‘छाेरीले भनिन् : राजेश हमाल भन्ने मान्छे को हो ? मलाई भेटाइदिनुस्, म पिट्छु'

 जेठ २२, २०७६ बुधबार २०:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुशील पोखरेल नेपाली सिनेक्षेत्रमा चर्चित अनुहार हो । विशेष गरी खलपात्रको भूमिकामा राम्रै प्रभाव पारेका पोखरेल पर्दामा जति गरम देखिन्छन्, वास्तविक जीवनमा त्योभन्दा धेरै सरल र नरम छन् । 

पछिल्लो समय ढाड र खुट्टामा आएको समस्याका कारण सिनेमा क्षेत्रमा पहिलेजस्तो सक्रिय नभए पनि बेलाबखतमा उनी सिनेमामा आइरहेका हुन्छन् । ललितपुरको लुभुमा जन्मेका पोखरेल उमेरले ५० को हाराहारीमा पुगे भने उनका दुई छोरी पनि रहेका छन् ।

पोखरेलको बाल्यकाल ललितपुरको लामाटार गाउँमा बित्यो । त्यहाँ कुदेको, पिङ खेलेको, काफल खानलाई डाँडा दौडेको सम्झिँदा उनलाई अहिले पनि त्यहाँ जान मन लागिरहन्छ । उनी बाल्यकालमा अत्यन्तै लजालु र अन्तरमुखी स्वभावका थिए । कोहीसँग बोल्न परे मरेतुल्य नै हुन्थे । 

हत्तपत्त काम बिगार्ने, फटाहा गतिविधिभन्दा पनि उनी आफैमा रमाउने गर्थे । तर सानोमा घरमा राखेको दूध, दही र घिउ चोरेर, लुकेर खान्थे । ‘हाम्रो घरमा दूध पकाएर चुल्होमाथि भाँडोमा राख्नु हुन्थ्यो । म भने पछाडि पट्टीबाट गहुँको छवालीबाट सुइँ सुइँतानेर खान्थेँ । अहिले त एक्ले त्यस्तो शारीरिक जोश अलि नआउँदो रहेछ । त्यो बेलाको माहोल बेग्लै हुने रहेछ,’ बाल्यकाल स्मरण गर्दै पोखरेलले भने । 

१० कक्षा सम्म सातवटा स्कुल 

पोखरेलका बुबा भूमि प्रशासन कार्यालयमा अधिकृत थिए । बुबाको जागिरको कारणले धेरै ठाँउमा सिफ्ट हुनुपर्थ्याे । एकदेखि १० कक्षा पढ्दासम्म उनले सातवटा स्कुल फेरेका थिए । सायद त्यसैले गर्दा होला, उनले मन मिल्ने स्कुले साथी बनाउनै सकेनन् । उनको साथी भनेकै उनका दाइ थिए । जहाँ जादाँ, जे गर्दा पनि दाजुभाइ सँगै जाने गर्थे । 

पोष्टर हेरेर कलाकार बन्ने इच्छा 

पोखरेल सानो छँदादेखि नै सिनेमा एकदमै हेर्ने गर्थे । बिदाको दिन भयो कि घरमा झगडा गरेर हुन्छ कि, के गरेर हुन्छ, सिनेमा हेर्न गई हाल्थे । सिनेमा नहेरे पनि सिनेमाको पोष्टर मात्र हेरेर आनन्द लिने गर्थे ।

पोष्टर हेरेरै उनले कलाकार बन्ने निधो गरेका थिए । सिनेमा क्षेत्र वा नाटक क्षेत्रमा कोही चिनेको मान्छे थिएन । प्लस टु गरेपछि खाली भएको बेलामा गाँउमा केही गरौँ भनेर साथीभाइसँग सल्लाह गरे । उनले साथीलाई नाटक देखाउने भनेर प्रस्ताव राखे । त्यही प्रस्तावअनुसार, उनीहरुले ‘राँको’ नामक नाटक देखाउने निधो गरे । 

तर, त्यो नाटकमा खेल्ने महिला पात्र कोही भएन । महिला केहि नपाएपछि महिला कलाकार बिना कै नाटक लेखे । त्यस नाटकको निर्देशन पनि उनी अफैले गरेका थिए । उनले निर्देशन गरेको पहिलो नाटक नै सफल भयो । सबैले उनको अभिनय र निर्देशकीय क्षमताको प्रशंसा गरे । त्यसबेला उनले आफूलाई कलाकार भएको महसुस गरे ।

दाइको कमाइले कलाकार

सिने क्षेत्रमा आउनको लागि उनका सबै ढोकाहरु बिस्तारै आफैँ खुल्दै गए । सबैले उनलाई यसै क्षेत्रमा लाग प्रेरित गर्ने गर्थे । तर, यो क्षेत्रमा उनले चिनेको कोही पनि थिएन । कता लाग्ने टुङ्गो नभएपछि अन्ततः उनले बि.एस.सी. पढ्न थाले तर त्यसमा उनको कुनै लक्ष्य थिएन । एउटा नाटक गरे । त्यही पनि कतै लिक हुन्छ कि भन्ने सोचिरहन्थे । त्यो बेलामा उनको मूल काम भनेको पढ्ने नै थियो । तर विभिन्न कारणले त्यस समय  तीन चार महिना कलेज जान सकेनन् । 

बीचमा फेरी बि.एस.सी. छोडेर आर्टस् पढ्न थाले । त्यही बीचमा एकातिर एक्टिङ्ग सिकाउने ट्रेनिङ्ग सेन्टर खुल्यो ।  आफूलाई यही बाटो ठिक छ भन्ने लागेर भर्ना गर्छु भन्ने सोचे तर भर्ना गर्न पैसा थिएन । त्यो बेलामा उनका दाइले आफ्नो पहिलो कमाइ ल्याएर उनलाई दिएका थिए । त्यो पैसाले हरिहर शर्मासँग नाटक सिक्न सुरु गरे ।  निरन्तर सिकाइ र मेहनतले अन्ततः उनलाई कलाकार बनाएर नै छाड्यो ।  

राजेश हमालले कुटेको देख्दा छोरीको रुवाबासी 

उनले सिनेमाको भिलेन बनेर लगभग तीन सय सिनेमामा काम गरिसकेका छन् । भिलेन बनेर काम गर्दा उनले जीवनमा मायासँगै घृणा पनि पाएका छन् । उनी सम्झिन्छन्, ‘धेरै पहिले म एक ठाउँमा जाँदा एक जना पुरुष साथीले मेरो पछि पछि लात्ती र मु्ड्की ताक्ने गर्नुभएको थियो । त्यो बेला मलाई फर्केर हेरौँ कि, के गरौँ नै बनायो । खासमा सिनेमा हेरेर भिलेनलाई कुट्नुपर्छ भन्ने मानसिकता उहाँमा रहेछ ।’ 

उनी भन्छन्, ‘भिलेनले अभिनय गरेको हो भनेर थाहै नहुँदो रैछ । अरु त अरु सिनेमा कै निर्माता निर्देशकले पनि हामी भिलेनलाई मान्छे नै गन्दैनन् । दोस्रो दर्जाको कलाकार सम्झन्छन् । धेरै कुराहरुमा हामीलाई हेप्ने र छुट्याउने गर्छन् । तर एउटा फाइदा चाहीँ के हुँदो रैछ भने भिलेन भने पछि हिरोइन पनि नजिक नआउने, अरु सामान्य युवती त झन् टाढैबाट फरार हुने । यति भएपछि भिलेन कहीले पनि विवादमा नआउने ।’

पोखरेलका २ वटी छोरी छन् । एउटी मास्टर्स गर्दैछिन्, कान्छी छोरीले भरखरै एसईई दिएकी हुन् । एक दिन उनले परिवारसँगै आफ्नो सिनेमा हेरेका थिए । सिनेमाको अन्त्यमा उनलार्ई राजेश हमालले रगताम्मे हुने गरी पिट्ने सिन थियो । उनकी कान्छी छोरी राजेश हमालले पिटेको देखेर यति जोड जोडले रोइन् कि उनी आफै पनि रुन बाध्य भए । 

छोरीले उनलाई भनेकी थिइन्, ‘राजेश हमाल भन्ने मान्छे को हो ? मलाई भेटाइदिनुस् म पिट्छु ।’ त्यति बेला भने उनलाई भिलेन बनेकोमा पछुतो महसुस भएको थियो । 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
 

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • Anonymous

    June 8, 2019, 4:19 p.m.

    केकेन लेख्यो भनेको त जाबो एउटा सिन पो रहेछ ....

  •  0 Reply

तपाईको प्रतिक्रिया