ट्याक्सीवालाले भनेको मान्ने कि नियम सम्झाउने ?

 जेठ १६, २०७६ बिहिबार १३:१८:१८ | सजना तिमल्सिना

म त्यति ट्याक्सी चढ्दिनँ । तर, कहिलेकाहीँ चढ्नै पर्ने बाध्यता पर्छ । लाग्छ अधिकांश मानिस दैनिक कामकाजका लागि भन्दा पनि कहिलेकाहीँ नै चढ्ने गर्छन्, ट्याक्सी । कतै जान हतार भए, कसैलाई अस्पतालबाट घर लानु परे वा घरबाट अस्पताल जानु परे ट्याक्सीको खोजी धेरै हुन्छ । अझ वृद्धवृद्धा र शारीरिक अपाङ्गता भएकाका लागि ट्याक्सी सबैभन्दा उपयोगी देख्छु । 

ट्याक्सी भन्ने बित्तिकै एउटा घटनाको याद आउँछ । 

हुन त मोटरसाइकल, गाडी र हवाईजहाज दुर्घटना हुन्छ भन्ने डरले कहिल्यै चढ्दिनँ भनेर काम टर्दैन । त्यस्तै जस्तोसुकै घटना भए पनि कहिलेकाहीँ ट्याक्सी पनि चढ्नु बाध्यता भइहाल्छ । त्यो घटनापछि ट्याक्सी चालकप्रतिको मेरो सोचाई भने कहिल्यै सकारात्मक बनेन ।

अहिले पनि त्यो घटना सम्झँदा मन भारी भएर आउँछ । सबैको प्रवृत्ति एउटै नहोला । तर, पनि कोही ट्याक्सी चालक देख्दा यही पो हो कि त्यो मान्छे भन्ने लाग्छ । बरु हिँडेरै जान्छु । तर ट्याक्सी चढ्दिनँ भन्ने लाग्छ । समय सधैं एउटै हुँदैन भन्दै फेरि आफ्नै काममा फर्किन्छु ।

कुरो जेठ १२ गतेको हो । बुवाले हजुरआमालाई फलोअपको लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल ल्याउनु भएको थियो । अस्पतालबाट घर लैजाने जिम्मा मेरो थियो । घरकै सिँडीमा लडेपछि अरुको साहरामा मात्र हिँड्न सक्ने भएकी हजुरआमालाई ट्याक्सीमा लैजानुको विकल्प थिएन ।

ट्याक्सी खोज्न कहाँ जाने ? सोच्दै थिएँ । अर्को बिरामीलाई लिएर बा २ ज १०३५ नम्बरको ट्याक्सी जावलाखेलमा रहेको अल्का अस्पतालको परिसरमा आइपुग्यो । रोकेँ । ट्याक्सी चालक रोकिए । ‘नखिपोट जाउँ है ?’ मैले भनेँ । चालकले हुन्छ भने ।

हजुरआमालाई ट्याक्सीमा राखेँ । ‘मिटरमा जाने हो नि ?’ सोधेँ । चालकले मौन, तर सांकेतिक ढंगले मिटरमा नजाने भाव देखाए । मैले फेरि थपेँ, ‘मिटरमा जाने भए जाने नत्र नजाने ।’ अब चालक बोले, ‘तीन सय रुपैयाँ दिनुहोस् ।’

नियम नमान्ने चालकको प्रस्ताव चित्त बुझेन । ‘हाउ मचमा हाल्दिउँ ?’, यति मात्र भनें । 

उनले तत्काल जवाफ दिए, ‘के हो हाउ मच ? म त भर्खर ट्याक्सी चलाउन थालेको मलाई त केही पनि थाहा छैन नि !’

हातैमा मोबाइल थियो । ‘हाउ मच थाहा नभए ट्राफिक प्रहरीलाई फोन गरेर भनाैँ अनि थाहा हुन्छ’, मैले भने ।

चालक पनि कड्किए, ‘त्यसो भए १० प्रतिशत बढी चाहिन्छ ।’ 

‘के को १० प्रतिशत ? मिटरमा जाने कि ट्राफिक प्रहरीलाई फोन गरौं ?’ म अलि रिसाएर बोलेँ । 

‘१० प्रतिशत भनेको सय रुपैयाँ उठ्यो भने १ सय १० रुपैयाँ हो’, चालकले रिसाउँदै भने ।

मैले निरन्तर मिटरमै जान दबाब दिएँ । चालकलाई अरु कुरा गरे ट्राफिकलाई फोन गर्ने धम्की मात्र दिएँ । 

चालकले उल्टै मलाई सोधे, ‘अघि पनि मिटर मै आएको हो ?’ 

‘हो’, भनें ।

त्यत्ति कुरा हुँदासम्म उठिसकेकी मलाई रिसाएको स्वरमा चालकले भने, ‘बस्नुहोस् ।’ उनी भुतभुताउँदै थिए, ‘गरिबले गरिखाएको देख्न पनि नसक्ने भए ।’

म हजुरआमासँगै बसेँ । ट्याक्सी अल्काबाट देब्रे मोडियो । चालक फेरि झोक्किँदै थिए, ‘मिटरको कुरा थाहा छ । १० प्रतिशतको कुरा थाहा छैन ।’

म चुप लागेँ । जावलाखेल चोकमा पुगेपछि चालकले रिसाएकै शैलीमा सोधे, ‘कुन बाटो जाने ? 

‘जुन गए पनि हुन्छ’, मैले भनेँ । 

उनले फेरि थपे, ‘तपाईंहरुले प्रयोग गर्ने छोटो बाटो होला नि ! फेरि मिटरमा धेरै पैसा उठाउन लामो बाटो ल्यायो भन्छन् ।’ 

मैले युनिटी टावरपट्टिबाट जाउँ भनें । मनमनै सोचें, अघि ट्याक्सी चलाउन थालेको भर्खर हो केही थाहा छैन भन्ने मान्छेलाई धेरै कुरा थाहा रहेछ । तर, बोलिनँ । 

जावलाखेलबाट युनिटी टावर, एकान्तकुना, महालक्ष्मीस्थान हुँदै झण्डै चार किलोमिटरको दुरीमा रहेको नखिपोट पुग्यौं । ‘कति भयो दाइ ?’ मैले सोधें । ‘१ सय ३६ रुपैयाँ’, उताबाट जवाफ आयो । ब्यागबाट १ सय ४० रुपैयाँ झिकेर ट्याक्सी चालकलाई दिए ।  ट्याक्सीबाट झरेँ । हजुरआमालाई पनि निकाले । उहाँको उभिने ताकत थिएन । अनि हजुरआमालाई लिएर घरतिर लागेँ ।

सरकारले निश्चित नियम बनाएर ट्राफिक प्रहरीले यति धेरै अभियान चालिरहँदा पनि ट्याक्सी चलाक बोल्न सक्नेलाई मात्र मिटरमा बोक्छन् । केही नबोल्नेलाई मिटरमा पुगिनेभन्दा पनि दोब्बर तेब्बर पैसा लिन्छन् । 

म सार्वजनिक गाडीमा यात्रा गर्दा होस् वा कतै पुग्दा नियमले मागेको भन्दा धेरै पैसा कतै पनि दिन्नँ । आखिर कानुनको कुरा जो छ । ट्राफिक प्रहरीले चलाएको ‘हाउ मच’ अभियानले बोल्न सक्नेलाई केही सहयोग मिलेको भान भयो । 

अन्तिम अपडेट: भदौ २२, २०७६

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया