करण र आदित्यले मेरा सारा सपना पूरा गरिदिए : शाहरुख खान

 जेठ २१, २०७६ मंगलबार १३:२९:३५ | एजेन्सी
unn.prixa.net

बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानले फिल्म निर्माता करण जोहर र आदित्य चोपडाले आफ्नो सारा सपना पूरा गरिदिएको बताएका छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा करण र आदित्यको फोटो कोलाज शेयर गर्दै भावुक पोस्ट शेयर गरेका छन् । 

 

शाहरुखले लेखेका छन्, ‘सपना देख्नु राम्रो कुरा हो । तर यदि ती सपनालाई उचित मार्गदर्शन मिलेन भने ती सपनाको कुनै अर्थ रहँदैन । यी दुई जनाले भने मेरा हरेक सपना पूरा गरिदिए । म यो कुरा यस कारण भनिरहेको छु किनकी तपाईँलाई थाहा हुनु पर्छ की आफ्नो सपनाभन्दा पनि जरुरी ती हुन्छन् जसले ती सपना तपाईँका लागि पूरा गरिदिन्छन् ।’ 

शाहरुख खानले करण जोहरका साथ फिल्म ‘कभी खुशी कभी गम’, ‘कुछ कुछ होता हे’, ‘माई नेम इज खान’ लगायत कयौं फिल्ममा काम गरेका छन् । साथै आदित्य चोपडासँग फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’, ‘जब तक हे जान’, ‘वीर जारा’ र ‘रब ने बना दी जोडी’ जस्ता फिल्ममा काम गरेका छन् । शाहरुख खानलाई बलिउडमा रोमान्टिक हिरोका रुपमा स्थापित गराउने श्रेय यी दुवै फिल्म निर्माताहरुलाई जान्छ । 

शाहरुख खान पछिल्लो पटक आनन्द एल रायको फिल्म ‘जीरो’ मार्फत दर्शकमाझ आएका थिए । तर यस फिल्मले बक्स अफिसमा सफलता हासिल गर्न सकेन ।

खबरहरुका अनुसार अब शाहरुख खान सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन अभिनित फिल्म ‘सत्ते पे सत्ता’ मा अभिनय गर्न सक्ने चर्चा रहेको छ । यस फिल्मको निर्देशन फराह खानले गर्नेछिन भने रोहित शेट्टीले निर्माण गर्नेछन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया