प्रधानमन्त्रीज्यू ! एक पटक सार्वजनिक यातायात चढ्नुहाेस्, रेलको कुरा बिर्सनुहुन्छ

 बैशाख १४, २०७६ शनिबार १२:४:२१ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौमा बसेर सरकारका योजना, प्रतिपक्षकाधारणा र सर्वसाधारणका गुनासा समेटेर समाचार, ब्लग, लेख त थुप्रै लेखिए होलान् । पानी जहाज कार्यालयको उद्घाटन, पूर्व–पश्चिम रेलका समाचारहरुमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा जोडेर कैयौँ चोटि लेखियो होला । त्यसको हिसाबकिताबको यस सन्दर्भमा खासै अर्थ छैन ।

काठमाण्डौमा कोच्चिएर भए पनि भनेको ठाउँमा तोकेकै भाडामा पुग्न पाउँदा काठमाण्डौबाहिरको सार्वजनिक यातायातको अवस्था बिर्सिसकिएको रहेछ भन्ने तब थाहा भयो जब केही दिन अघि देशको संघीय राजधानीबाट सुदूर पश्चिम प्रदेशको यात्रामा गइयो । लामो समयपछि लामो यात्रामा गएको भए पनि यात्रामा झेल्नुपर्ने सास्तिका केही अनुभवत पहिलेदेखिकै थिए । तर यो पटक भने गोंगबु बसपार्क नकट्दै तिता अनुभवहरु सुरु भए ।

नयाँ वर्षका लागि काठमाण्डौ बाहिर जानेको भिड भएकोले गाडी पुरै भरिएको थियो । गाडीमा भित्र पसेको मात्रै के थिएँ, भित्र दुईजना यात्रु बाझाबाझ गरिरहेका थिए । बाझाबाझ हात हालाहालकै स्थितिमा पुग्ने अवस्थामा थियो । झगडाले अगाडिको बाटो छेकेको थियो भने गाडीभित्र र गाडीबाहिरका यात्रुसमेत झगडा रमिते बनेका थिए ।

एकैछिनपछि झगडाको कारण बुझ्दा थाहा भयो कि टिकट काउन्टरबाट एउटै सिटको दुईओटा टिकट काटिदिएको रहेछ । दुवै जनाले त्यो सिट आफ्नो भएको भन्दै टिकट देखाइरहेका थिए । गाडीको स्टाफ आएर निकै प्रयास गर्यो तर झगडा शान्त पार्न हम्मेहम्मे पर्यो । झगडा गर्ने यात्रुमध्ये एक जनाले गाडी साहुलाई आफ्नो पैसा फिर्ता गर्न र आफू अर्को गाडीमा जाने भने तर टिकट फिर्ता गर्दा साठी प्रतिशत मात्रै फिर्ता पाउने भनेपछि उनी चुपचाप बस्न बाध्य भए । निकै बेरको रस्साकस्सीपछि आधा बाटो एउटाले अगाडि क्याबिनमा बस्ने बाँकी बाटो अर्काले अगाडि बस्ने सहमति भयो र झगडा टुंगियो । 

बस आफ्नो गन्तव्यमा अगाडि बढ्यो । एकछिन गाडीमा गफको विषय यही बन्यो । मेरो सिट अगाडिको यात्रुसँग सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीका विषयमा कुरा गर्दै थिएँ । एकै छिनपछि म आफै झसङ्ग भएँ, जब उनको हातमा भएको टिकटमा काठमाण्डौदेखि बैतडीको देहिमाण्डौसम्मको भाडा दुई हजार तिरेको थाहा पाएँ ।  

मैले चाहिँ त्यही ठाउँ जान २ हजार ३  सय तिरेकी थिएँ । मनमा साह्रै नमज्जा लाग्यो । एकछिन रिस पनि उठ्यो । गाडी कलंकी कटिसकेको थियो । मसँग कुरा लम्ब्याउनु वा टुंग्याउनुबाहेक अरु कुनै विकल्प थिएन । थानकोटसम्म त अलिअलि रिस उठी नै राखेको थियो । थानकोटको ओरालो र मोडले टाउको दुखाएसँगै मेरो रिस पनि कम हुँदै गयो ।  

केही घण्टाको यात्रापछि खाजा खाने बेलाभयो । गाडी मुग्लिङमा रोकियो । राजमार्गमा सामानको चर्को मूल्य तिर्नुपर्छ भन्ने थाहा थियो । अरु खाजाको सट्टा चाउचाउ र जुस खाने निधो गरियो । पसलेले दुइटा चाउचाउ र दुइटा फ्रूटीको मूल्य १३० रुपैयाँ भन्दा झण्डै बेहोस नै भइएन ।

सामानको मूल्य किन यति धेरै भन्ने प्रश्नमा ‘राजमार्गमा काठमाण्डौको मूल्यमा सामान पाइँदैन लिने भए लिनुस् नत्र जानुस्’ भन्ने पसलेको ठाडो जवाफपछि मुखबाट कुनै शब्द निस्केन । भोक लागेकोले एउटा/एउटा भने लिइयो । 

अघि गाडी भाडा बढी लिएको रिसमा चाउचाउ र फ्रुटीको बढी मूल्य तिर्नुपरेको रिस थपिएपछि राति झण्डै दश बजेतिर दाङको लमही पुग्दासम्म दिमागले अरु कुनै नयाँ कुरा सोच्न सकेन । 

खाना खाने समय २५ मिनेट : भातको लाइनमा आधी घण्टा

लमही पुगेपछि गाडी रोकियो र गाडी स्टाफले खाना खान भने । गाडीबाट बाहिर निस्किँदै गर्दा गाडीको भित्तामा लेखिएको एउटा वाक्यमा मेरो आँखा पुग्यो, ‘खाना खाने समय २५ मिनेट मात्र ।’ म गाडीबाट हतारहतार निस्किएँ । गाडी रोकिएको ठाउँमा एउटा मात्रै होटल थियो । होटलमा हामी भन्दा अगाडि चार ओटा गाडी रोकिइसकेका थिए । 

खानाका लागि टोकन लिएर भित्र पसेको त मजस्तै धेरै टोकनवालाबीच धकेलाधकेल चलिराखेको रहेछ । म पनि धकेलाधकेलमा सामेल होउँ वा टोकन फिर्ता गरौँ दोधारमा परे । एकछिन पछाडि लाइनमा उभिएको मात्र के थिएँ पछाडिबाट अर्को गाडीका यात्रु होटेलभित्र पसे । त्यसपछि त्यहाँ खाना खान सकिने स्थीति देखिएन ।

म मात्र होइन मजस्ता धकेलाधकेल गर्न नसक्ने ८/१० जनाजति नै खाना खान नसकिने भन्दै टोकनको पैसा फिर्ता माग्न काउन्टरमा गयौँ । तर होटल साहू भने ढोकामा ‘स्टाफ मात्रै’ लेखिएको कोठामा गाडी साहु र चालकहरुलाई खाना खुवाउँदै रहेछन । यस्तो ठाउँमा किन रोकेको भन्दा गाडी साहुले यहाँ आजमात्रै यस्तो भएको तर अरु दिनयस्तो नभएको बताए । 

हामीले पैसा फिर्ता माग्यौँ । पहिले त होटल साहुले एकै छिनमा खाना व्यवस्था गरिदिने बताए । तर यात्रुहरुले नमानेपछि पैसा त फिर्ता दिए तर यस्ता मान्छेले किन यात्रा गर्नु भन्दै गन्थनाए । पेटले केही मागिराखेको थियो, फेरि त्यही विकल्प चाउचाउ र फ्रुटी । पछि बुझ्दा थाहा भयो हामी मात्र होइन एकपटक खाना पाएकाहरुले पनि फेरि थप्न पाएनन् । धेरै यात्रुहरु त आधा पेट खाएर निस्किए । 

अघिका यी सबै घटनाक्रमहरु हेरिसकेपछि अगाडि पछाडि सुरक्षाकर्मीसहित महंगा गाडी चढेर काठमाण्डौका कार्यक्रमहरुमा रेल र पानीजहाजका भाषण गर्ने प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई सम्झिएँ । लाग्यो उहाँहरुले देशको नेतृत्व त गर्नुभयो तर देश बुझ्न अझै बाँकी छ । देशमा हरेक दिन सवारी दुर्घटनामा कैयौँ मानिसहरुले ज्यान गुमाइरहेका छन् । कैयौँ अपांग हुन बाध्य छन् ।  

भाषणमा भनिने गरिएका रेल र पानीजहाजहरु कसका लागि ? के हामीले हाम्रा सबै सडकहरु सुरक्षित बनाइसकेका छौँ ? सडक यातायात व्यवस्थित बनाउनुतर्फ हाम्रो ध्यान जान आवश्यक छैन र ? रेल र पानीजहाजका भाषणहरु सुन्नमा रमाइला त लाग्लान् तर के सडक यातायातलाई सुरक्षित र सहज नबनाएसम्म भाषणको मिठासले नागरिकले राहत पाउलान् ? 

रेल ल्याएपछि गाडी बन्द हुने भए त अर्कै कुरा नत्र सडक यातायातको जालझेल रोक्नु पर्दैन ? यस्तै यस्तै प्रश्नले मन भारी भइरहेको थियो कतिखेर निदाएछु पत्तै भएन । तर यतिका बिघ्न समस्या देखेर सरकार चाहिँ ननिदाओस् । 
 

अन्तिम अपडेट: बैशाख २८, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया