चलचित्र ‘जात्रै जात्रा’ लाई मल्टिप्लेक्समा धेरै शो

 जेठ २, २०७६ बिहिबार १७:४१:२२ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै - भोलि शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र हो जात्रै जात्रा । जात्रै जात्रालाई दाल भात तरकारीपछि यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा चलचित्रलाई पि जी सर्टिफिकेट दिएको छ । चलचित्रले यो सर्टिफिकेट पाएसँगै १६ वर्ष भन्दा तलका बालबालिकाहरुले चलचित्र हेर्न अविभावकको साथमा जानुपर्ने भएको छ । चलचित्रले पि जी सर्टिफिकेट पाए पनि देखाउन नहुने कुनै पनि दृष्य चलचित्रमा समावेश नभएको निर्देशक प्रदिप भट्टराईको भनाइ छ ।

चलचित्रले सबैजसो मल्टिप्लेक्स हलहरुमामा राम्रो शो पाएको छ । क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ । काठमाण्डौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा चलचित्र ‘जात्रै जात्रा’लाई ३ शोज दिइएको छ । चलचित्रले ललितपुरको लबिम मलमा ४ शो पाएको छ ।
यस्तै, चितवनको जलमा हलमा ३ शो, पोखराको सिनेप्लेक्समा चलचित्रले ४ शो पाएको छ । यस्तै, काठमाण्डौको बिग मुभिजले यो चलचित्रलाई ४ शो दिएको छ । 
सार्वाधिक शो पाएर खुशी भएको चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङसमेत खुल्ला गरेको छ । अग्रिम टिकट बुकिङ खुल्ला भएसँगै आफूलाई पायक पर्ने समयका लागि अनलाइनबाट नै टिकट बुकिङ गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यका साथ अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको निर्देशक प्रदिप भट्टराईले बताए ।

चलचित्र ‘जात्रै जात्रा’मा सुन पचाउन गर्नुपरेको संर्घषलाई देखाइएको छ । षट्कोण आर्टको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।  ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । चलचित्रका गीत-संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘जात्रै जात्रा’का सार्वजनिक दुई गीत ‘माया पिरिममा’ र ‘जीवन जात्रा हो’ अहिले चर्चामा छन् ।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया