सरकारको चरम लापरवाही: अन्तिम चरणमा पुगेको भैरहवा विमानस्थलको काम फेरि रोकियो

 बैशाख २९, २०७६ आइतबार १५:२७:२७ | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारको लापरवाहीका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम फेरि ठप्प भएको छ ।

काम गरेको रकम भुक्तानी नपाएको भन्दै चिनिया ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेड कम्पनीले आइतबार बिहानदेखि काम ठप्प पारेको नेपाल नागरिक उडड्नयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । 

‘प्राधिकरणमार्फत भुक्तानी हुनुपर्ने पैसा हामीले ठेकेदार कम्पनीलाई दिइसकेका छौं, तर एसियाली विकास बैंकमार्फत भुक्तानी गर्नुपर्ने पैसा रोकिएको छ, त्यै भएर आजदेखि ठेकेदारले काम रोकेको छ’ अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयलाई भुक्तानीको पत्र पठाएको  र अर्थले एडीबीसँग कुरा गरेको भन्ने सुनेका छौं तर भुक्तानी भएको छैन ।’

आयोजनाले एसियाली विकास बैंकबाट पाउनुपर्ने १० करोड रुपैँयाभन्दा धेरै रकम पाएको छैन । एडीबीबाट भुक्तानी नपाउँदा मुख्य ठेकेदार नर्थवेष्ट युनाइटेडले सहायक ठेकेदारलाई पनि भुक्तानी दिन सकेको छैन । 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्यै सबैभन्दा राम्रो प्रगति भएको आयोजना हो । विमानस्थलमा अब जम्मा ५ सय मिटर धावनमार्ग पिच गर्न बाँकी रहेको छ । यस्तो अवस्थामा भुक्तानी रोकिएर काम ठप्प हुँदा ठूलो असर पर्ने आयोजनाले जनाएको छ । 

रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोन लगायतका संरचनाको काम पनि ७० प्रतिशतको हाराहारीमा सकिएको छ । यहि जुन महिनामा काम सकेर सेप्टम्बरमा परीक्षण उडान गर्ने तयारी भएपनि बेलैमा काम नसकिने भएकाले सन् २०१९ भित्र भैरहवा विमानस्थल चलाउने नेपाल नागरिक उडड्यन प्राधिकरणको तयारी छ । 
विमानस्थलको लागि चाहिने सामग्रीको लागि टेन्डर आव्हान भैसकेको छ भने एअर रुटको पनि टुंगो लागेको छ  । 

‘तर यस्तो अवस्थामा विमानस्थलको काम रोकिनेगरी सरकारले बेवास्ता गर्नुले सरकार विकास निर्माणका काममा गम्भीर नभएको देखिएको छ ।’ नागरिक उडड्यन प्राधिकरणका अर्का अधिरकारीले उज्यालो अनलाइनसँग भन्नुभयाे । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • श्याम अधिकारी

    May 12, 2019, 3:56 p.m.

    ए सरकार, बाघ कराउनु, बाख्रो हराउनु भने जस्तै भयो यहाँ, सरकारको सर्बत्र बिरोध भैरहेको बेला राष्ट्रिय गौरबको योजनामा तिमी यसरी गैरजिम्मेवार देखिनु मा साँच्चै बिकास प्रती तिम्रो उदासिनता भएको त होइन?

  •  0 Reply

तपाईको प्रतिक्रिया