आठ वर्षमा पनि बनेन चार किलोमिटर सडक

 बैशाख १२, २०७६ बिहिबार १०:५४:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम – बाँफिकोट गाउँपालिका वडा नम्बर ४ नेटाबाट वडा नम्बर ५ काँडा जोड्ने सडकको लम्बाइ ४ किलोमिटर छ । यो चार किलोमिटर सडक निर्माण सुरु भएको आठ वर्ष पूरा भयो । सुन्दा अचम्म लाग्न सक्छ, यो सडक निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भने भएको छैन ।

४ किलो मिटर लम्बाईको यो सडक निर्माण थालिएको आठ वर्षसम्म पनि सडक निर्माण उपभोक्ता समितिले काम गरिरहेको छ । आर्थिक वर्ष ०६८/०६९ बाट सडक निर्माण थालिए पनि यो वर्ष सबभन्दा बढी बजेटले सडक निर्माण तथा मर्मतको कार्य भैरहेको छ । यो वर्षमात्रै नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको १२ लाख र बाँफिकोट गाउँपालिकाको ४ लाख ८६ हजार गरी १६ लाख ८६ हजार बजेटमा निर्माण र मर्मत कार्य भैरहेको छ ।

४ किलो मिटर सडक निर्माणमा अहिलेसम्म झण्डै एक करोड बजेट खर्च भएको छ । ८ वर्षको अवधिमा ८४ लाख २० हजार रुपैयाँ सडक निर्माण तथा मर्मतमा खर्च भएको पाइएको छ । आर्थिक वर्ष २०६८/०६९ मा १५ लाख बजेट छुट्याएर सडक निर्माण थालिएको थियो ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज केसीका अनुसार यस अघि बजेट पनि थोरै पर्ने र बजेटले वर्षातको पहिरो सोहोर्ने काम मात्रै हुने र नयाँ सडक बजेट अभाव हुने गरेकाले यो सडक निर्माण सम्पन्न गर्न नसकिएको हो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘यो वर्ष हामीले फेरि सडक मर्मत गर्नुनपर्ने गरी सडक मर्मत गर्ने र नयाँ सडक खन्ने योजना बनाएको बताउनुभयो ।’ यो वर्ष सडक मर्मतको साथै ६ सय ४४ मिटर नयाँ सडक पनि निर्माण हुने समितिले जनाएको छ । 

सुरुको ट्रयाक खोल्ने क्रममा प्राविधिकले नापेको भन्दा अर्के ठाउँबाट सडक बनाइएकाले समस्या भैरहेको वडा नम्बर ५ का वडाअध्यक्ष कस्तुप्रकाश दाहालले बताउनुभयो । भौगोलिक जटिलताका कारण पनि बाटो खोल्न समस्या भएको सडक निर्माण उपभोक्ता समितिको भनाइ छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया