विदेशी राजदूतहरुले अनावश्यक चासाे देखाउँदा परराष्ट्र मन्त्रालयले किन केही बाेल्दैन : शर्मा

 असार २, २०७६ सोमबार १५:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दलका सांसद जनार्दन शर्माले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै सांसद शर्माले विश्वव्यापिकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गर्नुभयो ।  

उहाँले सञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । सांसद शर्माले प्रविधिको नाममा ग्राहकलाई दुःख दिने काम बन्द गरेर विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गर्नुभयो । फ्रिक्वेन्सी बाँडफाँडबारे समय समयमा चर्चा हुने गरेको भन्दै उहाँले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिनुभयो ।

उहाँले असंलग्न परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । असंलग्न परराष्ट्र नीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै उहाँले सरकारको दृष्टिकोण स्पष्ट पारिनुपर्ने तर्क राख्नुभयो । कतै पनि नढल्किइकन दृढतापूर्वक राष्ट्रिय हितमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सांसद शर्माले विभिन्न देशका लागि नियुक्त गरिएका राजदूतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपालको लागि विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उहाँले त्यसतर्फ पनि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले भन्नुभयो, नेपालमा रहेको विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नुभयो । 'यसको बारेमा परराष्ट्रले के गर्यो खै ? हामीले केही जानकारी पाएनौँ । परराष्ट्रलाई केही थाहा छ कि छैन ? उहाँहरु त्यसरी बोल्ने हो कि होइन ? कसलाई हामी थुन्छौँ, कसलाई हामी के गर्छौँ भनेर भन्न पाइन्छ कि पाइँदैन ? यसको बारेमा के गर्‍याे परराष्ट्रले, त्यो कुरा जनताले थाहा पाउनुपर्दैन ?' उहाँले भन्न्भयाे ।

नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उहाँले विदेशी कुटनीतिज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न माग गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया