'वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको छ'

 बैशाख २८, २०७६ शनिबार १८:३५:७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाउनुभएको छ ।

राजपा नेपालले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र सञ्चार क्षेत्रसमेतलाई नियन्त्रण गरेर सरकार निरंकुश बन्न खोजिरहेको तर्क दिनुभयाे ।

‘न्यायाधीश नियुक्तिदेखि न्यायालयका हरेक गतिविधिमा सरकार हस्तक्षेप गर्छ, यो राम्रो संकेत होइन’,उहाँले भन्नुभयाे, ‘पूर्वन्यायाधीशहरुको निष्कर्षले पनि न्यायपालिका ठिक ढंगले अघि नबढेको र सुधार गर्न ढिलाे भइसकेको देखाएको छ ।'

यस्तै राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान, सम्पत्ति शुद्धिकरणलगायतका अनुसन्धान गर्ने निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत पुर्‍याएर सरकारले गलत अभ्यास गरिरहेको उहाँको भनाइ छ।

मधेशी जनता माथि भइरहेको विभेद अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको र सरकार संविधान संशोधन गर्ने मानसिकतामै नरहेकाले त्यसले विखण्डनको बाटो खोल्न सक्ने जिकिर गर्दै उहाँले भन्नुभयाे, ‘विभेदले विद्रोहको जन्म दिन्छ र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुनसक्छ । त्यसैले सरकार लचक भएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नेतर्फ लाग्न जरुरी छ ।'

शनिबार भएकाे यस पत्रकार सम्मेलनमा सांसद नेत्रविक्रम साह ,राजपा नेपालका केन्द्रिय महासचिव केशब झाँ ,केन्द्रिय सह कोषाध्यक्ष गजेन्द्र मण्डल ,राजपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव, निरज मुक्ति, जिवन यादव, हरेराम यादव, नरेन्द्र यादव, मनोज झा, अमरनाथ मण्डल, जय नारायण यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया