शान्ति ठटालका सृजनाले घन्कियो ‘आर’शाला

 जेठ १८, २०७६ शनिबार १८:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन् ।

कालिकास्थानमा रहेकाे नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि प्राय बर्सेनि पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालिको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन् । साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका थिए ।

कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले सञ्चालन गरेका थिए । आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए । आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालती फूलसँग तुलना गर्दै ठटाललाई ‘संगीत-मल्लिका’को विशेषणले सम्बाेधन गरेका थिए ।

कार्यक्रमको थालनी भजनबाट भएको थियो । भजनपछि नेपाली आधुनिक गीत लेखनका प्रणेता रत्न शमशेर थापाद्वारा रचित तीनवटा गीत प्रस्तुत भएका थिए । गायिका बिमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन् । अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन् ।

कार्यक्रममा शान्ति ठटालले तीन हप्ता पहिले काठमाण्डौ भित्रिएर सृजना गरेको सबैभन्दा कान्छो संगीत पनि प्रस्तुत भएको थियो । शान्ति ठटालले प्रशंसकहरूको अनुरोधका कारण उनले ‘नझार आँखाबाट कसैका प्रीतहरू’ बाेलकाे गीत पनि गाइन् । । 

शशी ठटालले लेखेकाे गीत ‘मायालुले सम्झे कि कसो’ प्रस्तुत गरेर टुंगिएकाे कार्यक्रममा आउँदाे पलेँटीमा शान्ति ठटालले नै धुन भरेको महाकवि देवकोटाको कृति ‘मुनामदन’ प्रस्तुत हुने जानकारी पनि गराइएको थियो ।

शान्ति ठटालसँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया