बिहेपछि भारतको कोठीमा पुर्‍याइएकी युवती नेपाल फर्किन सफल

 जेठ १२, २०७६ आइतबार ११:१३:६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – विवाहको नाटक गरेर भारतको कोठीमा पुर्याइएकी धनुषाकी एक युवती भागेर नेपाल पर्किन सफल भएकी छिन् । उनी एक महिलाको सहयोगमा भारतबाट नेपाल फर्किन सफल भएकी हुन् ।

बन्धक बनाएर नसालु पदार्थ प्रयोग गरी तथा कुटपीट गरी यौन व्यवसाय गराउँदा ती युवती बिरामीसमेत परेकी थिइन् । उनी जनकपुर अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएकी छिन् ।

चार महिना अघि बटेश्वर गाउँपालिकाकी ती युवतीलाई महोत्तरीको लोहरपट्टी नगरपालिकाका एक युवकले प्रेम जालमा फसाएर भगाएका थिए । युवतीका परिवारले खोजी गर्दा महोत्तरीका ती युवाले भगाएको पत्ता लागेको थियो । ती युवाले उनीहरु दुवै प्रेम सम्बन्धमा रहेको र युवतीसँग विवाह गरी युवतीको सम्पूर्ण जिम्मा लिने बताएका थिए ।

भगाएको डेढ महिनापछि ती युवकले आफ्नो घरपरिवारको उपस्थितिमा युवतीसँग विवाह पनि गरेका थिए । विवाहपछि युवकले युवतीलाई आफ्नो घर नलागी दुईचार दिन यताउता राखी भारतको मुजफरपुरको एक कोठीमा देहव्यापार गर्न पुर्‍याएका थिए ।

कोठीमा पुर्‍याइएकी ती युवतीलाई यौन व्यवसायमा संलग्न गराउँदा नमानेपछि नसालु सुई प्रयोग गरी हातखुट्ट बाँधेर चरम यातना समेत दिँदै आएका थिए । ‘पहिला प्रेम गर्छु भनेर भगाए । विवाहको नाटक गरी मलाई छलेर भारतमा लगेर मलाई बेचिदिए’ युवतीले आफ्नो पीडा सुनाउँदै भनिन् ‘मलाई त्यहाँ यौन व्यवसायमा जबरजस्ती पठाइन्थ्यो । मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगाइदिन्थे, चिच्याउँदा कुटपीट गर्थे र मुखमा कपडा कोचिदिन्थे ।’

कोठी नजिकैका एकजना महिलाले आफूमाथि भएको पीडा हेर्न नसकी माया लागेर नुहाइदिने वाहानामा मलाई बाहिर निकालेर घरसम्म आउन सहयोग गरेको पीडित युवतीको बताइन् ।

चरम यातना र यौन शोषणमा परेर बिरामी भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आएर अलपत्र परेकी थिइन् ।  जानकी प्रहरी चौकीले त्यहाँबाट उद्धार गरी उनका घर परिवारलाई बोलाएका थिए । 

पीडित परिवारले आफ्नो छोरीमाथि भएको यातना र यौनशोषणको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । 

युवतीले आफूलाई माया गर्छु भनेर विवाहको नाटक गरी बेच्नेलाई र उनलाई सहयोग गर्नेहरुलाई कारबाहीको लागि पहल गरिदिन गुहार पनि गरेकी छन् ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ती युवतीलाई विवाह गरेर भारत लगेर यौन व्यवसाय गराएको घटनाको छानविन गरिरहेको बताउनुभयो । उहाँले यस्ता गम्भीर प्रकृतिको अपराध गर्ने जो सुकैलाई पक्राउ गरी कडा कारबाही गर्ने र अपराधिको खोजी भैरहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया