वैशाख १२ : धादिङमा आत्तिएँ, काठमाण्डौमा रोएँ

 बैशाख १२, २०७६ बिहिबार २०:५६:४१ | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल फाेटाे

अफिसमा मेरो साप्ताहिक बिदा शुक्रबार हो । तर  २०७२ साल वैशाख ११ गतेको शुक्रबार म ग्रामीण पर्यटन सम्बर्द्धन मञ्चको कार्यक्रममा भाग लिन धादिङको सलाङ गएको थिएँ । स्थानीय बासिन्दाको न्यानो स्वागत सत्कार पाएर मन फुरुङ्ग भएको थियो । मध्यरातसम्म मारुनी र सोरठी नाचको मज्जा लिइयो । 

शनिबार बिहानै सलाङको टापुमा अवस्थित सिद्धाथानमा गएर पूजा गरियो । सिद्धथानमा पुगेर गरेको कामना पूरा हुन्छ भन्ने मान्यता रहेछ । मैले पनि आफू र परिवारमा सुख, शान्ति र समृद्धिको कामना गरें । साथीहरुको ठट्यौली पारामा हो मा हो मिलाउँदै देशमा छिट्टै संविधान बनोस भनेर समेत वर मागियो ।

बिहान ११ बजे हामी गाउँ झर्यौं । गाउँमा  काठमाडौंबाट गएका केही पत्रकार र पर्यटन व्यवसायी गरी ३६ जनाको टोलीलाई सम्मानको तयारी भैरहेको थियो । स्थानीय परिकारको साथमा पाहुनाकै लागि भनेर गाउँलेले खसी पनि ढालेका थिए । शनिबारको दिन, खसीको परिकार ।

मन निकै खुशी थियो । सलाङ गाविसको उपस्वास्थ्य चौकीको परिसरमा औपचारिक कार्यक्रम सुरु भयो । डाँडोको डिलैमा रहेको उपस्वास्थ्य चौकीको भवन पक्की थियो । भवनको माथिल्लोपट्टि समथर पाटाहरु थिए । मञ्चमा अतिथिहरु आसन ग्रहण गर्न थालेका थिए । म पनि अतिथिको सूचीमै थिएँ, तर मञ्चमा गएर बस्ने पालो आएको थिएन । 

मञ्चमा जाने पालो पर्खिरहेको बेला एक्कासि जमिन हल्लिन थाल्यो । बस्दा पनि रिंगटा लागेको जस्तो भयो । के भयो भनेर सोच्न नभ्याउँदै कसैले भन्यो, भुइँचालो आयो । त्यसपछि सबैजना उपस्वास्थ्य नजिकैका बारीका पाटामा दौडिन थाले । म पनि दौडेर बारीमा जान खोजें । तर हिँड्न सकिएन । हिँड्न नसकेपछि म चार हातखुट्टा टेकेर चौपायाले झैं घस्रन थालेँ ।

उभिएको मान्छे ढल्ने गरी जोडजोडले जमिन काँपिरहेको थियो । केटाकेटी चिच्याए । बुढाबुढी के अनर्थ हुन थाल्यो भन्दै राम राम भन्न थाले । हाम्रो कार्यक्रम गर्ने भवन हेर्दा हेर्दै चर्कियो । धादिङको यात्रा सुरु भएपछि मात्र चिनजान  गरेर साथी बनेका दाङका घनश्याम पोख्रेल पनि मलाई अँगालो मार्दै आमा आमा भनिरहेका थिए । म आफै पनि निकै आत्तिएको थिएँ ।  

केहीबेरको खैलाबैला, दौडधूप र कोकोहोलो पछि वातावरण केही शान्त भयो । त्यसपछि सबैले घरपरिवार र आफन्तको अवस्था बुझ्न मोबाइलमा फोन लगाउन थाले, तर धेरैजसोको फोन लागेन । धेरै रोइरहेका थिए । मैले पनि सबैभन्दा पहिला प्यूठानमा रहेका बुवाआमा र बहिनीको अवस्था बुझ्न फोन लगाएँ, तर फोन लागेन ।

निकैबेर प्रयास गर्दा पनि फोन लागेन । मन आत्तियो, असिनपसिन भएँ । त्यसपछि काठमाण्डौका ठूल्दाजु र  भाउजूलाई फोन गरेँ । संयोगले दाजुको फोन लाग्यो । उहाँले आत्तिएको स्वरमा भन्नुभयो, ‘हामी यता  ठिकै छौं तँ सुरक्षित हुनू ।’ अनि माइला दाजु र भाउजूलाई भक्तपुरमा फोन गरेँ । त्यहाँ पनि सुरक्षित रहेको खबर पाएँ  ।

घरपरिवारको हालखबर बुझ्न नभ्याउँदै जमिन फेरि हल्लियो ।  वातावरण झन आतंकित भयो । भूकम्पको दोस्रो झड्का पनि सानो थिएन । हाम्रो कार्यक्रम भएको उपस्वास्थ्य चौकी चर्केर भत्कन ठिक्क परिसकेको थियो । सबैले सहज अनुमान लगायौं यो भूकम्पले धेरैतिर ध्वंश गर्‍यो होला । पहाडका घर त्यहीमाथि सबै कच्चा माटो र एकसरो ढुङ्गाले बनेका ।

पक्कै गाउँका घर भत्किए होला भनेर अनुमान गर्दागर्दै खबर पनि त्यस्तै सुनिन थाले ।  धरहरा भत्कियो रे, बसन्तपुर दरवार स्क्वायर पनि ढल्यो रे, बालाजुमा दुई सय मान्छे मरे रे लगायतका अनेक खबर फैलिए । आफू बाँचे पनि धेरैको ध्यान घरपरिवारमा थियो । गाउँका बासिन्दा भने त्यति धेरै त्रसित थिएनन् । हुन पनि अचम्म भएको थियो, हामी उभिएको गाउँमा ध्वस्तै भएर एउटा घर पनि ढलेको थिएन । तर हाम्रो अवस्था देखेर गाउँका मानिस निकै आतंकित थिए । 

भुइँचालोपछि सलाङका बासिन्दाले हामीलाई खाना खान कर गरिरहेका थिए । तर कसैको पनि खाना खाने मन थिएन । मैले चाहिँ खाना खानुपर्छ भनेँ । किनकि अझै भूकम्पका झड्का आइरहेका थिए । बाटोमा आपत् पर्न सक्छ, कमसेकम टन्न खायौं भने त दुई तीन दिनसम्म बाँच्न सकिन्छ । त्यसैले हामी केही साथीले खाना खायौं । खान मन नभए पनि पेट भर्न खोज्यौं । कति साथीहरुले खानु भएन ।

सडक भत्किएको छ रे भन्ने हल्ला चलिरहँदा हामीले अन्योलकै बीच काठमाडौ फर्किन दिउँसो २ बजे सलाङको डाँडो छाड्यौं । तल सडकमा आएर रिर्जभ गरेको बस बिस्तारै ओरालो लाग्यो । जति ओरालो लाग्यो, त्यति नै क्षति देखिन थाल्यो । कच्ची बाटो छाडेर जब पक्की बाटोमा पुगियो, झन् धेरै डरलाग्दा दृश्य देखिए । बाटोमै ३ वटा शव देखिए । मानिस रोइकराई गरिरहेका थिए । हाम्रो बसको अगाडि नेपाली सेनाको गाडी थियो । भुइँचालो जानासाथ आएको पहिरोले अबरुद्ध गरेको सडक सेनाको टोली र हामीले मिलेर पञ्छायौँ । 

भूकम्पका साना झड्का आइरहेकै थिए । माथिबाट ससाना ढुङ्गाले हाम्रो गाडीलाई कति हिर्काए हिर्काए । मलेखुमा आइपुगेपछि बल्ल मन केही हलुका भयो । किनकि ३ सय पटकको प्रयासपछि मेरो घरमा फोन सम्पर्क भयो । घरमा बा, आमा बहिनी सबै ठिकै हुनुहुन्थ्यो । घर पनि चर्किएन रे । धन्य भगवान भनेँ  । भूकम्पले भत्काएका घर र सडकको कन्तविजोग हेर्दै बेलुकी साढे सात बजे काठमाडौं पुगियो । नागढुङ्गादेखि लामो जाम थियो ।

नागढुङ्गबाट कलंकी आउन १ घण्टा लाग्यो । सार्वजनिक गाडी चलेका थिएनन् ।  कलंकीबाट मेरो कोठा तीनकुनेसम्म हिँडेरै जानुपर्ने भयो । थाकेको र चिन्तित शरीर, हिँड्न त मन थिएन । तर बाध्यता थियो । धादिङबाट हिँडेदेखि दाजुसँग सम्पर्क भएको थिएन । काठमाण्डौका सारा मान्छे खालि ठाउँमा बसेकाले दाजु पनि कतै खुला ठाउँमा बस्नुभएको होला भन्ने ठानेर म हिँड्दै नयाँ बानेश्वर पुगेको थिएँ । संविधानसभा भवन सबैको लागि खुला गरिएको थियो । आकास धुम्म थियो । पानी पर्ला जस्तो थियो । राति कहाँ जाने म अन्यौलमा थिएँ ।

कोठामा जाने अवस्था थिएन । दाजु भाउजू कहाँ हुनुहुन्छ पत्तो थिएन ।  मीनभवन पुगेको थिएँ, भूकम्पको अर्को झड्का लाग्यो । साथमा कोही आफन्त थिएनन् । मन निकै आत्तियो । त्यहीबेला दाजुको फोन आयो । उहाँले भन्नुभयो ‘हामी त कीर्तिपुर जेठानकोमा आयौं, खाली ठाउँ प्रसस्त छ ।  तँ पनि आइजा ।’पानी परिरहेको छ ।  भोकै छु । रातको साढे आठ बज्यो । भूकम्पका झड्का आइरहेछन् । कोही आफन्त साथमा छैनन् । कीर्तिपुर हिँडेर जान सम्भव छैन । अत्यासले म रोएँ । 

धेरैबेर सडक विभागको पर्खालमा आड लागेर बसेँ । बानेश्वर वरपर भएका साथीलाई सम्पर्क गर्न खोजेँ, तर सम्पर्क भएन । काठमाण्डौमा आएदेखि निकै घनिष्ठ बनेको पाल्पाको साथी उपेन्द्र पाण्डेय जावलाखेलमा बस्थ्यो । उसँग मोटरसाइकल थियो । उपेन्द्रलाई फोन गरेँ । मलाइ लिन आउँछ कि भनेको छ उ पनि बिरामी रहेछ । लिन आउन सकेन । म पुरै हारिसकेको थिएँ । ठूल्दाजुसँग रिस पनि उठ्यो । आफ सुरक्षित ठाउँको खोजीमा कीर्तिपुर पुग्ने, मेरो चाहिँ ख्याल छैन । 

भक्तपुरका सडक भत्केको खबर आएको थियो । माइलो दाजुलाई फोन गरे । दाजुले भन्नुभयो, ‘नरो म जसरी पनि लिन आउँछु । जहाँ छस् त्यहीँ बस् ।’ म तिनकुनेमा बसें । एकैछिनमा माइलो दाजु मोटरसाइकल लिएर आउनुभयो । दाजु आउँदा मलाई भगवान आए जस्तो लाग्यो । तिनकुने सूर्यविनायक सडकको ठाउँ ठाउँमा अवरोध थियो । अवरोध छिचोल्दै हामी दधिकोट पुग्यौं । नयाँ र एकतले घर भएकोले दाजुको घरलाई भूकम्पले केही गरेको थिएन । खुशी लाग्यो ।

साह्रै भोक लागेकोले पहिला खाना खाएँ । दाजु भाउजूले बाहिर चौरमा पालको व्यावस्था गर्नुभएको थियो । तर म जिद्दी गरेर कोठामै सुतें । निकै थाकेकोले निदाएँ पनि । रातभर भूकम्पका झड्का आइरहे । झड्का आएको थाहा हुँदा बाहिर जान्थें, अनि फर्केर आएर सुत्थें । रातभर कम्तीमा १० पटक त बाहिर भागेँ होला । तर बिहान ३ बजेपछि भने उठेर बाहिर गइन । अर्कोदिन ७ बजे उठें  र बाहिर आएर हेरेँ शहर भूकम्पको पीडाले रोइरहेको जस्तो लाग्योे । 

अन्तिम अपडेट: असार ९, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया