मेरो भाइले कुवेत जान दलाललाई साढे सात लाख बुझायो

 बैशाख ३१, २०७६ मंगलबार १६:४१:४९ | मेरो कथा मेरो भोगाई

एकवाल अहमद, सुनसरी ।

म मदरसामा पढाउँछु । मेरो भाइ अयुव मिया भने घर बनाउने काम गथ्र्यो । गारो लगाउनेदेखि प्लास्टर गर्नेसम्मको काम गर्न जानेको छ । उसलाई इनरुवा ७ का एजेन्ट पर्वेज अलामले कुवेतबाट भिसा ल्याइदिन्छु भने ।

मेरो भाइले कुवेत जानका लागि एक पटक तीन लाख ५० हजार र एकपटक चार लाख रुपैयाँ उसलाई बुझायो । अहिले दुई महिना भयो कुवेत पुगेको । आजाद भिसामा गएकाले त्यहाँ काम मिलाउँदै छ भनेको छ । काम गर्न थालेको छैन । विदेश जान कति पैसा लाग्छ भन्ने पनि थाहा थिएन । विदेश जाने भनेपछि उसले मागे अनुसारकै पैसा दिएको हो । 

जमिन कृषि विकास बैंकमा राखेर पाँच लाख रुपैयाँ निकालेको छ । अरु पैसा सय कडा तीनको ऋण हो । बैंकको त ब्याज ठिकै हुन्छ होला । तर यहाँ साहुको ऋणको ब्याज थुप्रो भइसक्यो ।

भाइले कहिले कमाएर तिर्छ भन्ने के थाहा र ! अब जमिन बेचेर तिर्ने योजना छ । कमाउन गएको छ, कमाएर आउला । तर उसले कमाउञ्जेल त यहाँ धेरै ब्याज हुने भयो । 

पहिले त हामीलाई विदेश जान कति पैसा लाग्छ भन्ने पनि थाहा भएन । दलालले आजाद भिसामा जानका लागि अरु भिसामा भन्दा धेरै पैसा लाग्छ भन्यो । त्यही भएर त्यति धेरै रकम दिएको ।

अहिले आएर बुझ्दा त्यति धेरै रकम नचाहिने रहेछ । हामी त ठगीमा परेछौं भन्ने थाहा भएको छ । अब पैसा दिइसकियो । अर्को विकल्प पनि केही छैन । भाइले राम्रो काम पाएर कमायो भने ठिकै छ । तर कमाइ भएन  र काम पाएन भने न्याय खोज्न जान्छु ।

दलाललाई कारबाहीको माग गर्छु । पहिलो जानेको भए त यतिका पैसा फसाउन नपर्ने रहेछ नि । जानकारीको अभावमा दलालले ठगेको कुरा बल्ल थाहा भएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया