५५ लागे ‘महानायक’

 जेठ २६, २०७६ आइतबार १६:२८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महानायक राजेश हमाल जेष्ठ २६ गते अर्थात् आइतबारबाट ५४ वर्ष पूरा भएर ५५ वर्षमा प्रवेश गरेका छन् । 

विसं २०२१ जेठ महिना आजैका दिन पाल्पाको तानसेनमा जन्मिएका हमालले विसं २०४८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘युगदेखि युगसम्म’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए । उनको डेब्यू चलचित्रको निर्देशन दीपक रायमाझीले गरेका थिए । निर्देशक रायमाझी अभिनेता हमालका हमालका मामा हुन् । 

राजेश हमाललाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतातर्फ धकेल्न प्रमुख भूमिका खेल्ने व्यक्तिका रूपमा पनि लिइन्छ । झण्डै दुई सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका हमालले चलचित्र क्षेत्रमा ३ दशकभन्दा बढी समय बिताइसकेका छन् । उनले ‘राष्ट्रिय नागरिक गोल्डेन अवार्ड’, राष्ट्रिय चलचित्र पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । 

उनका ‘युगदेखि युगसम्म’, ‘हामी तीन भाइ’, ‘देउता’, ‘अल्लारे’, ‘साथी’, ‘अजम्बरी नाता’, ‘दुःख’, ‘पालेदाई’, ‘आशीर्वाद’ लगायत कैंयौ चलचित्रलाई दर्शकले रुचाएका छन् । एक समय उनी नेपाली चलचित्रका ‘निर्विकल्प’ अभिनेता थिए । 

चलचित्र चलाउनकै लागि भए पनि राजेश हमाललाई नै अभिनय गराउने प्रचलन थियो । राजेश हमाललाई ‘महानायक’ र ‘विद्वान नायक’ को रुपमा पनि चित्रित गरिएको पाइन्छ । उनले आफ्नो विद्यालय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका छन् ।  

राजेश हमाललाई भने आफूले अभिनय गरेका चलचित्रहरु मध्ये ‘देउता’ र ’बसन्ती’ सबैभन्दा मनपर्ने फिल्म हुन् ।

नायिका करिश्मा मानन्धर, निरुता सिंहलगायत केही नायिकाहरुसँग उनको नाम जोडिए पनि लामो समयसम्म उनले विवाह गरेनन् । अन्ततः ५० वर्षको उमेरमा उनले मधु भट्टराईसँग विवाह गरे । 

उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘शकुन्तला’ हो । जसमा उनले महिलाको भूमिका निर्वाह गरेका थिए । त्यसयता उनले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । पछिल्लो समय सन्तोष सेनले निर्माण निर्देशन गर्न लागेको चलचित्र ‘प्रेमगीत ३’ मा राजेश हमालको अभिनय रहने बताइँदै आए पनि आधिकारिक पुष्टि भने भैसकेको छैन । 

चलचित्र क्षेत्रको अलावा राजेश हमालले एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो 'को बन्छ करोडपति ?' को सञ्चालन पनि गरिरहेका छन् । यसका साथै विभिन्न कार्यक्रम, विज्ञापनलगायतमा उनको व्यस्तता घटेको छैन । 

उनले चलचित्र निर्देशन गर्ने चर्चा पनि बेला–बेलामा चलिरहन्छ । 

उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया