बुवाको हत्यारा पत्ता नलाग्दा पीडामाथि पीडा

 बैशाख २७, २०७६ शुक्रबार १४:३९:२ | संगीता आचार्य

मेरो बुवाको हत्या भएको दुई महिना बितिसक्यो । यस बीचमा न्यायका लागि दौडिरहँदा मेरा पैताला थाकिसकेका छन् । रुँदारुँदै आँखामा आँसु सकिएको छ । न्याय देउ भन्दै कराइरहँदा आवाज सुक्न थालेको छ । तर पनि आजसम्म मैले र मेरो परिवारले अलिकति पनि न्यायको आभास गर्न पाएका छैनौँ । 

गएको फागुन १८ गते शनिबारका दिन मेरो बुवा चन्द्रप्रसाद आचार्य (जैसी) को प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरको बीच बजार बुद्धपथमा कसैले निर्ममतापूर्वक हत्या गरेको अवस्थामा बीच सडकमा शव फेला पर्यो । घटना भएको दुई महिना बितिसक्दा पनि मेरो बुवाको हत्या कसले र किन गरेको हो भन्ने कुरा हामी माझ आउन नसक्दा पीडामाथि पीडा थपिएको छ । 

४५ वर्षको उमेरमै विधवा बनेकी मेरी आमा र यो अवस्थामा हामी सन्तान टुहुरा भएका छौं । एउटा श्रीमतीको श्रीमानसँग सँगै जिउने अनेकौं सपनाहरु सिउँदोको सिन्दुर र चुरा जस्तै पुछिएका छन्, टुटेका छन् । हामी छोराछोरीका लागि सही र गलतको मार्गदर्शन दिनुहुने मार्गदर्शक, हर सुख र दुःखमा म छु त भनेर खडा हुने खम्बा भाँचिएको छ । मेरो परिवारको मुख्य बिम्ब भत्किएको छ । हाम्रो अगाडि बढ्ने खुट्टा भाँचिएको छ । यो सब हुनुको पीडामाथि हामी परिवारमा बुवाको हत्यारा पत्ता नलाग्नुको पीडा अझ बिकराल बनेर बसेको छ । 

फागुन १८ गते आफ्नो चिया नास्ता पसल (क्यान्टिन) बन्द हुने भएकोले मेरो बुवा र आमा आफन्त भेट्न भनेर बिहान १० ः ०० बजेतिर जुम्लारोडबाट निस्कनु भएको थियो । दिनभर आफन्त भेटेर दिउँसो करिब ३ बजेतिर वीरेन्द्रनगर १ बाङ्गेसिमल (मेरो मामाको घर) बाट ममीलाई तिमीलाई खासै सञ्चो पनि छैन । तिमी टेम्पोमा सिधै पसल जाउ म घरमा (वीरेन्द्रनगर १ त्रिपुरेश्वर) गएर नागरिकता लिएर भोलि बिहानको लागि पसलमा चाहिने तरकारी लिएर आउँछु तिमी रोटी तरकारी बनाएर बस्नु भन्दै आमालाई पसल पठाएर आफू घरतिर लाग्नुभयो । 

घरमा गएर नागरिकता खोज्नुभयो र आफन्तहरु भेट्दै साँझ करिब ६ बजेतिर घरबाट पसलको लागि निस्कनुभएको थियो । बाटोमा पर्ने सबै आफन्तहरुलाई भेट्दै भोलिपल्ट बिहानको लागि तरकारी किनेर निस्कँदासम्म करिब ८ : ०० बजिसकेको थियो । ८ : ०० बजेसम्म सकुशल भएका मेरो बुवा १०ः०३ मा वीरेन्द्रनगर ६ बुद्धपथमा रहेको अतिथि होटलको अगाडि मृत अवस्थामा नेपाल प्रहरीले फेला पारेको थियो ।

मेरो बुवाको हत्या नै भएको हो भन्ने विषयमा म लगायत मेरो परिवारले भोलिपल्ट १९ गते आइतबार बिहान मात्रै खबर पायौँ । म र मेरो दाजु अध्ययनको सिलसिलामा काठमाण्डौ बस्दै आइरहेका छौँ । घटना हुने दिन पनि हामी काठमाण्डौमा नै थियौं । १९ गते बिहान मामा (बलिराम अधिकारी) ले फोन गरेर बुवा आइसीयूमा हुनुहुन्छ, मैले प्लेन टिकट भनिदिएको छु, तिमीहरु तुरुन्त घरमा आउ भनेपछि मेरो दाजु र म सुर्खेत गयौँ । हामी यएरपोर्टबाट सिधै घरमा गयौँ घरमा पुग्दा आमा भावविह्वल अचेत अवस्थामा हुनुहुन्थ्यो । बेलाबेलामा मलाई र यति प्यारा छोराछोरी छोडेर कहाँ जानुभयो अब यिनले के गर्लान् मैले कसको मुख हेरौंला भन्दै भक्कानिंदै रुँदै हुनुहुन्थ्यो ।

बिरामी बुवा भेट्न गएका हामी दाजु बहिनी एकाएक टुहुरा भयौं । हामीमाथि बज्रपात पर्यो । हाम्रो खुशी एकैछिनमा सधैंका लागि खोसियो । संसार अँध्यारो भयो । हामी दिनभर ममीलाई सम्हालेर घरमै बस्यौं । साँझ करिब ५ बजेतिर मेरो बुवाको शव घरमा ल्याएर आँगनमा राखिदिए । त्यो समयमा बुवाको शव देखेर भन्दा पनि बुवाको रगताम्य अनुहार देख्दा झनै सहनै नसकिने पीडा भयो । 

त्यतिबेलासम्म कसैले पनि तेरो बुवाको कसैले हत्या गरेको हो भन्ने कुराको जानकारी दिएका थिएनन् । बुवाको टाउकोको अगाडि र पछाडिको भागमा दुईवटा गहिरो घाउ देखिन्थ्यो । चक्कु रड वा कुनै धारिलो हतियारले प्रहार गरेजस्तो देखिन्थ्यो । त्यसै दिन हतारहतार गरेर बुवाको शवलाई जलाउनको लागि आफन्तहरुले दबाव दिनुभयो । राती ११ः०० बजे बुवाको अन्त्यष्टि कार्य सकियो ।

घटना भएको तेस्रो दिनपछि मैले आफूलाई सम्हालें र न्याय खोज्न थालें । मैले आफ्नो पहुँचले भ्याएसम्म सबै ठाउँमा हारगुहार गर्न थालें । कतिपयले धेरै साथ दिनुभयो भने कतिपयले सुनेको नसुन्यै गर्नुभयो । हिन्दु परम्परा अनुसार काजकिरीया ग¥यौं । यही बीचमा बेलाबेला प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् प्रवक्ता प्रदीपकुमार क्षेत्री घरमा आउनु भयो र कसैमाथि शंका छ कि भन्दै सोध्नुहुन्थ्यो । हामीले कसैसँग केही दुश्मनी नभएको भनेपछि फर्किनुहुन्थ्यो । उहाँहरुले चिन्ता नलिनुहोस्, हामी छिटै अपराधीलाई कानुनी दायरामा ल्याउँछौं भनेर आश्वासन दिनुभयो । तर अहिलेसम्म केही भएन ।

१३ दिनको काजकिरीया सकेपछि हामी दिनहुँजसो प्रहरी प्रशासन समक्ष धाउन थाल्यौँ । प्रहरीले सधैँ एउटै जवाफ मात्रै दिइरह्यो, छिटै दोषी पत्ता लगाउँछौ भनेर । तर अझै दोषी पत्ता लागेको छैन । यसबीचमा काठमाण्डौको प्रहरी कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक लगायतका संघसंस्था पनि गुहारिसकेका छौँ ।

घटनाको ४१ औं दिनका दिन प्रदेश प्रहरीबाट प्रहरी नायब उपरीक्षक पवनकुमार भटराईसहित केन्द्रीय अनुसन्धान व्यूरोका सदस्यहरु पुग्नुभयो । अब त हत्यारा पत्ता लाग्ला कि भन्ने आश पलायो । तर त्यो आशा फेरि निराशामा बदलिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी म आज पढाई लत्याएर न्यायका लागि भौंतारीरहेकी छु । एक दिनको कक्षा छुट्दा करिब ३ नम्बर बरावरको प्रयोगात्मक नम्बर घट्छ । काठमाण्डौको शहरमा मेरो आफ्नो कोही नभए पनि मेरो बुवाको आत्मबलले म विश्वविद्यालय पढिरहकी थिएँ । घरको आर्थिक अवस्था कमजोर भएकैले मैले पार्ट टाइम जब गरेर आफ्नो पढाइ अगाडि बढाइरहेकी थिएँ । 

आज मसँग न पढाई छ, न मेरो आत्मबल बढाउने मेरो बुवा हुनुहुन्छ, न त मेरो जागिर नै । त्यसमा पनि न्यायका लागि दौडिरहँदा घाइते भएको भारी मन म भित्रभित्रै गलिसकेकी छु । मेरो बुवाको आत्मालाई शान्ति र परिवारलाई न्याय दिलाउन म मेरो पहुँचले भ्याए जति ढोकामा पुगेकी छु । तर पनि मेरो सुनुवाई भएको छैन र मैले न्याय पाउन सकेकी छैन ।

परिवार पाल्न र छोराछोरी पढाउनकै लागि अर्काको जुठो भाँडा माझेर गुजारा गर्नुभएको मेरो बुवा जो हाम्रो परिवारको एक मात्र यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसको भरमा पूरा परिवार थियो । बुवाको देहावसान भएको दिनदेखि नै परिवार तहसनहस भयो । ऋणको भार हामी पढ्दै गरेका छोराछोरीको टाउकोमा थोपरिएको छ । एक जोर लुगा र एक छाक खानकै लागि मुश्किल परिस्थितमा छौँ हामी ।

घर व्यवहार त कुनै दिन सुधार्न सकिएला । तर न्याय नपाउँदा हामी पीडामाथि पीडामा बाँच्न विवश छौँ । हत्यारा पत्ता नलाग्दासम्म मेरो मनमा संधै आत्मग्लानीको अनुभूति भइरहनेछ । मरिसकेको मेरो बुवालाई फर्काउन सक्दिनँ होला, तर उहाँको मृत आत्मालाई शान्ति मात्रै दिन सकेकी भए म छोरी भएको सार्थकता हुने थियो । म थाकेकी छैन, अझै पनि लडिरहने छु । न्यायका लागि चिच्याइरहने छु । हत्यारालाई कानुन बमोजिमको कारबाही नहुञ्जेल म अस्ताउने छैन ।

न्यायको लागि भौंतारिएका हामीलाई प्रहरी प्रशासन, सञ्चारमाध्यम, राजनैतिक दल, स्थानीय जनप्रतिनिधिहरु जसले जसरी सक्नु हुन्छ आफ्नो आफ्नो ठाउँबाट पहल गरिदिनु हुनेछ भन्नेमा विश्वस्त छौं । 

अन्तिम अपडेट: असोज १७, २०७६

तपाईको प्रतिक्रिया