खान आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताका सन्तान हुन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया