शुक्रबारबाट युट्यूबमा नयाँ सिरिज ‘हजुर वरिष्ठ, हस् त नमस्ते’ !

 बैशाख २६, २०७६ बिहिबार २०:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठको उपनामबाट दर्शकमाझ चिनिएका हास्यकलाकार शंकर आचार्यले नयाँ यूट्यूब सिरिज ल्याउने भएका छन् ।

चर्चित हास्य टेलिसिरियल ‘भद्रगोल’मार्फत वरिष्ठ उपनामबाट चिनिएका शंकरले त्यही नामलाई सिरिजको शीर्षक दिएका छन् । भद्रगोलमा ‘हजुर वरिष्ठ, हस् त नमस्ते’ थेगोबाट लोकप्रिय बनेका शंकरले भोलि शुक्रबारबाट सिरिज सुरुवात गर्न लागेका हुन् ।

‘हुन त मैले त्यसभन्दा अघि अन्य धेरै भूमिका निर्वाह गरेको थिएँ, तर दर्शकले वरिष्ठेलाई नै माया दिनुभएको छ । भद्रगोलबाट बाहिरिएपछि दर्शकको चाहना अनुरुप नै मैले यो सिरिज ल्याउने निर्णय गरेको हुँ, शंकरले भने  ।

‘हजुर वरिष्ठ, हस् त नमस्ते’को हाल धमाधम छायांकन भइरहेको छ । यसअघि उनले थुप्रै टेलिचलचित्र तथा चलचित्रहरुमा काम गरिसकेका छन् । टेलिचलचित्र विषमा उनले खलपात्रको भूमिका निर्वाह गरेकाथिए । त्यस पात्रका माध्यमबाट पनि उनलाई धेरै दर्शकहरुले चिन्ने गरेका छन् ।  तर पछिल्लो केही समय भद्रगोलमा काम गर्न थालेपछि वरिष्ठेको नामबाट बढी चर्चामा आएका थिए । उनले भद्रगोलमा अभिनयसँगै निर्देशन पनि गर्दै आएका थिए।

आचार्यले आफ्नो वरिष्ठे इन्टरटेन्मेन्टको अफिसियल यूट्यूबच्यानलमार्फत हरेक शुक्रबार याे सिरिज प्रसारणा हुने जानकारी दिए । सिरिजमा आचार्यले वरिष्ठेकै भूमिका निर्वाह गरेका छन् । उनीसँगै नेपाल आइडलबाट चर्चामा आएका झक्कड थापा, मोफसलमा ‘मित्रे बा’ उपनामबाट लोकप्रिय बनेका हास्यकलाकार नवराज अधिकारी, शुशिला थापा (उर्बसी), यज्ञ बहादुर कटुवाल (चुप्पी डन) गितान्जली सुवेदी, अंकित भट्टराई, गोकुल सुबेदी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

३ हप्ताका लागि सिरिज छायांकन भइसकेको छ । सिरिज काठमाण्डौकै मुड्खु भन्ज्याङमा छायांकन गरिने आचार्यले बताए । सिरिजका लेखक, निर्देशक तथा निर्माता शंकर आँफै हुन् भने सह–निर्देशक ललित बिष्ट हुन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया