सरकारले उत्पादित वस्तुको बजार र मूल्यको जिम्मा लिए विदेश जाने थिइनँ

 जेठ २९, २०७६ बुधबार १६:५:३० | मेरो कथा मेरो भोगाई

धनेन्द्र लामा/ओखलढुंगा ।

मेरो नाम धनेन्द्र लामा हो । म ३० वर्षको भएँ । घर ओखलढुंगा हो । तर म अहिले काठमाण्डौ बौद्धमा बस्छु । वैदेशिक रोजगारीका लागि कोरियाको तयारी गरिरहेको छु ।

नेपालमा बसेर आधा उमेर ढल्की सक्यो । अब केही त गर्नुपर्यो भनेर कोरिया जान लागेको हुँ । अघिल्लो वर्ष पनि तयारी गरेको हो । परीक्षा पनि दिएँ तर नाम निस्केन। 

यसपाली पनि ६ महिना अगाडिदेखि नै कोरियन भाषाको कक्षा लिएँ । मेरो तयारी राम्रै छ । नाम निस्किने ननिस्किने त भाग्यको कुरा हो ।

कोरियन भाषा परीक्षाका लागि पनि निकै प्रतिस्पर्धा हुन्छ । नाम निकाल्न पनि लोकसेवाको जस्तै मेहनत गर्नुपर्छ । कोरिया जानु रहर नभएर बाध्यता हो । अरु देशको तुलनामा कमाइ राम्रै हुन्छ भनेर कोरिया जान लागेको हुँ ।  

नेताहरुले त यूवाहरुले विदेश जानुपर्दैन भनिरहेका छन् । गाउँ गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमको चर्चा चलिरहेको छ । तर मलाई त त्यो रोजगार कार्यक्रम पनि दिगो छ जस्तो लाग्दैन । युवाहरुलाई विदेश जानु नपर्ने भनेर प्रधानमन्त्रीले भाषण त गर्नुहुन्छ, तर उहाँले बोलेको कुरा कति सार्थक हुन्छ हेर्न बाँकी नै छ ।

घोषणा गर्नु मात्रै ठूलो कुरा होइन त्यो व्यवहारमा पनि उतार्नु पर्यो । सम्बन्धित ठाउँसम्म पनि पुग्नुपर्यो । यस्तै सम्बन्धित वर्गसम्म पनि पुग्नुपर्यो । आफ्ना कार्यकर्ताले मात्र ठाउँ ओगट्ने खालको भयो भने खासै प्रभावकारी हुँदैन जस्तो लाग्छ ।

मलाई नेपालमै काम गर्न रहर त थियो नि । आफ्नै व्यवसाय गर्ने मन थियो । तर वातावरण नै छैन । जे गरे पनि हातमा आउने भनेको निराशा नै हो । यो गरे पनि असफल त्यो गरे पनि असफल । साथीहरु सबै आफ्नो व्यवसायमा डुबेर विदेश गएका छन् ।

आफू कृषककै छोरा भएकोले पनि मलाई कृषि पेशा गर्न मन छ । तर आफ्नै व्यवसाय गर्दा पनि सुरक्षित छैन । मेहनत गरिन्छ, उब्जनी राम्रै हुन्छ तर अन्त्यमा आएर बजार नै पाइदैन । लगानी लागेको भन्दा पनि सस्तोमा उत्पादित बस्तु बेच्नुपर्ने हुन्छ । बजारमा हामी आफै‌ले बेचेको तरकारी तेब्बर भाउमा बिक्री भइरहेको हुन्छ ।

बजार नपाएर कृषकहरुले तरकारी लगाइराखेको खेतमै ट्र्याक्टर चलाउँछन् । बीच बाटोमै दूध खन्याउँछन् । सरकारले यसमा कृषकलाई उत्पादित वस्तुको बजार र मूल्यको जिम्मा लिने हो भने म विदेश जाने थिइनँ । नेपालमै बसेर कृषि गर्ने मनैदेखिको रहर हो । 

कोरिया गएर पनि केही समयपछि स्वदेश मै फर्किने हो । केही समय उता कमाइ गर्छु अनि त्यही पैसाले नेपालमै केही लगानी गर्नुपर्ला भन्ने सोचेको छु । पछिसम्म त देशको नियम कानुनमा पनि केही परिवर्तन आउँछ होला । यवाहरुले विदेश जानु नपर्ने किसिमको वातावरण सिर्जना हुन्छ होला । आशा गरौं ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया