'भारत' सलमान खानको ‘लाइफलाइन’

 जेठ २२, २०७६ बुधबार १३:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता सलमान खान र कट्रिना कैफ अभिनित चलचित्र ‘भारत’ बुधबार नै रिलिज भइसकेको छ । निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यो चलचित्रलाई हिन्दी भाषाका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज गरिएको छ । 

सलमान खानको मुख्य भूमिका रहेको चलचित्रमा कट्रिना कैफ र दिशा पाटनीको पनि महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रमा अभिनेता ज्याकी श्राफले सलमान खानका पिताको भूमिकामा देखिएका छन् । त्यस्तै हास्य कलाकार सुनील ग्रोवर पनि मुख्य भूमिकामा देखिएका छन् । 

इदको अवसरमा रिलिज गरिएको सलमान खानको चलचित्र ‘भारतीय’ बक्स अफिसमा सुपरहिट हुने दाबी धेरैले गरिरहेका छन् । सलमान खानका फ्यानहरु बुधबार बिहानैदेखि ‘भारत’ चलचित्र हेर्न हलसम्म पुगिसकेका थिए । साथै सामाजिक सञ्जालमा पनि फिल्मको प्रतिक्रिया पनि आइरहेका छन् । 

भारतीय चर्चित चलचित्र समीक्षक तरण आदर्शले ‘भारत’ लाई पाँचमध्ये चार स्टार दिँदै चलचित्र निकै शानदार भएको बताइसकेका छन् । साथै उनले यो फिल्मलाई सलमान खानको ‘लाइफलाइन’ भनेका छन् । ‘यो फिल्म एक व्यक्तिको भावुक यात्रा हो, जसले तपाईँको मनलाई जित्नेछ,’ उनले भनेका छन् ।  

यस्तै बलिउड हंगामाले फिल्म भारत लाई पाँचमध्ये ४.५ स्टार दिँदै सलमान खानको यो फिल्म ‘सुपर इन्टरटेनर’ रहेको बताउँदै सलमान खानको तारिफ गरेको छ ।

सामाजिक सञ्जालमा दर्शकहरुले समेत फिल्म 'भारत’ को निकै चर्चा गरिरहेका छन् । धेरैले सलमान खान, कट्रिना कैफ, सुनील ग्रोवरको अभिनयको तारिफ गरिरहेका छन् । साथै निर्देशक अली अब्बास जफरले एक उत्कृष्ट फिल्म निर्माण गरेको भन्दै उनको कामको पनि सराहना भैरहेको छ । 

यसले गर्दा पनि सलमान खानको यो चलचित्रले बलिउड फिल्म उद्योगमा नयाँ कीर्तिमान राख्ने अनुमान गर्न सकिन्छ । त्यस्तै चलचित्र ‘भारत’ वर्ष २०१९ को सबैभन्दा ठूलो ‘ओपनर’ बन्ने पनि चर्चा भैरहेको छ । 

चलचित्र ‘भारत’ मा सन् १९४७ देखि २०१० सम्मको कहानी देखाइएको छ । यो चलचित्रमा सलमान खान पाँच भिन्न-भिन्न भूमिकामा देखिएका छन् । साथै उनले यो चलचित्रमा एक बूढो व्यक्तिको भूमिका पनि निर्वाह गरेका छन् । 

इदको अवसर पारेर रिलिज गरिएका सलमान खान अभिनित यस अघिका चलचित्रहरुले समेत कीर्तिमान कायम गरेका थिए । सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ ले इदकै दिन ४०.३ करोड भारु, यसैगरी फिल्म ‘सुल्तानले ३४.१ करोड भारु, एक था टाइगरले ३२.९२ करोड भारु र रेस ३ ले २९.१ करोड भारतीय रुपैयाँ कमाएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया