श्रीमानलाई कतारमा काम नपाउँदा गाह्रो, मलाई गाउँलेका कुराले साह्रो

 बैशाख २९, २०७६ आइतबार १७:४०:४८ | मेरो कथा मेरो भोगाई

संगीता ठाकुर/सुनसरी ।

म पेशाले शिक्षिक हुँ । प्राथमिक तहमा पढाउँछु । कुनै बेला परदेशीकी श्रीमती थिएँ । आज भन्दा तीन वर्षअघि मेरो श्रीमान् रोजगारीका लागि कतार जानुभएको थियो । 

भनेजस्तो काम र कमाइ नभएपछि उहाँ फर्किनुभयो । अहिले गाउँमै कपाल काट्ने काम गर्नुहुन्छ । आज त कमाइ भएन भन्दा पनि दिनको पाँच सय रुपैयाँ त हुन्छ। दुवै जनाको कमाइले घर राम्रोसँग चलेको छ । 

कमाइ मात्र भएर पनि नहुने रहेछ । घर चलाउन जान्नु पर्ने रहेछ । श्रीमान् परदेशमा हुनेले होस् या यहीँ, आम्दानी र खर्चको हिसाब राख्ने अनि बढी भएको खर्च घटाउने मात्र गरेमा पनि बचत गर्न सकिने रहेछ । 

श्रीमान् विदेश जाने बेलामा मलाई केही पनि थाहा थिएन । न कमाउने तरिका थाहा थियो न त बचत गर्ने । एकपटक परेपछि बल्ल थाहा भएको छ । श्रीमानको उता काम राम्रो भएन । यता मलाई पनि उहाँ विदेशमा हुँदा निकै गाह्रो भयो । 

बजार जाँदा पनि यसको त ‘बुढो’ विदेशमा छ । किन बजार धाएकी छ भन्थे मान्छेहरुले । बुढो विदेश हुँदा आफ्नो कामका बाहिर निस्किन पनि नहुने जस्तो थियो । मैले कति धेरै नराम्रो कुराहरु सुन्नुपर्‍यो । 

भनेअनुसारको काम नभएर कतारमा बुढोलाई गाह्रो भएको थियो । मलाई मानिसहरुले अनेक कुरा सुनाएर घरमा बस्न गाह्रो भएको थियो । 

उहाँ आएपछि अहिले त सबै राम्रोसँग चलेको छ । ऋण गरेर विदेश जानुभन्दा त यहीँ गर्न सकिने रहेछ । हाम्रो दुई छोराहरु छन् । उनीहरुलाई पढाएका छौं । दुवै जनाले मिलेर घर पनि चलाएका छौं ।

मलाई त श्रीमान् विदेश जाँदाको त्यो एक वर्ष सम्झन पनि मन लाग्दैन । त्यही भएर म त भन्छु लाख ऋण गरेर हजार कमाउन विदेश जानुभन्दा गाउँठाउँमा बसेर कमाइहुने सयमै रमाउन बेश ।

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Asharam Yadav

    May 12, 2019, 6:03 p.m.

    this is called women empower, she is brave women, her husband is luck to have such brave wife.

  •  0 Reply

तपाईको प्रतिक्रिया