आईसीसी विश्वकप आजदेखि, उद्घाटन खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्दै

 जेठ १६, २०७६ बिहिबार १०:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

एक दिवसीय क्रिकेटको मेगा इभेन्ट आईसीसी विश्वकप आजदेखि इंग्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । विश्वकपको उद्घाटन ओभल मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसाे सवा तीन बजे सुरु हुनेछ । 

विश्व क्रिकेटमा यी दुवै टिमलाई अभागी भनिन्छ । कहिले वर्षाले त कहिले बलिङ अनि कहिले फिल्डिङमा चुक्दा दक्षिण अफ्रिकाको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । यो पटक ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यका साथ दक्षिण अफ्रिकी टिम विश्वकपको मैदानमा उत्रिने तयारी गरिरहेको छ ।

दक्षिण अफ्रिका टिमका लागि विश्वकप सँधै नाटकीय हुँदै आएको छ । उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि यो अभागी टिमले कहिले पनि फाइनलमा स्थान बनाउन सकेन ।

यस्तै दूर्भाग्यका कारण चेकर उपनाम पाएको दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा फेरी अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमको सपना चकनाचुर भएको थियो ।

दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टिम हो इंग्ल्याण्ड । क्रिकेटको जन्म इंग्ल्याण्डमा भएको मानिन्छ । तर, जुन खेल जन्मायो त्यही खेलको सबैभन्दा ठूलो प्रतियोगिता इंग्ल्याण्डले जित्न सकेको छैन । यो पटक आफ्नो शाख जोगाउने अर्को प्रयास गर्दैछ । सन् १९७५ मा भएको क्रिकेट विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएको इंग्ल्याण्डले उपाधि भने जित्न सकेको छैन ।

इंग्ल्याण्डले चार पटक विश्वकपको आयोजना ग¥यो र तीन पटक फाइनल खेल्यो । तर यो प्रतिष्ठित ट्रफी घर भित्राउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै इंग्ल्याण्ड प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । किनभने पहिलो जितले टिमलाई ठूलो प्रोत्साहन दिनेछ ।

पहिलो म्याचमा डेल स्टेन मैदानमा उत्रिन सक्छन् वा सक्दैनन् अझ यकिन हुन सकेका छैनन् । उनी पूर्ण रुपमा फिट छैनन् । डेल स्टेन अनुपस्थित भएमा प्रशिक्षक ओटिस गिब्सनले क्रिश मोरिया वा ड्वाइने प्रिटोरियसलाई स्थान दिनेछन् । लुंगी एनगिदी र कागिसो रबाडाको उपस्थिती भने निश्चित हुनेछ ।

इंग्ल्याण्डका लागि ज्यासन रोय र जोनी बेइस्र्टोको विस्फोटक ब्याटिङ भने सुरुमै देख्न सकिनेछ । यसअघिको संस्करणमा समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्ड कप्तान इयोन मोर्गानको नेतृत्वका कारण उच्च मनोबलका साथ उत्रिनेछ । फाफ डू प्लेसीको कप्तानीले दक्षिण अफ्रिका पनि उस्तै मनोबलका साथ ओभल मैदानमा उत्रिनेछ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया