गृह मन्त्रालय ‘अजिंगर’ जस्तो,  नजिक आए खाइदिने टाढा गएर शिकार नगर्ने : नेकपा सांसद महत

 असार २, २०७६ सोमबार १७:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेकपाकै सांसदले गृह मन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद गजेन्द्रबहादुर महतले अधिकार धेरै भए पनि गृह मन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताउनुभएको हो । उहाँले गृहमन्त्रालयलाई 'अजिंगर' काे संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, 'म त गृह मन्त्रालय कस्तो देख्छु भने ‘अजिंगर’ जस्तो ।  नजिक आए खाइदिने टाढा गएर शिकार नगर्ने । अहिले हाम्रो गृह मन्त्रालय यस्तो छ ।'

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रोसँग काम नगर्दा सर्वसाधारण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समूहसँग न्याय खोज्न जाने गरेको खुलासासमेत उहाँले गर्नुभयो ।  

उहाँले भन्नुभयो, '७७ वटै जिल्लाका सीडीओ छन् । प्रहरी प्रमुखहरु छन् । उनीहरुलाई निर्देशन दिने हो भने धेरै काम हुन्छ । भ्रष्टाचार आधा कम हुन्छ । जनताको आधा समस्या हल हुन्छ । मान्छेहरुले विप्लवकोमा ‘ओइ मेरो मुद्दा हेरि दे’ भन्न जानु पर्दैन ।'

भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमी नआएको भन्दै उहाँले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, 'गृह मन्त्रालयले चाह्यो भने दुई तिहाईको सरकारलाई चाँडो भन्दा चाँडो रिजल्ट दिन सक्छ । यो त न जनतासँग जोडिएको छ न जनप्रतिनिधिसँग जोडिएको छ । कसरी चलिरहेको छ ?

उहाँले क्षमतावान व्यक्तिहरुलाई जिल्ला पठाउन पनि सुझाउनुभयो । उहाँले भन्नुभयो, 'सीडीओ अलि छानेर पठाउनुपर्यो नि । नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन । अलि क्यापेबल पठाउनुहोस् । त्यहा गएर खाली चिया खाएर गफ गर्ने, गाई चराउन जाने सीडीओ हामीलाई चाहिएको छैन । हामीसँगै टक्कर दिने सीडीओ चाहियो के ।'

सांसद महतले नेपाल टेलिकमका कर्मचारीले एनसेलसँगको मिलेमतोमा आफ्नो सेवाको गुणस्तरमा कमी ल्याउने काम गरेको उल्लेख गर्दै त्यसतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया