प्रभावकारी बन्दै ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’

हेटौँडा अस्पतालबाट ५ सय १४ जनाले गराए स्वास्थ्य परीक्षण

 बैशाख २७, २०७६ शुक्रबार १०:४७:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नसर्ने रोगको जोखिम न्यूनिकरण गरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गराउनका लागि प्रदेश ३ मा सुरु भएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत हेटौँडा अस्पतालमा ५ सय १४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरु गरीएको हो । 

स्वास्थ्य परीक्षण गराउने महिलाको सहभागिता उल्लेख्य रहेको पाइएको छ । गएको चैत १७ गतेदेखि वैशाख २२ गतेसम्म ३ सय ५९ जना महिला र १ सय ५५ जना पुरुषले स्वास्थ्य परीक्षण गराएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालका संयोजक सिनियर अहेब अनन्त बास्कोटाले जानकारी दिनुभयो । बास्कोटाका अनुसार सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका –१७ बाट ७२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

प्रदेश नम्बर ३ सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई नौ वटा योजना मध्य एक नमूना कार्यक्रमको रुपमा सुरु गरेको हो ।

हामी कति स्वस्थ छौं भनेर जानकारी दिनको लागि यो कार्यक्रम सत्र्चालनमा ल्याइएको हो । यो कार्यक्रममा ज्येष्ठ नागरिक पनि स्वास्थ्य परीक्षण गराउन आएका छन् । ज्येष्ठ नागरिकलाई जटिल रोग नलागेको र अस्पताल नै नपुगेकाहरुको पहिचान गरी स्वास्थ्य सेवा प्रदान गरिएको बास्कोटाले जानकारी दिनुभयो । 

प्रदेश सरकारले पाइलट प्रोजेक्टको रुपमा हेटौँडा उपमहानगर क्षेत्रमा यो सेवा सुरु गरेको हो । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सिफारिस गर्दा स्वास्थ्य परीक्षण गर्ने मितिसमेत तोकेर सिफारिस गर्ने र दैनिक ३० जनासम्मको मात्र परीक्षण गर्ने गरिएको छ ।  

 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया