न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काभ्रेपलाञ्चोक - मण्डनदेउपुर नगरपालिका-६ मा घरभित्रै मृत अवस्थामा भेटिएकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले हत्या आशंकामा पक्राउ परेका सरिताका श्रीमान २८ वर्षीय सुदिप दुलाल, जेठाजु केशव दुलाल, जेठानी संगिता दुलाल, सासु गंगा दुलाल र ससुरा पिताम्बर दुलाललाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।
बुधबार र बिहीबार भएको बहसपछि न्यायाधीश दुर्गा खड्काको इजलासले सरिता दुलालको हत्यामा पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पाँचै जनालाई पुर्पक्षमा राखी थप अनुसन्धानका गर्न आदेश दिएको श्रेस्तेदार ठाकुर त्रितालले बताउनुभयो ।
परिवारका सबै सदस्यको मिलेमत्तोमा हत्या गरिएको अभियोगमा मृतक सरिताका दाजु हिरामणि दाहालले जिल्ला प्रहरी कार्यालय काभ्रेमा दिनुभएको किटानी जाहेरीका आधारमा प्रारम्भिक अनुसन्धानबाट परिवारका सबै सदस्य दोषी देखिएपछि नियन्त्रणमा लिई थप अनुसन्धान गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट सरिताकाे घाँटी थिचेर हत्या गरिएको खुलेको छ । श्रीमान सुदिपले घाँटी थिचेर मार्न खोज्दा समेत नमरेपछि गुलेलीको रबरले थिचेर मारेको प्रारम्भिक बयान दिएका थिए । प्रहरीले घटनास्थलबाट गुलेलीसहित अन्य सामानहरु बरामद गरेको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।
घटनास्थाल र त्यस अघिका व्यहोराहरु शंकास्पद भएकाले परिवारका सबै सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको खड्काले बताउनुभयाे ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।