खुम्बु पासाङल्हामु गाउँपालिका पर्यटकीय गाउँपालिका घोषित

 जेठ १७, २०७६ शुक्रबार २०:५५:४९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ ।

प्रदेश नम्बर १ को आर्थिक वर्ष २०७६-७६ को बजेट वक्तव्यमा घोषणा गरे बमोजिम गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणासहित ५० लाख रुपैयाँ प्रदान गरिएको छ ।

शुक्रबार विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिम दोर्जि शेर्पालाई पर्यटकीय गाउँ पालिकाको प्रमाण पत्र र चेक हस्तान्तरण गर्नुभएकाे हाे । नेपाललाई विश्वमा परिचित गराएको सगरमाथा रहेकाे खुम्बु पासाङल्हामु गाउँपालिकाले नेपालको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्य मन्त्री राईले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जि शेर्पाले खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्ने प्रदेश सरकारको निर्णयले समग्र देशकै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेकोमा खुम्बु पासाङल्हामु गाउँपालिकाले मुख्यमन्त्री शेरधन राई, प्रदेश सभा संसद एवं नेकपा प्रदेश नं १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगायत प्रदेश सांसद एवं सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया