संगीतको भाषा हुँदैन, यो विश्व भाषा हो, संगीतको संस्कार भनेकै सात सुर हुन् : मेनुका पौडेल

 जेठ ११, २०७६ शनिबार ७:२०:१२ | दिलिप कुमार ज्याेति

 

काठमाण्डौ – रेडियो नेपालमा प्रसिद्ध कलाकारहरु जन्माउने अति नै लोकप्रिय कार्यक्रम थियो ‘प्रतिभाको डबली’ । शम्भुजित बास्कोटाजस्ता नेपाली संगीतका अग्रज व्यक्तित्वहरु यही प्रतिभाको डबलीले जन्माएका हुन् ।

वर्षैपिच्छे रेडियो नेपालले आयोजना गर्ने राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिताले पनि धेरै कलाकारहरु जन्माएका छन् । राजेशपायल राई, यम बराल, निशा देशार, सुजाता वर्मा, रोशन गुरुङलगायत नाम थप्दै जाने हो भने दर्जनौँ पुग्छन् । गीत संगीतलाई र स्रष्टालाई आम जनमानससमक्ष पुर्याउने एउटै मात्र माध्यम रेडियो नेपाल थियो त्यो समयमा । 

टेलिभिजनमा गायनको रियालिटी शोको इतिहास हेर्दा ‘तिम्रो सुर मेरो गीत‘लाई बिर्सन सकिँदैन । संगीतमा अभिरुची भएका र यसमै केही गरौ भन्ने चाहना भएकाहरुलाई रियालिटी शोले धेरै सफलता दिलाएका छन् । यस्तै सफलता चुमेकामध्ये गायक थुप्देन भुटिया यही रियालिटी शोले जन्माएको एउटा स्थापित कलाकार हुन् ।

अहिले नेपाली तारा, नेपाल आइडल र द भ्वाइस अफ् नेपाल जस्ता रियालिटी शोले धेरै स्थापित र नव प्रतिभा जन्माइसकेका छन् । दिपक लिम्बू, इन्दिरा जोशी, दुर्गा खरेल, टिका प्रसाइँ, सन्तोष लामा, धमेन्द्र सेवान, निशान भट्टराई, सी.डी. विजय अधिकारी, रवि ओडलगायत दर्जनाँै कलाकारको भिड यीनै शोहरुले एकत्रित बनाएका हुन् । 

यीनै नव प्रतिभाहरुको भिडमा एउटा नाम छ ‘मेनुका पौडेल’, जसले नेपाली गायन रियालिटी शोमा मात्र नभएर विदेशी रियालीटि शोमा समेत आफ्नो दमदार प्रस्तुति दिइन् । भारतीय च्यानल जीटीभीको अत्यन्त लोकप्रिय कार्यक्रम सारेगममा एघारौँ स्थानसम्म पुग्न सफल भएकी मेनुका, आनन्द बक्शीका शब्द, आर.डी. बर्मनको संगीत र लता मंगेशकरको श्वर समावेस चलचित्र ‘सनी’को ‘जाने क्या बात हे’ बोलको गीत गाएर एकाएक चर्चामा आएकी थिइन् ।

आफ्नै मौलिक स्वर र शैलीमा भारतीय स्वर साम्राज्ञी लता मंगेशकरको गीतलाई प्रस्तुत गरेकी मेनुकाको गायकिलाई निर्णायकहरु  शेखर रब्जीयानी, वाजिद खान, ऋचा शर्मा, सोना मोहपात्रा लगायतजुरी मेम्बरले निकै नै तारिफ गरेका थिए । सफ्ट, सेन्टिमेन्टल र क्लासिकल गीत मन पराउने मेनुकाको अर्को दमदार प्रस्तुति थियो सन् ८० को चलचित्र ‘खुबसुरत’बाट गुल्जारका शब्द, आर.डी. बर्मनको संगीत र आशा भोस्ले र अशोक कुमार को श्वर समावेस ‘पिया बाबरी’ बोलको सेमिक्लासिकल गीत ।

पञ्जाबी भाषाका गीतमा समेत आफूलाई अब्बल साबित गरेकी मेनुका भाषालाई भौगोलीक स्वरुप मात्र मान्छिन् । ‘संगीतको भाषा हुँदैन, यो विश्व भाषा हो । संगीतको संस्कार भनेकै सात सुर हुन् । भौगोलिक परिवेश, मौलिक बाजा र हाम्रा संस्कारले गर्दा मात्र संगीत देशै पिच्छे फरक हुन कि जस्तो भान परेको हो तर वास्तवमा संगीतले बोल्ने भाषा एउटै मात्र छ ।’ 

संगीतमै पीएचडी गर्ने सोच बनाएकी मेनुका अहिले अर्ग चक्रवर्तीसँग अनलाइन क्लास लिरहेकी छिी् । बलिउडका प्रसिद्ध गयक सुरेश वाडकर र उनकी पत्नी पद्माको साथमा भारतका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम गरेर फर्केकी मेनुका उनीहरुकै  विशेष सल्लाह र सहयोगमा मुम्बई युनिभर्सिटीमा संगीतको अध्ययन गर्ने तयारीमा छिन् ।                    

अन्तिम अपडेट: बैशाख ५, २०८१

दिलिप कुमार ज्याेति

ज्याेति कला मनाेरञ्जनमा कलम चलाउनुहुन्छ ।  

 

तपाईको प्रतिक्रिया