‘ब्रम्हास्त्र’ को प्रदर्शन मिति सारियाे: सलमान खानको ‘दबंग ३’ सँग डराएर वा अरु नै कारणले?

 बैशाख १५, २०७६ आइतबार १७:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता रणबिर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रम्हास्त्र’ हेर्नका लागि दर्शकहरुले थप समय कुर्नुपर्ने भएको छ ।

फिल्मको हेभी भिएफएक्सको कामका कारण यो फिल्म यस वर्ष रिलिज हुनेछैन । फिल्मका निर्देशक अयान मुखर्जीले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष २०१९ मा रिलिज हुने भनिएको यो फिल्म अब २०२० मा मात्रै रिलिज हुनेछ । फिल्मको हेभी ग्राफिक्स र अन्य आवश्यक कुराहरुलाई ध्यानमा राख्दै अब यो फिल्म २०२० को गर्मीयाममा रिलिज गरिनेछ ।

यस जानकारीलाई ‘ब्रम्हास्त्र’ को ट्वीटर ह्याण्डल तथा फिल्मका निर्माता करण जोहरले ट्वीट मार्फत पोष्ट गरिएको छ  ।

निर्देशक अयान मुखर्जीले भनेका छन्, ‘पछिल्लो हप्तादेखि फिल्मका सम्पूर्ण टिम र भिएफएक्स टिम ग्राफिक्सको काम र साउण्डको काममा जुटेका छन्, ताकि यो फिल्म शानदार बन्न सकोस् । यही कुरालाई ध्यानमा राख्दै क्रिसमश २०१९ को रिलिज डेटलाई छोडेर हामी अगाडि बढिरहेका छौं । जसको लक्ष्य भनेको एक उत्कृष्ट फिल्मको निर्माण गर्नु हो । जसको अनुभव फिल्म ‘ब्रम्हास्त्र’ ले गराउन सकोस् । हाम्रो फिल्मको रिलिज २०२० को गर्मीयाममा सरेको छ । तर हामी फिल्मको प्रदर्शन मितिको घोषणा पछि मात्रै गर्नेछौं ।’

फिल्म ‘ब्रम्हास्त्र’ को मुख्य अभिनेता रणबिर कपूर र अभिनेत्री आलिया भट्ट हुन् । सुपरहिरोको कहानीमा बन्ने यस फिल्ममा अभिनेता अभिताभ बच्चन र मौनी रोयको पनि महत्वपूर्ण भूमिका रहनेछ । यसका साथै साउथका सुपरस्टार नागार्जुन पनि एक विशेष भूमिकामा देखिनेछन् । अयान मुखर्जीको निर्देशनमा बन्ने यस फिल्मको निर्माण करण जोहरले गर्दैछन् ।

यस अघि अभिनेता सलमान खानको सुपरहिट दबंग सिरिजको फिल्म ‘दबंग ३’ र ‘ब्रम्हास्त्र’ को प्रदर्शन मिति क्रिसमशकै अवसरमा डिसेम्बरमै राखिएको थियो । तसर्थ सलमान खानले रणबिर कपूरलाई टक्कर दिने चर्चा भइरहेका बेला ‘ब्रम्हास्त्र’ को टिमले फिल्मको प्रदर्शन मिति सारेको छ ।

यस वर्ष रिलिज भएको मल्टिस्टारर फिल्म ‘कलंक’को असफलतापछि करण जोहरले फिल्म ‘ब्रम्हास्त्र’ लाई समेत सलमान खानको ‘दबंग ३’ सँग जुधाएर नोक्सानी बेहोर्नुभन्दा फिल्मको मिति सारेर सतर्कता अपनाएको चर्चा पनि  यतिबेला भइरकेको छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया