'दुश्मनी' बिर्सिएर एकसाथ काम गर्ने तयारीमा सलमान खान र अर्जुन कपूर !

 बैशाख २६, २०७६ बिहिबार १५:२१:५४ | एजेन्सी
unn.prixa.net

राजनीतिमा जस्तै बलिउडमा पनि मित्रता र दुश्मनी स्थायित्व रहँदैन । बलिउडमा मित्रता र सम्बन्धहरु समय, परिस्थिति र हैसियतका हिसाबले बदलिरहन्छन् । 

केही वर्षअघि एकअर्काका कट्टर दुश्मन मानिने सलमान खान र शाहरुख खान अहिले घनिष्ट साथी बनिसकेका छन् ।  खबरहरुका अनुसार, अहिले फेरि सलमानसँगको दुश्मनी बिर्सिएर फिल्म निर्माता बोनी कपूरका छोरा अर्जुन कपूर र सलमानबीचको शीतयुद्ध अब छिट्टै नै मित्रतामा बदलिँदैछ । छिट्टै नै सलमान खान र अर्जुन कपूर एकसाथ काम गर्न लागेको चर्चा चुलिएको छ । 

१४ वर्षअघिको सुपरहिट फिल्म ‘नो एन्ट्री’ को सिक्वेलमा सलमान खान र अर्जुन कपूरको एकसाथ देखिने सम्भावना रहेकाे छ । खबरहरुका अनुसार, निर्माता बोनी कपूरको यस प्रोजेक्टमा सलमान र अर्जुन एकसाथ काम गर्नेछन् । यस फिल्मको छायाँकनको काम यस वर्षको अन्त्यतिर वा अर्को वर्षको सुरुवातबाट गरिनेछ । 

फिल्म ‘नो एन्ट्री’ मा जुन भूमिका फरदीन खानले निर्वाह गरेका थिए, सो भूमिकाको लागि अर्जुन कपूरलाई कास्ट गरिनेछ । अनिल कपूरका साथै सलमान खान र अर्जुन कपूर गुरु चेलाको भूमिकामा देखिन सक्नेछन् । सलमान खान र अर्जन कपूरबीच चलिरहेको शीतयुद्ध मित्रतामा बदलिएमा दर्शकहरुलाई यो फिल्म अझै रोचक हुनेछ । 

यसकारण बिग्रिएको थियो सलमान र अर्जुनबीचको सम्बन्ध

अर्जुन कपूरलाई बलिउडमा स्थापित गराउनका लागि सलमान खानको ठूलो हात रहेको छ । अर्जुन कपूरलाई बलिउडमा ल्याउनका लागि सलमानले नै उनलाई ट्रेनिङ दिएका थिए । त्यसै क्रममा उनले सलमानकी बहिनी अर्पितालाई डेट गरे । तर त्यसको केही समयमै उनले अर्पितासँग ब्रेकअप गरे । साथै एक अनलाइन शोमा अर्पितामाथि भद्दा कमेन्ट र अश्लील जोक सुनाएका थिए । 

त्यपछि पनि सलमान खानको घरमा गएर उनका परिवारसँग घुलमिल भएर अरबाज खानसँग पनि मित्रता गाँसेर उनकी श्रीमतीसँग नजिकिएका थिए । सलमान खानले अर्जुन कपूरलाई चेतावनी दिएपछि उनी केही समयका लागि टाढिएका थिए । तर पछि मलाइकाले अरबाजसँग सम्बन्ध विच्छेद गरेर तीनै अर्जुन कपूरका साथ खुल्लमखुल्ला हिँड्न थाले । तसर्थ सलमान खान भाइ अरबाज र मलाइकाको सम्बन्ध विच्छेदको कारण अर्जुन कपूरलाई नै मान्दछन् ।

केही समय अघि सलमान खानले बोनी कपूर र अर्जुन कपूरलाई आफ्नो घर आउन नै प्रतिबन्ध लगाइदिएका थिए । अर्जुन कपूर र सलमान खानको कुनै पार्टी वा कार्यक्रममा भेट हुँदा पनि सलमान अर्जुनलाई बेवास्ता गरेर अघि बढ्थे भने अर्जुन कपूर सलमानदेखि टाढा वा त्यहाँबाट बाहिर निस्कन्थे । बोनी कपूरले एकपटक आफ्नो प्रोजेक्टका लागि सलमानसँग कुरा राख्दा पनि ठाडै अस्वीकार गरिदिएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया