संखुवासभामा  करेन्ट लागेर एक जनाको ज्यान गयो, ५ घाइते

 बैशाख १९, २०७६ बिहिबार १६:१५:५५ | नवीन गुरुङ
unn.prixa.net

करेन्ट लागेर घाइते भएकाहरुको खाँदबारी अस्पतालमा उपचार हुँदै

संखुवासभा –  संखुवासभाको सभापोखरी गाउँपालिका–६, स्वाचीमा विद्युत्तको करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर अन्य पाँच जना घाइते भएका छन् ।

बुधबार साँझ ७ः३० बजे अचानक विद्युत्तको झट्का लाग्दा २३ वर्षीय भूपाल विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शिवनारायण यादवले बताउनुभयो । उहाँका  सभापोखरी गाउँपालिका वडा नं.–६ का ३६ वर्षीय तारा विश्वकर्मा, १४ वर्षीया मन्जु विश्वकर्मा, ६५ वर्षीया भगवती विश्वकर्मा करेन्ट  लागेर घाइते भएका छन् ।

विद्युत्तको झट्काले उनीहरुको हातको छाला पिल्सिएकाले थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । त्यसैगरी ६० वर्षीय कुलबहादुर विश्वकर्मा, ५६ वर्षीय धनमान वनेमको अवस्था सामान्य नै रहेकाले उनीहरुको सभापोखरी गाउँपालिकामा नै रहेको बाह्रबिसे मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घरमा जडान भएको विद्युत लाइनको बत्ती बाल्ने र मोबाइल फोन चार्ज गर्ने क्रममा लागेको विद्युत्तको झट्काले एक जनाको ज्यान गएको हो । साथै पाँच जना घाइते भएको प्रहरीको भनाइ छ । विद्युत सर्ट हुँदा करेन्ट गाँउभरि नै फैलिएकाले उनीहरु घाइते भएका हुन् ।

विद्युत सर्ट कसरी गाउँभरि फैलियो भन्ने अनुसन्धान भइरहेको विद्युत वितरण शाखा कार्यालय खाँदबारीका प्रमुख ध्रुव अधिकारीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया