खाली बोतलसँगै खुशी टिपिरहेका चक्रबहादुर

 जेठ १७, २०७६ शुक्रबार ११:४१:५३ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ – कैलालीको अत्तरिया बसपार्कमा गाडी रोकिने बित्तिक्कै पानी, चटपटे, गुँदपाक, फलफूल हातमा बोकेर बेच्नेहरुको तँछाडमछाड चल्छ । सामान बेच्नेको तँछाडमछाड शान्त भएपछि चक्रबहादुर चन्द बोरा लिएर पुग्नुहुन्छ । गाडीबाट यात्रुले पानी पिएर फालेका प्लाष्टिकका बोतल टपाटप टिप्नुहुन्छ र काँधमा झुण्ड्याएको बोरामा राख्नुहुन्छ ।

नजिकको चिया पसलमा बोरा बिसाउनुहुन्छ । र अरु वरपर अरु बोतल नदेखिएसम्म चिनेजानेका मानिससँगै भलाकुसारी गर्दै बस्नुहुन्छ । फेरि पनि बोतलहरु टिप्नुहुन्छ  र काँधको बोरा भरेर फर्किनुहुन्छ । 

बोतल टिप्दा उहाँको अनुहारको चमक देख्दा लाग्छ कि उहाँले प्लाष्टिकका खाली बोतल होइन, खुशी टिपिरहनुभएको छ ।  उहाँको सफा कपडा, हँसिलो अनुहार र खाइलाग्दो शरीर देख्ने जो कोहीले उहाँलाई प्लाष्टिकका बोतल संकलन गर्नुहुन्छ भन्ने ठान्दैनन् । तर हरेक दिन अत्तरिया बसपार्कमा फालेका बोतल संकलन गर्नु उहाँको दैनिकी हो वा भनाैँ उहाँको वर्षौँदेखिको जागिर नै यही हो । 

यही बोतल संकलन गरी बेचेर उहाँले राम्रो आम्दानी गरिरहनुभएको छ । यति मात्र होइन उहाँले यही काम गरेर दुई छोरालाई नेपाल प्रहरी र एउटा छोरालाई व्यवसायी समेत बनाइसक्नुभएको छ । ६७ वर्षका चन्दलाई यसरी बोतल संकलन गर्नु सुरुका दिनमा बाध्यता नै भए पनि अहिले भने कुनै बाध्यता छैन  । 

अहिले अत्तरिया बजारमा घर बनिसक्यो । परिवारमा भनेजस्तो भएको छ, तै पनि उहाँले पुरानो कामलाई निरन्तरता दिइ नै रहनुभएको छ । 

दश वर्षे द्वन्द्वमा घर कब्जा भएपछि पीडा

देशमा चलेको १० वर्ष लामो माओवादी द्वन्द्व चक्रबहादुरको लागि पनि जीवनको सबैभन्दा पीडादायी समय रह्यो । द्वन्द्वमा घर लुटियो । मानसिक र शारीरिक कष्ट भोग्नुपर्‍यो । परिवारले पीडा र त्रासमा बाँच्नुपर्यो । त्यतिखेर जीवन बाँकी रहला र खुशी फर्किएला भन्ने आशा नै  थिएन । लामो सास फेर्दै उहाँ भन्नुहुन्छ ‘जे होस् देशको मुहारमा खुशी फर्किएजस्तै मेरो मुहारमा पनि फेरि खुशी फर्कियो ।’ 

दुःखपछि सुख पाइन्छ भनेझैं उहाँ पनि जीवनका सुरुवाती दिनमा थुप्रै सघंर्षका पहाडसँग ठोक्किन पुग्नुभयो । तर ती संघर्षका पहाडले टुक्र्याउन भने सकेन । बरु त्यो संघर्षको कठोर बाटाहरु पार गर्दै आजको दिनसम्म आइपुग्नुभयो । 

केही समय पैसाको पनि अभाव भयो । तर तराइ झरेर बोतल संकलन गर्ने काम थालेपछि केही सहज भयो । बोतल संकलन गरेर हातमुख मात्र जोर्नु भएन, बरु त्यसै कामबाट कमाएको पैसाले छोराहरुलाई पढाएर आफ्नो खुट्टामा उभिन सिकाउनुभयो । केही दिन दुःख झेल्नु परे पनि दुःख र आँसुले काम गर्ने बाटो भने छेक्न सकेन । 
 
‘मान्छे भोकबाट र चरो रुखबाट नमर्ने रहेछ’

स्कुल, कलेज पढ्ने अवसर नपाएका चन्दको तार्किक क्षमता हेर्दा कुनै विश्वविद्यालयबाट डिग्री लिएको भन्दा कम लाग्दैन । उहाँको बोल्ने शैली र मिजासप्रति जोकोही सहजै आकर्षित हुन सक्छन् । कुराकानीकै क्रममा उहाँले आफ्नो विगत सम्झँदै भन्नुभयो, ‘मेहनत गर्यो भने मान्छे भोकबाट र चरो रुखबाट नमर्ने रहेछ ।’

अल्छीलाई भगवानले पनि साथ दिँदैनन् र जाँगरिलाको साथ कहिल्यै छाड्दैनन् भन्ने कुरा आफ्नो जीवन भोगाइले पाठ पढाएको उहाँको भनाइ छ । २४ घण्टा फुर्सद नहुने भगवान बन्न नसके पनि जीवनमा केही न केही गरिरहने असल मानव बन्न सके भोको र नांगो बस्न नपर्ने उहाँको तर्क छ । काम पाइएन भन्नु अल्छीको थेगो भएको भन्दै उहाँले अल्छी भन्ने कुरालाई मनबाट निकालेर फाल्न सुझाव दिनुभयो । आफ्नो हात पाखुरी चलुञ्जेल कसैसँग मागेर नखाने उहाँको अठोट छ ।  

लाज मानेर काज पुग्दैन 

अत्तरिया बसपार्कबाट नै महेन्द्रनगर, डोटी, बैतडी र डडेल्धुरा जाने गाडी छुट्छन् । कयौँ पटक त्यही बाटो भएर उहाँका साथीभाइ, आफन्त  हिँडे पनि  कतिपयले नचिनेझैँ गरी हिँड्ने गरेको उहाँ बताउनुहुन्छ । तर सानो काम गरेको भन्दै आफूलाई नबोलाएकोमा र बोलाउँदा पनि नबोल्ने साथीहरुप्रति उहाँको गुनासो छैन  । आफ्नो कामप्रति उच्च सम्मान छ ।

उहाँलाई आफूले गर्ने काम कहिल्यै सानो लागेन । कहिल्यै लज्जाको महसुस भएन । उहाँ सँधै अडिग र आत्मसन्तुष्टीका साथ अगाडि बढ्नुभयो । उहाँ भन्नुहुन्छ, ‘गरिखान के को लाज ?’ लाज मानेर काज नपुग्ने उहाँ बताउनुहुन्छ । 

बोतल बेचेर उहाँले दैनिक ६ सयदेखि आठ सय रुपैयाँसम्म कमाउनुहुन्छ ।  बढी कमाइ भएको दिन श्रीमती र नातिनातिनीलाई मिठाइ र फलफूल किनेर लगिदिनुहुन्छ । 

सकुञ्जेल निरन्तरता दिने

जीवनको आधा शतकभन्दा पनि बढि समय बिताइसकेका चन्दको काम गर्ने तरिका र जाँगर हेर्दा उहाँ भर्खरै ३०, ३५ वर्षको युवा जस्तो देखिनुहुन्छ । अब त र भनेजस्तो भयो घरमै आराम गरेर बस्दा हुँदैन  ? भन्ने प्रश्नमा उहाँले हातगोडा लागुञ्जेल बसेर नखाने बताउनुभयो । 

‘मान्छे अल्छी भएर काम नगरेर अहिले अनेकौँ रोग लाग्यो भन्छन् । अस्पताल जान्छन् । तर मैले अहिलेसम्म आफूले एउटा पनि एन्टिबायोटिक औषधी खान परेको छैन’ उहाँले भन्नुभयो । उहाँ आफूलाई सरकारले भत्ता देला र खाउँला भन्ने आशा नभएको बताउनुहुन्छ ।  आर्थिक अवस्था कमजोर भएका परिवारलाई भत्ता दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

उहाँलाई छोरा बुहारीले ‘अब त आराम गर्नुहोस् बुढेसकालमा त बसीबसी खानपर्छ’ भन्छन् । तर उहाँ आफूलाई बसीबसी खानुभन्दन काममै रमाइलो लाग्ने बताउनुहुन्छ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया